१० बजे १० समाचार : रवीन्द्र मिश्रलाई राहतदेखि छवि र रविको मुद्दा हेर्दाहेर्दैमासम्म

आज मिति २०८२ साल जेठ महिनाको २ गते शुक्रबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’ लिएर उपस्थित भएका छौँ–
१. रवीन्द्र मिश्रलाई राहत
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उपाध्यक्ष रवीन्द्र मिश्रलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । शुक्रबार सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार चुँडाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले ५ घण्टा लामो बहसपछि मिश्रलाई तत्काल थुनामुक्त गर्न आदेश दिएको हो ।
अदालतको आदेशसँगै मिश्र रिहा भएका छन् ।
२. तीनकुने घटना
गत चैत १५ गते राजधानीको तीनकुनेमा पूर्वराजा ज्ञानेन्द्र शाहका समर्थकहरूले गरेको प्रदर्शनमा भएको सुरक्षा ‘कमजोरी’ बारे उपत्यका प्रहरी कार्यालयले आन्तरिक छानबिन गरिरहेको छ ।
एसएसपी शेखर खनाल नेतृत्वको समितिले घटनाबारे छानबिन गरिरहेको हो । छानबिन गर्ने समितिमा एसपीद्वय प्रवीण धिताल र अपिल बोहरा सहित ७ जना सदस्यहरू छन् ।
३. छवि र रविको मुद्दा
उच्च अदालत पोखराले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशीको मुद्दा ‘हेर्दाहेर्दै’ मा राखेको छ । शुक्रबार मुख्य न्यायाधीश रत्नबहादुर बागचन्द र न्यायाधीश मिलन राईको इजलासले समय अभावपछि मुद्दा हेर्दाहेर्दैमा राखेको हो । मुद्दाको सुनुवाइका लागि आइतबार पेसी तोकिएको छ । साथै अदालतले यसबारेको सूचना लामिछाने र जोशीलाई दिन आदेश दिएको छ ।
४. निजामती विधेयक
‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित भएको छ ।
विवादित दुई विषय कुलिङ पिरियड र कर्मचारीको अवकाश उमेर ६० वर्ष बनाउँदा अपनाउने कार्यान्वयन विधिमा सहमति जुटेपछि शुक्रबार बसेको प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिबाट विधेयक पारित भएको समिति सदस्य सरिता प्रसाईले जानकारी दिइन् ।
५. प्राधिकरण
बिहीबार बेलुका देखिएको विद्युत् आपूर्ति समस्यालाई नेपाल विद्युत् प्राधिकरणले गम्भीरतापूर्वक लिएको जनाएको छ। प्राधिकरणले हावाहुरीका कारण सिर्जना भएको अस्थायी समस्या भएको प्रस्ट पार्दै नेपालमा पुनः लोडसेडिङ सुरु हुने सम्भावना पूर्ण रूपमा अस्वीकार गरेको छ।
६. माओवादीमा सहमति
नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम संसदीय दलको विवाद १५ महिनापछि सहमतिमै हल भएको छ । डडेलधुराको सदरमुकाममा बिहीबार राति बसेको संसदीय दलको बैठकले खगराज भट्टलाई सर्वसम्मत रूपमा दलको नेता बनाएको हो ।
७. सगरमाथा संवाद
प्रधानमन्त्री केपी शर्मा ओलीले हिमालहरू जोगाउनु पृथ्वी, महासागर र स्वयं मानवता जोगाउनु हो भन्ने यथार्थलाई आत्मसात् गरेर विश्वव्यापी संवादका रूपमा सगरमाथा संवादको आयोजना गरिएको बताएका छन् ।
नेपाल सरकारद्वारा पहिलो पटक आयोजित सगरमाथा संवादको उद्घाटन सत्रलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यही गहिरो अन्तरनिर्भर यथार्थभित्र—इमानदार संवाद र आपसी ज्ञान साटासाट गर्न तथा सामूहिक कदम चाल्न सर्वोच्च शिखर सगरमाथाको नामबाट संवादको जन्म भएको स्पष्ट पारे ।
८. राष्ट्र बैंकको सिको
नेपाल बीमा प्राधिकरणले आफ्नो कार्यसञ्चालनलाई नेपाल राष्ट्र बैंकको ढाँचामा लैजाने भएको छ । प्राधिकरणको ५७ औँ वार्षिकोत्सवमा अध्यक्ष शरद ओझाले नियमन तथा अनुसन्धानसम्बन्धी कार्यलाई नयाँ आर्थिक वर्षदेखि लागु गर्नेगरी नयाँ योजना सार्वजनिक गरेका हुन् ।
९. अपराध
चितवनको भरतपुर महानगरपालिका–२५ स्थित किसान चोकमा लीला गिरीले भतिज र आफ्नी छोरीलाई खुर्पा प्रहार गरेर हत्या गरेका छन् । स्कुटरमा अङ्कलसँग स्कुल जान भनेर निस्केका सजन गिरी र छोरी प्रभालाई ४२ वर्षीय लीलाले हत्या गरेका हुन् ।
१०. फ्राइडे रिलिज
शुक्रबारदेखि दर्शकले ३ नयाँ फिल्म हेर्न पाएका छन् । जसमा हलिउड फिल्म ‘फाइनल डेस्टिनेसनः ब्लडलाइन’सहित नेपाली फिल्म के घर के डेरा ः घर नं २’ र ‘हेल्लो काँशीराम’ रहेका छन् ।
तीन फिल्म नै देशभर एकसाथ प्रदर्शनमा आएका हुन् । यद्यपि, देशभरका फिल्म हल यी फिल्मका कब्जामा मात्रै छैनन् । किनभने गत साता रिलिज भएको फिल्म ‘उनको स्वीटर’ले पनि राम्रो सो पाइराखेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरले माग्यो सीप मेलाका लागि आवेदन
-
नेपाल आइन् भारतीय अभिनेत्री नोरा फतेही (तस्बिरहरू)
-
मदन–आश्रित दिवस : बल्खुमा रहेको प्रतिमामा नेताहरूद्वारा माल्यार्पण (तस्बिरहरू)
-
शोधपत्र बुझाउन बाँकी विद्यार्थीलाई त्रिभुवन विश्वविद्यालयले दियो अन्तिम मौका
-
कक्षा १२ को परीक्षा सकेर महत्त्वपूर्ण शृङ्खला खेल्न शनिबार स्कटल्यान्ड प्रस्थान गर्दैछन् कप्तान रोहित
-
तस्बिरमा हेर्नुहोस् नागढुंगाको विकल्प धार्के–सीतापाइला सडक