शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

महानिरीक्षक सिंहद्वारा नेपाल प्रहरी शिक्षालय भरतपुरको निरीक्षण

शनिबार, २३ पुस २०७९, १६ : ३९
शनिबार, २३ पुस २०७९

चितवन । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले नेपाल प्रहरी शिक्षालय भरतपुर चितवनको शुक्रबार अनुगमन तथा निरीक्षण भ्रमण गरेका छन् । सो क्रममा उनले प्रशिक्षार्थीहरूको ब्यारेक, कक्षाकोठा, जिमहल, योगाहल, एमआई रूम, लाइब्रेरी लगायत शिक्षालय परिसरमा रहेका अन्य स्थानहरूको निरीक्षण गरेका छन् ।

निरीक्षण पश्चात आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक सिंहले शिक्षालयमा कार्यरत प्रहरी कर्मचारीहरू र विभिन्न समूहमा प्रशिक्षणरत प्रशिक्षार्थीहरूलाई निर्देशन समेत दिए । सम्बोधनका क्रममा प्रहरी महानिरीक्षक सिंहले सबै प्रहरी कर्मचारीको मातृसंस्था तालिम केन्द्र भएकोले अनुशासन, प्रशिक्षण शैली, स्रोतको समूचित उपयोग गरी नमुना हुन जरुरी रहेको चर्चा गर्दै भोलिको प्रहरी कस्तो बन्ने भन्ने आजको प्रशिक्षण वातावरणले तय गर्ने भएकोले शिक्षालयको भौतिक पूर्वाधार, प्रशिक्षार्थीप्रतिको व्यवहार, शिक्षालयमा उपलब्ध सेवाहरूको पारदर्शिता, प्रशिक्षार्थीहरूको स्वास्थ्यको हेरचाह, प्रशिक्षार्थीहरूको विविधताको सम्मान गर्दै प्रशिक्षण गतिविधि सञ्चालन गर्न निर्देशन दिए । प्रशिक्षण संस्थाहरू खोज अध्ययन गर्ने संस्था भएकोले शिक्षालयका निर्देशक लगायत समग्र टिमलाई तालिमलाई थप प्रभावकारी र समय-सापेक्ष कसरी बनाउन सकिन्छ भन्ने कुरामा जोड दिन उनले आग्रह गरे ।

IMG_2751

प्रहरी महानिरीक्षक सिंहले तालिम सञ्चालन पद्धतिलाई व्यवस्थित र संस्थागत बनाउन आवश्यक भौतिक पूर्वाधार, प्रशिक्षण सामग्री, प्रशिक्षकको गुणस्तर, पाठ्यक्रमको विकास लगायतका प्रहरीको तालिमसँग सम्बन्धित महत्त्वपूर्ण विषयलाई सम्बोधन गरी लागू भएको ‘नेपाल प्रहरीको तालिम सञ्चालन कार्यादेश, २०७९’ मा आधारित रही प्रशिक्षण गतिविधिहरूलाई व्यवस्थित र व्यावसायिक तवरले सञ्चालन गर्न निर्देशन दिए । नेपाल प्रहरीमा विगत केही समयदेखि रोकिएको एफपियु मिसनलाई पुनः निरन्तरता दिन संगठनले आवश्यक तयारी गरिरहेको उनले जानकारी गराए ।

सो अवसरमा नेपाल प्रहरी शिक्षालयका निर्देशक प्रहरी नायव महानिरीक्षक सन्दीप भण्डारीले धन्यवाद ज्ञापन गर्दै सीमित स्रोत साधनका बीच पनि उत्कृष्ट प्रशिक्षण गतिविधि सञ्चालन गरी दक्ष जनशक्ति उत्पादन गर्दै आइरहेको, छोटो समयमा ४ वटा आधारभूत तालिम उत्कृष्ट ढंगले दीक्षान्त गराएको, भौतिक पूर्वाधारको विकास, आन्तरिक सुद्धिकरण र सुदृढिकरणमा जोड दिई कार्य सञ्चालन गरिरहेको उल्लेख गरे । साथै उनले शिक्षालयले अवलम्बन गरेका असल अभ्यासहरूको बारेमा अवगत गराउनुभएको थियो भने शिक्षालयका उप-निर्देशक प्रहरी उपरीक्षक प्रकाश मल्लले शिक्षालयको विविध पक्ष समेटिएको प्रस्तुतीकरण प्रस्तुत गरेका थिए ।

कार्यक्रममा बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्य, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर चितवनका प्रमुख, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुखलगायत अन्य सिनियर प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप