शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

वाम दल एकजुट भएर सरकारको नेतृत्व गर्न एमालेले भूमिका खेल्यो : पोखरेल

आइतबार, २४ पुस २०७९, १० : १६
आइतबार, २४ पुस २०७९

बंगलादेश । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेपालको कम्युनिस्ट आन्दोलनलाई आफूहरूले विशिष्ट ढंगले अगाडि बढाएको बताएका छन् । बंगलादेशको राजधानी ढाकामा जारी बंगलादेश क्रान्तिकारी श्रमिक पार्टीको १० औँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले जनताको बहुदलीय जनवादको नेतृत्वमा एमालेले शान्तिपूर्ण रूपमा नेपाली कम्युनिस्ट आन्दोलनको नेतृत्व गर्दै आएको बताएका हुन् । 

एमाले नेपाली जनताको आकांक्षा र सपना पूरा गर्न सक्ने एक मात्र राजनीतिक शक्तिका रूपमा उभिएको पोखरेलले जिकिर गरे । ‘चुनावमा हामीले संसद्मा बहुमत प्राप्त गरेर सरकार बनाउने लक्ष्य राखेका थियौँ । तर, हाम्रो पार्टी र पार्टी नेतृत्वविरुद्ध प्रतिक्रियावादी शक्तिहरूका निरन्तर आक्रमण, अफवाह र सरकारद्वारा गरिएको चुनावी धाँधलीका कारण हामीले केही सिट गुमायौँ । एउटै दलको सरकार बनाउन संसद्मा एउटै दलको बहुमत छैन । त्यसैले जनताको जनादेशलाई सम्मान गर्दै हाम्रो पार्टीले वामपन्थी दल र देशका लागि सकारात्मक भूमिका खेल्न चाहनेलाई एकै ठाउँमा ल्याएर गठबन्धन सरकार बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ,’ वरिष्ठ उपाध्यक्ष पोखरेलले भने ।  

एमालेले वाम दलहरू एकजुट भएर सरकारको नेतृत्व गर्ने वर्तमान अवस्था सिर्जना गर्न जिम्मेवार भूमिका निर्वाह गरेको पनि दाबी गरे । ‘हामी राजनीतिक सहमति र व्यवस्थामा मात्र केन्द्रित छैनौँ, उच्च नैतिक र सांस्कृतिक मूल्यमान्यतामा आधारित नेपाली समाजको स्थापनामा केन्द्रित छौँ,’ उनले भने । 

एमालेलाई नेपाली जनताको समर्थनको बढ्दो लहरले नेपाली जनतामा एमालेको बढ्दो लोकप्रियतालाई जनाउने बताउँदै वरिष्ठ उपाध्यक्ष पोखरेलले अनुभव सुनाउँदै भने, ‘यी उपलब्धिहरू हामीलाई उपहारका रूपमा आएका होइनन्, हाम्रा सङ्घर्ष, धैर्यता र हाम्रा मार्गदर्शक सिद्धान्त र कार्यक्रमहरू–जनताको बहुदलीय जनवाद र हाम्रो राष्ट्रिय महत्त्वाकाङ्क्षा–समृद्धिको उपलब्धिका रूपमा आएका हुन् ।’ 

वरिष्ठ उपाध्यक्ष पोखरेलले नेकपा एमालेलाई महाधिवेशनमा आमन्त्रण गरेकोमा पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट आभार व्यक्त गरे । सन् १९९३ मा भएको बंगलादेश भ्रमणलाई स्मरण गर्दै उनले बंगलादेशले विगतका वर्षहरूमा गरेका उल्लेखनीय विकास उपलब्धिहरू देखेर खुसी भएको बताए । नेपाल र बंगलादेशबीच ५० वर्षको समस्यामुक्त र उत्कृष्ट कूटनीतिक सम्बन्ध रहेको उनले बताए । दुवै देश कठिन समयमा एकसाथ उभिएको र विभिन्न अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मञ्चहरूमा एकअर्कालाई समर्थन गरेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप