शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

संसदीय अभ्यासमा नौलो रहेका बाबुराम गौतमले प्रदेश १ सभामुखको भूमिका पाउँदै

को हुन् गौतम ?
मङ्गलबार, २६ पुस २०७९, १८ : ३७
मङ्गलबार, २६ पुस २०७९

विराटनगर । कुनै पनि राजकीय पद वा संसदीय राजनीतिको अभ्यासमा हालसम्म अनुभव नगरेका माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा प्रदेशसभा सदस्य बाबुराम गौतम प्रदेश १ प्रदेशसभाको सभामुख हुने निश्चित भएको छ ।

प्रदेशसभाको सभामुख पदका लागि उम्मेदवारी दर्ताको निर्धारित समयमा गौतमको मात्रै उम्मेदवारी परेको छ । उनको मात्रै उम्मेदवारी परेका कारण उनी निर्विरोध निर्वाचित हुनेछन् । सभामुखको निर्वाचन पुस २८ गते हुनेछ ।

एमाले संसदीय दलका प्रमुख सचेतक रेवती रमण भण्डारी प्रस्तावक र माओवादी केन्द्रका नारायण बुर्जा मगर, राप्रपाका गोपालबहादुर विश्वकर्मा र नेकपा एकीकृत समाजवादीका कमल जबेगुलाई समर्थक राखेर गौतमले उम्मेदवारी दिएका हुन् । ५० वर्षीय गौतम ओखलढुङ्गाको प्रदेश निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन् ।

प्रदेश १ प्रदेशसभाको सभामुख चयनको कार्यतालिका आजै सार्वजनिक भएको थियो । तालिका अनुसार आज ३ बजेदेखि ५ बजेसम्मका लागि उम्मेदवारी मनोनयनको समय दिइएको थियो । उक्त अवधिमा गौतम बाहेक कसैको उम्मेदवारी नपरेको संसद सचिवालयका प्रमुख सचिव गोपाल पराजुलीले जानकारी दिए ।

संसदमा दोस्रो ठूलो दल नेपाली कांग्रेस प्रतिपक्षमा रहे पनि उसले सभामुखमा उम्मेदवारी दिएन । यस्तै नेकपा एकीकृत समाजवादीले उनै गौतमलाई समर्थन गरेको छ ।

को हुन् गौतम ?

ओखलढुंगाको लिखु गाउँपालिका–९ स्थायी ठेगाना भएका गौतम २०४६ सालको पञ्चायतविरोधी आन्दोलनबाट राजनीतिमा प्रवेश गरेका हुन् ।

बहुदलपछि सर्लाहीको महादेव जनता माविमा अखिलको इकाई अध्यक्ष भएका उनले त्यहीँबाट एसएलसी गरेका हुन् । त्यसपछि काठमाडौंको आरआर क्याम्पस अध्ययनको क्रममा उनले अखिलबाटै स्ववियुको राजनीति गरेका थिए ।

२०५२ साल फागुन १ गतेदेखि नै माओवादी जनयुद्धमा लागेका उनी त्यसबेला काठमाडौं–ओखलढुङ्गा सम्पर्क समितिको सचिव थिए । ०५४ सालदेखि ०५६ सालसम्म जेल परेका उनी ०५७ सालदेखि ०६० सालसम्म माओवादी कमाण्डरको रुपमा ओखलढुंगामा काम गरे । ०६० सालमा अखिल नेपाल ट्रेड युनियन महासंघको महासचिव भएका उनी शान्ति प्रक्रियापछि पनि मजदुर संगठनको केन्द्रीय उपाध्यक्ष भएका थिए । उनले मजदुर संगठनमा रहँदा झापा, मोरङ र सुनसरीमा लामो समय काम गरेका छन् ।

२०७० सालदेखि भने उनी ओखलढुङ्गा जिल्लामा पार्टी अध्यक्ष भएर भूगोलमा काम गर्न थाले । ०७२ सालदेखि अहिलेसम्म उनी ओखलढुङ्गाको इन्चार्जको भूमिकामा छन् । माओवादी केन्द्रको केन्द्रीय सदस्यसमेत रहेका उनी हालसम्म संसदीय राजनीतिमा प्रवेश गरेका थिएनन् ।

०६४ साल र ०७० सालको संविधानसभा निर्वाचनमा समानुपातिकतर्फ उम्मेदवार बनेका उनी सभासद् बन्न भने पाएनन् । ०७४ सालको निर्वाचनमा वाम गठबन्धन हुँदा पनि उनी उम्मेदवार बन्न पाएनन् । यो पटकको निर्वाचनमा भने ओखलढुङ्गाको प्रदेश निर्वाचन क्षेत्र २ बाट कांग्रेसको सहयोगमा निर्वाचित भएका गौतम पहिलो चरणमै प्रदेशसभाका नेतृत्व गर्ने ठाउँमा पुग्ने निश्चित भएको छ ।

राजनीतिशास्त्रमा आइएसम्मको अध्ययन गरेका उनी जनयुद्धको कारण शैक्षिक योग्यता थप्न नपाएको बताउँछन् । आफू निर्विरोध निर्वाचित हुने अवस्थामा पुग्दा नयाँ जिम्मेवारी थपिएको भन्दै उनी यो भूमिकालाई आफूले सफलतापूर्वक सम्पन्न गर्ने बताउँछन् । यद्यपि उनीसँग कानुन निर्माण र प्रक्रियाबारे पर्याप्त ज्ञान अभाव देखिन्छ ।

‘निर्विरोध सभामुख हुने परिस्थिति निर्माण हुँदा आफूलाई महत्त्वपूर्ण जिम्मेवारी दिएको अनुभूति गरेको छु । प्रदेश १ को नामकरण गर्न छुटेको छ । समग्र प्रदेश १ को विकासको पनि पहलकदमी लिनुपर्छ । त्यसका लागि मेरो भूमिकाबाट म न्याय गर्ने कोसिस गर्नेछु,’ उनी भन्छन्, ‘समग्रमा प्रदेशभरिकै विकास र समृद्धिमा मैले आफ्नो तर्फबाट प्रयास गर्नेछु । साथसाथै यो एउटा समन्वयकारी भूमिका हो । पक्ष–प्रतिपक्ष नभनिकन सबै प्रदेशसभाका सदस्यहरुलाई काम दिने सन्दर्भमा र भोलिका दिनमा प्रदेशसभालाई पूर्ण सफल बनाउन म सबै प्रयास गर्नेछु ।’

तर, उनका लागि प्रदेश १ को अत्यन्तै तरल अवस्थामा रहेको संसदीय राजनीतिलाई सहज ढंगले डो¥याउने र सरकारसँग समन्वय गर्न उनलाई चुनौती देखिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप