बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रिय एकताका लागि ‘रन फर युनिटी’ आयोजना गर्दै नेपाली सेना

आइतबार, १५ माघ २०७९, २० : ३९
आइतबार, १५ माघ २०७९

सुर्खेत । नेपाली सेनाले कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा एकताका लागि ‘रन फर युनिटी’ आयोजना गर्ने भएको छ । कर्णालीको पहिचानका रूपमा रहेको लामो दूरीको दौडकोे प्रवर्द्धन र खेलकुद क्षेत्रको विकास तथा राष्ट्रिय एकताको भावना अभिवृद्धिका लागि यही माघ २१ गते एकताका लागि दौड प्रतियोगिता हुने भएको हो ।

उत्तर पश्चिम पृतना हेडक्वार्टरद्वारा सेनाले गरेको अर्धवार्षिक कार्यप्रगति सार्वजनिक गर्दै आज एकताका लागि दौड प्रतियोगिता गर्न लागिएको जनाइएको छ । खेलकुद क्षेत्रको विकासमा थप टेवा, विद्यार्थी तथा खेलाडीहरूलाई हौसला प्रदान गर्दै राष्ट्रियता र संस्कृति जगेर्ना गर्ने माध्यमका रूपमा विकास गर्न प्रतियोगिता गर्न लागिएको सेनाले जनाएको छ ।

करिब एक हजारको सहभागिता रहने प्रतियोगितामा लामो र छोटो दूरीका दौडसहित पैदल यात्रा समावेश गरिएको छ । जसमा पाँच किलोमिटर पैदल यात्रा, पाँच किलोमिटर पुरुष महिला दौड र १० किलोमिटर पुरुष महिला दौड रहेका छन् । प्रतियोगितामा सर्वसाधारणदेखि खेलाडी, कर्मचारी, सुरक्षा निकायका कर्मचारी, विद्यार्थी तथा विभिन्न सङ्घसंस्थाले भाग लिन पाउनेछन् ।

पाँच किलोमिटर दौडमा प्रथम, दोस्रो र तेस्रो स्थान हासिल गर्नेलाई क्रमशः रु १० हजार, पाँच हजार, तीन हजार र १० किलोमिटरमा रु २० हजार, १० हजार र पाँच हजार नगदसहित प्रमाणपत्र प्रदान गरिनेछ ।  यस्तै उक्त दिन सेनाले युद्ध कौशल, हातहतियार, विपद् व्यवस्थापनमा प्रयोग हुने सामग्री, आर्टिलरी उपकरण, विविध सांस्कृतिक प्रस्तुति, सैनिक पुस्तकहरूको प्रदर्शनीसमेत गर्नेछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप