शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

माघ ५ अघि प्रचण्डसँग ‘डिल’ गर्ने तयारीमा देउवा

शनिबार, ३० पुस २०७९, २२ : १५
शनिबार, ३० पुस २०७९

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएको प्रतिपक्षी नेपाली कांग्रेसले रणनीतिक छलफल थालेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले सभामुखको निर्वाचनलाई लक्षित गरेर आन्तरिक गृहकार्य तीव्र पारेका छन् ।

४ माघमा सभामुख र ७ माघमा हुने उपसभामुखको निर्वाचनको रणनीति बनाउन बिहीबार पदाधिकारी बैठक राखेका थिए । उक्त बैठकमा सभामुख र उपसभामुखको निर्वाचनको लागि प्रधानमन्त्री प्रचण्डसँग छलफल गर्ने देउवाको प्रस्ताव थियो । यस्तो प्रस्तावमाथि पदाधिकारी बैठकमा कसैको पनि विमति थिएन ।

प्रवक्ता प्रकाशशरण महतका अनुसार सभामुख र उपसभामुख चुनावबारे सत्ताभित्र र बाहिरका दलसँग छलफल गर्ने निर्णय भएको छ । उनले भने, ‘एक्लै हाम्रो मतले जित्ने अवस्था छैन । त्यसैले संसद्मा भएका सत्ता पक्ष र अरू दलहरूसँग पुगेर निर्णय गर्छौँ ।’

प्रतिनिधिसभामा  ८८ (एक सांसद निलम्बित) जना सांसद रहेको कांग्रेसलाई सभामुखको चुनाव जित्न करिब ५० सांसदको साथ आवश्यक देखिन्छ । सभामुख कांग्रेसले पाउन वर्तमान सत्ता गठबन्धनका दलले सहयोग नगरी सम्भव छैन ।

एमालेको ७९, माओवादी केन्द्र ३२, राष्ट्रिय स्वतन्त्र पार्टी २०, राप्रपा १४, जसपा १२ जनमत पार्टी ६ र नागरिक उन्मुक्ति ४ को सांसद गरी १६७ मत सत्ता पक्षसँग देखिन्छ । त्यसमा स्वतन्त्र जितेका प्रभु साह र अमरेशकुमार सिंह सत्तापक्षमै छन् । कांग्रेसले सभामुख जित्न सत्ता गठबन्धनबाट माओवादीसहित कुनै एक दलका साथ पाउनु अनिवार्य छ । ८८ जना सांसदसहित संसद्को सबैभन्दा ठुलो दल कांग्रेसको साथमा सत्ता बाहिरका एकीकृत समाजवादीका १०, लोसपाका ४ राष्ट्रिय जनमोर्चाका १ सांसद मात्र छन् ।

प्रधानमन्त्री प्रचण्डको सिग्नल अनुसार मात्र कांग्रेसले सभामुख वा उपसभामुखको उम्मेदवार खडा गर्ने तयारी छ ।

सभामुख वा राष्ट्रपतिको सुनिश्चितताका लागि माघ ५ अघि नै प्रधानमन्त्री प्रचण्डसँग संवाद गर्ने कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले रातोपाटीलाई बताए । उनले भने, ‘सभामुखको चुनावमा कसरी अगाडि बढ्ने भनेर प्रचण्डसँग शेरबहादुरजीले डिल गर्नुहुन्छ । पदाधिकारी बैठकले उहाँलाई जिम्मेवारी दिएको छ ।’

सभापति देउवाका अलवा नेता पौडेल र उपसभापति पूर्णबहादुर खड्काले पनि माओवादीसँग छलफल गर्ने बुझिएको छ । कांग्रेसका पदाधिकारीले भने, ‘प्रचण्डलाई विश्वासको मत दिँदा सम्भावनाको ढोका खुल्छ भन्ने नेताहरूले प्रचण्डसँग गएर गफ गर्नुहुन्छ । शेरबहादुर, रामचन्द्र र पूर्णबहादुरले प्रचण्डसँग गफ गर्ने छन् ।’

प्रधानमन्त्री प्रचण्डको सिग्नल अनुसार मात्र कांग्रेसले सभामुख वा उपसभामुखको उम्मेदवार खडा गर्ने तयारी छ । ‘२५ गते साँझ प्रचण्डले धुम्बाराहीमा सभामुख वा राष्ट्रपतिको चुनावमा सहयोग गर्ने बचन दिनुभएको कुरा सभापतिले भन्नुभएको छ । त्यही अनुसार कुरा अगाडि बढे सभामुखमा कांग्रेसको उम्मेदवारी रहँदैन होला ,’ उनले भने, ‘प्रचण्डको सन्देशपछि कांग्रेसले रणनीति बनाउँछ ।’ प्रधानमन्त्री प्रचण्ड र देउवाबीच छलफलको तयारी भइरहेको छ । पौडेलले भने, ‘एक–दुई तीनमा शेरबहादुरजीले प्रचण्डसँग छलफल गर्नुहुन्छ । छलफलको तारतम्य मिलाउने काम भइरहेको छ ।’

कांग्रेस नेता शेखर कोइरालाले राष्ट्रपति निर्वाचनलाई हेरेरै प्रचण्डलाई विश्वासको मत दिएको अभिव्यक्ति दिएका छन् । ‘तत्काल सत्ताको लोभभन्दा पनि अब हुने राष्ट्रपति निर्वाचनलाई हेरेरै प्रचण्डलाई विश्वासको मत दिने निर्णय भएको होला । राष्ट्रपति निर्वाचनप्रति अहिले सबै दलको चासो छ,’ कोइरालाको भनाइ छ ।

प्रधानमन्त्री प्रचण्डबाट सभामुखका ग्रिनसिग्नल आए कांग्रेसबाट पूर्व उपसभापति विमलेन्द्र निधि र ज्ञानेन्द्रबहादुर कार्की मध्ये एक जनालाई सभामुखको उम्मेदवार बनाउने तयारी भइरहेको छ ।

सभामुख र उपसभामुखमा मध्ये एउटा कांग्रेसले पाउने चर्चा भए पनि त्यसमा सम्भावना नदेखिएको उनले बताए । ‘राष्ट्रपति निर्वाचनमा गोप्य मतदान हुन्छ । प्रदेश सांसदले पनि भोट हाल्छन् ,’ कोइराला भन्छन्, ‘त्यसैले सम्भावना बढाएको छ । कांग्रेसलाई अवसर हुन सक्छ भन्ने कुराकानी भएका होलान् ।’ तर सहमहामन्त्री महेन्द्र यादवले ठुलो पार्टी भएकाले पनि आफ्नो पार्टीले सभामुखमा सहमतिका लागि दलहरूसँग छलफल बताए ।

‘संसद्को ठुलो दल र प्रमुख प्रतिपक्षका रूपमा रहेको कांग्रेसको दाबी सभामुखमा स्वाभाविक रूपमा रहन्छ । हामी सहमतिका लागि प्रयास गर्नेछौँ । ओली र प्रचण्डजीले पनि मिलेर जाने नै भन्नुभएको छ ,’ उनले भने ।

प्रधानमन्त्री प्रचण्डबाट सभामुखका ग्रिनसिग्नल आए कांग्रेसबाट पूर्व उपसभापति विमलेन्द्र निधि र ज्ञानेन्द्रबहादुर कार्की मध्ये एक जनालाई सभामुखको उम्मेदवार बनाउने तयारी भइरहेको छ ।

देउवा स्रोतका अनुसार विश्वासको मत पाएको साँझ पनि प्रधानमन्त्री प्रचण्डले देउवासँग कुराकानी गरेका थिए । आफू नेतृत्वको सरकारलाई राष्ट्रिय सहमतिको सरकारको स्वरूप दिन सत्ता साझेदारसँग छलफल गर्ने प्रचण्डको भनाइ थियो । देउवाले एमालेसँग गठबन्धन कायम रहेसम्म सरकारमा सहभागी नहुने सन्देश पठाएका थिए । सभामुख वा राष्ट्रपतिमा कांग्रेसलाई सघाउने प्रचण्डबाट आधार खोजेको बुझिएको छ । तर कांग्रेसको रणनीतिले एमाले भने सशङ्कित बनेको छ ।

कांग्रेसले सरकारलाई समर्थन गरेपछि मंगलबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओलीले बालकोटमा निकट नेताहरूसँग आन्तरिक छलफल गरेका थिए । कांग्रेसले बिनासर्त समर्थन गर्नुको रहस्य राष्ट्रपति निर्वाचनसँग जोडिएको एमाले वृत्तमा आशङ्का छ ।

पुस १० मा भएको समझदार अनुसार गठबन्धन अघि बढ्नुपर्ने अडानमा छ । बिहीबार साँझ प्रधानमन्त्री प्रचण्ड र ओलीबीच कांग्रेसबारे छलफल भएको थियो । कांग्रेसले विश्वासको मत दिँदा नै आक्रोशित देखिएका ओली सकारात्मक जवाफ नदिएको बुझिएको छ । राष्ट्रपति र सभामुख दायाँ बायाँ हुन नदिने ओलीको रणनीति छ । राष्ट्रपतिको चुनावमा पनि मतभारअनुसार सत्ता गठबन्धनकै बहुमत छ । 

सत्ता गठबन्धनमा माओवादीबाट गडबड नभए कांग्रेसले चुनाव जित्ने अवस्था छैन ।

प्रतिनिधिसभा सदस्य, राष्ट्रिय सभा सदस्य र प्रदेशसभा सदस्य मतदाता रहने राष्ट्रपतिको चुनावमा ५० प्रतिशत मत आवश्यक पर्छ । संघीय संसद्का ३३४ र सातवटै प्रदेश सभामा ५५०  गरी ८८४ जनाले राष्ट्रपति र उपराष्ट्रपतिका लागि मतदान गर्नेछन् । अहिले संघीय सांसदको मतभार ८७ र प्रदेश सांसदको ५३ रहेको छ ।

सबैभन्दा धेरै मत भार भए पनि माओवादीको साथ विना कांग्रेसले राष्ट्रपतिमा जित निकाल्न सम्भव छैन । १६ हजार ९१३ मत भएको कांग्रेसलाई माओवादीसँग ८ हजार ५२२, एकीकृत समाजवादीको दुई हजार ४७८, लोसपा ८२७, राजमो १५८ को मत आवश्यक हुन्छ ।

सत्ता गठबन्धनमा माओवादीबाट गडबड नभए कांग्रेसले चुनाव जित्ने अवस्था छैन । किन भने एमालेसँग १६ हजार ८५१, माओवादीसँग ८ हजार ५२२, राप्रपासँग २ हजार ४३७, जसपासँग २ हजार ३१२, रास्वपासँग १ हजार ७४० र जनमतसँग १ हजार ३७० मतभार गठबन्धनसँग छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप