शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय
प्रदेश

‘भाग्यमानी’ जगन्नाथको मुख्यमन्त्री बन्ने सपनामा ब्रेक

सोमबार, २५ पुस २०७९, १२ : ४९
सोमबार, २५ पुस २०७९

मकवानपुर । बागमती प्रदेशको मुख्यमन्त्रीमा सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रबाट शालिकराम जम्कट्टेलले प्रदेश प्रमुख समक्ष आज सोमबार दाबी पेस गर्दैछन् । जम्कट्टेलले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेशसभामा कुनै पनि दलको एकल बहुमत नरहेकाले दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्रीमा दाबी गर्नेछन् ।

आमनिर्वाचन सकिएको ५० औँ दिनमा आज सोमबार बागमती प्रदेशले नयाँ मुख्यमन्त्रीका रूपमा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलको नेता जम्कट्टेलले प्रदेश प्रमुख यादव चन्द्र शर्मासमक्ष गठबन्धन दलको समर्थनमा दाबी पेस गर्ने तयारी गरेका हुन् ।

प्रदेश प्रमुख शर्माले सरकार गठनका लागि आह्वान गरेको समय सीमा दिउँसो ४ बजे सकिँदैछ । निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएको मितिले ३५ दिनभित्र सरकार गठन गरिसक्नुपर्ने संवैधानिक प्रावधानअनुसार गत बिहीबार प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्रीमा दाबी पेस गर्न ५ दिनको समयसीमा उपलब्ध गराएका थिए । उक्त समय अगावै जम्कट्टेलले गठबन्धन दलका नेताहरूको उपस्थितिमा मुख्यमन्त्री पदका लागि दाबी पेस गर्ने नेकपा एमाले मकवानपुरका अध्यक्ष एवम् प्रदेशसभा सदस्य एकालाल श्रेष्ठले बताए ।

निर्वाचनको समयमा प्रदेशसभा सदस्यका लागि उम्मेदवार बनेका पार्टीका मुख्य एवम् प्रभावशाली नेताहरू पराजित भएसँगै दलको नेतामा उनी सर्वसम्मत भएका थिए ।

सत्ता गठबन्धनको आइतबार साँझ बसेको बैठकले बागमतीको मुख्यमन्त्रीमा माओवादी र एमालेबीच आलोपालो गर्ने र पहिलो चरणमा माओवादीले नेतृत्व गर्ने सहमति भएसँगै प्रदेशको मुख्यमन्त्रीमा जम्कट्टेलको नाम फाइनल भएको हो । सत्ता गठबन्धनमा भागबण्डा हुँदा प्रदेशको सभामुख राप्रपा र उपसभामुख एमालेले लिने सहमति भएको छ ।

प्रदेश सरकारको नेतृत्वका सत्ता गठबन्धनका तीन वटै दल एमाले, माओवादी केन्द्र र राप्रपाका संसदीय दलको नेताहरूले दाबी रहेको थियो । भागबण्डा टुङ्गिएसँगै मुख्यमन्त्रीको रेसबाट एमाले र राप्रपा बाहिरिएको छ । एमालेबाट जगन्नाथ थपलियाको मुख्यमन्त्री बन्ने सपनामा ब्रेक लागेको छ ।

निर्वाचनको समयमा भाग्यमानी ठानिएका थपलिया एमाले बागमती प्रदेश संसदीय दलको नेतामा पनि सर्वसम्मत चयन भएका थिए । निर्वाचनको समयमा प्रदेशसभा सदस्यका लागि उम्मेदवार बनेका पार्टीका मुख्य एवम् प्रभावशाली नेताहरू पराजित भएसँगै दलको नेतामा उनी सर्वसम्मत भएका थिए ।

यस अघि प्रदेशको सभामुख भइसकेका सानुकुमार श्रेष्ठ काठमाडौँ निर्वाचन क्षेत्र नम्बर २ (ख)बाट पराजित भए । उनी एमालेबाट प्रदेशको मुख्यमन्त्रीका प्रमुख दाबेदार थिए । त्यस्तै एमालेबाट प्रदेशको मुख्यमन्त्रीका अर्का दाबेदार रामेश्वर फुयाँल काठमाडौँ क्षेत्र नम्बर ३ (ख)बाट पराजित भए भने काठमाडौँ ५ (ख)बाट दीपक निरौला पराजित भए । उनीहरू दुवै एमालेबाट प्रदेशको मुख्यमन्त्रीका दाबेदार थिए ।

यता चितवन क्षत्रे नम्बर २ (ख)बाट एमालेका देवी ज्ञवाली पनि पराजित भए । एमाले अध्यक्ष केपी शर्मा ओलीका विश्वास पात्रका रूपमा रहेका ज्ञवाली पनि प्रदेशको मुख्यमन्त्रीको दाबेदारको रूपमा रहेका थिए । पार्टीका सिनियर र प्रभावशाली नेताहरू चुनावमा पराजित भएसँगै थपलिया भाग्यमानी साबित भएका थिए ।

विभाजन र निर्वाचनको गठबन्धनका कारण यसअघि ४३ सांसद सहित बागमती प्रदेशसभामा प्रतिनिधित्व गरेको गत निर्वाचनमा एमाले २७ सिटमा खुम्चिए पनि सत्ता नेतृत्वको गुमाउने परिस्थितिमा पुगेको थियो ।

अध्यक्ष ओलीको निकट रहेका थपलिया एमालेको केन्द्रीय सदस्यसमेत हुन् । चितवन क्षेत्र नम्बर १ (क)बाट निर्वाचित भएका उनी पार्टीको सिनियर नेताको रूपमा प्रदेशको संसदीय दलको नेतामा सर्वसम्मत चुनिएका थिए । त्यसो त उनी बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलका विश्वास पात्र हुने भने राष्ट्रपति विद्यादेवी भण्डारीको पक्षमा रहँदै आएका छन् । उनी तत्कालीन समयमा पौडेल नेतृत्वको सरकारका पालमा प्रमुख राजनीतिक सल्लाहकार रहेका थिए । उनले करिब ४ वर्ष तत्कालीन मुख्यमन्त्री पौडेलको प्रमुख राजनीति सल्लाहकारको रूपमा जिम्मेवारी सम्हालेका थिए ।

विभाजन र निर्वाचनको गठबन्धनका कारण यसअघि ४३ सांसद सहित बागमती प्रदेशसभामा प्रतिनिधित्व गरेको गत निर्वाचनमा एमाले २७ सिटमा खुम्चिए पनि सत्ता नेतृत्वको गुमाउने परिस्थितिमा पुगेको थियो । कांग्रेस माओवादी केन्द्र र एकीकृत समाजवादीको गठबन्धनबाट सरकार बन्ने परिस्थिति हुँदा एमाले प्रमुख प्रतिपक्षको बेञ्चमा बस्नु पर्ने अवस्था देखिएको थियो । तर, केही समय अघि केन्द्रमा सत्ता समीकरण फेरबदल भएर कांग्रेस प्रमुख प्रतिपक्ष बन्दा एमाले एकाएक सत्ताको केन्द्रमा आइपुगेको थियो । जस अनुसार प्रदेशको मुख्यमन्त्रीमा थपलियाको सम्भावना बलियो बन्दै गएको थियो ।

केन्द्रबाट सरकारको नेतृत्व टुङ्गिएसँगै एमाले संसदीय दलका नेता थपलियाको मुख्यमन्त्री बन्ने सपनामा ब्रेक लागेको हो । शीर्ष तहमा भएको भागबन्डाअनुसारै प्रदेशको मुख्यमन्त्रीमा दाबी गरिने उनी बताउँछन् । केन्द्रको सहमति अनुसार पहिलो चरणमा माओवादीले सरकारको नेतृत्व लिने र दोस्रो चरणमा एमालेले लिने भएकाले सोही अनुसार अघि बढ्न गठबन्धन दलहरु तयार रहेको उनले बताए ।

११० सदस्यीय प्रदेशसभामा सरकार निर्माण गर्न ५६ सांसद चाहिन्छ । केन्द्रको समीकरण अनुसार बागमतीमा एमाले २७, माओवादी २१ र राप्रपा १३ गरी ६१ सांसद छन् भने कांग्रेसका ३७, एकीकृत समाजवादीका ७, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ जना सांसद रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप