शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय
कलाकार

‘मुन्द्रे’को परिचयसमेत फेरिन सक्छ

‘फिल्म नहेरी समीक्षा गर्नेसँग डर छ’
मङ्गलबार, १७ माघ २०७९

केही समययता म एकदमै व्यस्त छु किनभने मैले पहिलो पटक मुख्य भूमिका निर्वाह गरेको फिल्म ‘ह्यारी कि प्यारी’ प्रदर्शनमा आउँदैछ । पहिले यस्तो भूमिका पाए हुन्थ्यो भन्ने इच्छा राखियो । अहिले भूमिका पाएपछि भ्याइनभ्याइ भएको छ । मुख्य भूमिका भए पनि प्रचार प्रसारलगायतका कामले धेरै व्यस्त भइँदोरहेछ । फिल्म रिलिज हुँदैगर्दा सबैतिर आफैँ धाउनुपर्ने हुनाले दिन बितेको पत्तै हुँदैन ।

‘ह्यारी कि प्यारी’मा मैले मेजर भूमिकामा अभिनय गरेको छु । तर म आफू हिरो हुँ भनेर गफ दिन्नँ र आउँदा दिनमा पहिले झैँ कलाकारकै रूपमा प्रस्तुत हुन्छु । फिल्म रिलिजपछि मेरो जीवनमा एउटा नयाँ मोड आउला, ममाथि भरोसा गर्दै ठुलो पर्दाको फिल्म निर्माण होला । त्यो आस छ फिल्मबाट । तर हिरो भए भनेर दम्भ, घमन्ड आउन दिन्नँ । म एक कलाकार हो, त्यही रूपमा चिनिन्छु ।

हिरोका रूपमा पहिलो फिल्म आउँदै गर्दा एउटा ठुलो जिम्मेवारी र चुनौती महसुस गरेको छु । किनभने कलाकारको रूपमा ‘मुन्द्रे’ बन्दा म घरघरमा पुग्थेँ । एकसाता अभिनयमा कमजोर भयो भने अर्को साता सुधार्न मिल्थ्यो । फिल्ममा त त्यो मिल्दैन । यो नै मेरो ठुलो चुनौती हो । हिरोको रूपमा अभिनय गरेको यो फिल्म रिलिज मिति नजिकिँदै गर्दा के होला, कसो होला भनेर राति निन्द्रा कम पर्ने, छटपटी हुने गरेको छ । फिल्म सबैले मन पराउनुहुन्छ भन्ने आस राखेको छु । फिल्म सफल भयो भने मेरो कलाकारिता अलिकति फरक ढङ्गबाट अगाडि भने अवश्य बढ्छ ।

हिरोकै कल्पना थिएन

हिरोको रूपमा फिल्म अभिनय मेरा लागि संयोग हो । किनभने हिरो बन्छु भनेर म कलाकारितामा आएको होइन । कलाकारिता गर्दै जाँदा हिरोको अवसर मिल्यो, म होमिएँ । कलाकारिताको सोच र पारिवारिक पृष्ठभूमि भएर म कलाकारितमा आएको पनि थिइनँ । काठमाडौँबाट ७५ किलोमिटर दूरीमा रहेको कोठे भन्ने एउटा दुर्गम ज्यामिरे गाउँको मानिस म । गाउँमा त कलाकारिता के भन्ने पनि थाहै थिएन मलाई ।

विद्यालयमा सांस्कृतिक कार्यक्रमसमेत हुँदैन थियो । ९, १० कक्षा पढ्दा एक पटक रेडक्रसको कार्यक्रममा सामूहिक नृत्य गरेको थिएँ । त्यो समय विद्यालयमा हाजिरीजवाफ र भलिबल प्रतियोगिता मात्रै हुन्थ्यो ।

एउटा फिल्ममा सिङ्गल हिरोका रूपमा देखिन पाएहुन्थ्यो भन्ने लोभ थियो । डा. कपिल रिजाल दाइले अकस्मात् त्यो सपना पूरा गरिदिनुभयो ।

गाउँमा एसएलसी दिएपछि पैसा कमाउन र मिल्यो भने क्याम्पस पढ्न भनेर काठमाडौँ छिरेको थिएँ । सोही क्रममा चाबहिलको चुच्चेपाटीमा एउटा सहकारी पसलमा काम गर्दै कलेज पढ्न थाले । त्यो पसलकी साउनी दिदी सरस्वती शर्मा टेलिभिजनमा काम गर्दिरहिछन् । उनलाई टिभीमा देखिन धेरै अनुरोध गरेपछि सन्तोष पन्त दाइलाई भीडभाडमा राख्दिनु भनिदिनुभयो । कलाकारको रूपमा अगाडि आउनभन्दा पनि टिभीमा अनुहार देखाउन सन्तोष दाइसँग १५ सेकेन्डको भूमिकामा ‘हिजो आजको कुरा’मा अभिनय गरेँ । त्यो सानो भूमिका भए पनि हल्ला धेरै भयो । सबैले यो भाइ टिभीमा देखिएको हैन भनेर सोध्न थाले । त्यसपछि झन् धेरै टिभीमा देखिने रहर जाग्यो । त्यो रहर पूरा गर्दै जाँदा आजको दिनसम्म आएँ ।

कलाकारिताको सुरुवातको समयमा हिरो को हो, के हो थाहा थिएन । ९, १० पढ्दै गर्दा अटोग्राफ भर्ने चलन थियो । पोस्टकार्डमार्फत् शुभकामना दिन्थ्यौँ । त्यो समय राजेश हमाल, भुवन केसी, शिव श्रेष्ठलगायतको पोस्टकार्डमा देखिन्थ्यो । हिरो उनीहरू नै सोच्थेँ । कलाकारका रूपमा जम्दै जाँदा जोकरको परिचय बन्यो । त्यसैले आफू हिरो हुँला भन्ने कल्पना पनि थिएन ।

जब फिल्म ‘६ एकान ६’ बन्यो । समूहमा हिरो भइयो । त्यसपछि ‘छ माया छपक्कै’सम्म आउँदा समूहमा धेरै पटक हिरो भइयो । त्यसपछि एउटा फिल्ममा सिङ्गल हिरोका रूपमा देखिन पाएहुन्थ्यो भन्ने लोभ थियो । डा. कपिल रिजाल दाइले अकस्मात् त्यो सपना पूरा गरिदिनुभयो । उहाँले फिल्मको कथा सुनाउँदै हिरो तपाईं हो भन्नुभयो । म त्यसैमा मख्ख परेँ । कथा पनि मनपर्‍यो , हिरो बनेँ ।

साम्राज्ञी र जितुको जोडी कस्तो होला ? धेरैको प्रश्न छ । किनभने साम्राज्ञीसँग प्रदीप खड्का, पल शाहलगायत हिरोको कल्पना गरिन्छ ।

हसाउन छोडेँ भने...

डा. कपिल रिजालसँग ‘ह्यारी कि प्यारी’को कथा सुन्दै गर्दा ह्यारीको काकाको भूमिका अलि फन्नी थियो । मैले त्यो रोल मेरै होला भनेर सोच्दै थिएँ । निर्देशक रिजालले ह्यारी तपाईं हो भन्नुभयो । नजिस्काउनुन भनेर मैले भनेँ । गराउने जिम्मा मेरो, तपाईं गर्न सक्नुहुन्छ भन्दै हिरोका लागि तयार हुनु भन्नुभयो ।

हिरोको भूमिकामा अवसर पाए पनि निर्वाह चुनौती थियो । अभिनय गर्न सक्दिन कि भन्ने डर थियो । जे होला होला भनेर आँटे । अहिले फिल्म हेर्दा लाग्छ राम्रो भएको रहेछ । निर्माण पक्ष सन्तुष्ट छन् । दर्शक पनि खुसी हुन्छन् भन्ने विश्वास छ । निर्माण घोषणाको समयदेखि नै फिल्मप्रति सबैको चासो पनि छ ।

साम्राज्ञी र जितुको जोडी कस्तो होला ? धेरैको प्रश्न छ । किनभने साम्राज्ञीसँग प्रदीप खड्का, पल शाहलगायत हिरोको कल्पना गरिन्छ । उहाँसँग मेरो हाइट, रुपरङ केही मिल्दैन । मलाई पनि निर्देशकले किन रिक्स मोले होला जस्तो लाग्थ्यो । अहिले फिल्म हेर्दा त्यसको जवाफ मिल्छ । फिल्मका सबै प्राविधिक काम मुम्बईमा भएको छ । पाँच भाषामा डब भएको फिल्मले दर्शक रिझाउँछ । निर्देशक रिजालसँग म भोलि काम गरौँला, नगरौँला तर केही गर्छु भनेर आउनुभएको उहाँको निर्देशकीय क्षमताबाट म प्राभावित छु । फिल्म हेरेर समीक्षा हुँदैन यहाँ । फिल्म नहेरी समीक्षा गर्नेसँग डर छ । 

यो फिल्मबाट हिरोको रूपमा करियर अगाडि बढेको छ । सफल भए ठिकै छ, नभए कमेडियनको करियर चल्छ । हिरोमा सफल भए पनि कमेडियनको करियर छोड्ने होइन । मैले हसाउँन छोडेँ भने बाटो बिराउँछु ।

316173314_144040028392274_2435428942627432064_n

चाहेर पनि पाउँदिनँ साम्राज्ञी

‘ह्यारी कि प्यारी’मा पछिल्लो समय हिट अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको हिरोका रूपमा देखिँदैछु । मेरा लागि यो अवसर हो । साम्राज्ञी बोल्ड छविकी, ब्युटिफुल र ग्ल्यामरस अभिनेत्री हुनुहुन्छ । उहाँसँग फिल्म खेल्ने चाहना सबैको हुन्छ । मैले त चाहेर पनि पाउँदिनँ साम्राज्ञी । किनभने जोडीका रूपमा म उहाँसँग सुहाउँछु सुहाउँदिनँ भन्ने कुरा आउँथ्यो तर यो फिल्मले नसोचेको पुर्‍याएको छ ।

फिल्म अफरको समयमा साम्राज्ञीले मसँग फिल्म अभिनय गर्न स्विकार्नुहुन्न कि भन्ने डर थियो । तर उहाँ मसँग अभिनय गर्दा एकदमै खुसी हुनुहुन्छ । फिल्म अभिनयअगाडि उहाँ चन्चले जस्तो लाग्थ्यो । अभिनयपछि परिपक्व र काम भनेपछि मरिहत्ते गर्ने अभिनेत्रीका रूपमा चिनेँ । धेरैले उहाँसँग सिक्नुपर्ने छ । उहाँ सम्भ्रान्त परिवारको व्यक्ति, फिल्मका लागि दुःख गर्दिनँ भन्दा नि हुन्थ्यो नि । निर्देशकले जस्तो भन्यो त्यस्तो दुःख गर्न तयार हुने उहाँ इमानदारसाथ अभिनय गर्नुहुन्छ । उहाँ जस्तो अभिनेत्री फिल्म क्षेत्रमा हुनु गर्वको विषय हो ।

सामूहमा हिरोका रूपमा अभिनय गरेको मेरा फिल्म हिट छन् । त्यसैले मेजर क्यारेक्टरको रूपमा अभिनय गरेको यो फिल्म राम्रो गर्नुपर्ने प्रेसर छ ।

फिल्मको सुटिङ राम्रोसँग भयो । फिल्ममा हाम्रो जोडी राम्रो जमेको छ । फिल्ममा उहाँ रियलमा जे हो, त्यही रूपमा ह्यारी कि प्यारी बनेर देखिनुहुन्छ । म गाउँको सोझो व्यक्ति ‘ह्यारी’का रूपमा छु । दुवैको सम्बन्धको उतारचढाब फिल्म हो । फिल्म घोषणा गर्दा जितुलाई साम्राज्ञी सुहाउँछ त ? प्रश्न गर्ने धेरै थिए ।

अहिले म भन्छु, नसुहाउँदा पनि माया प्रेम हुन्छ । कोहीका श्रीमान् एकदमै ह्यान्डसम हुन्छन्, श्रीमती ठिकै । कोही श्रीमती एकदमै राम्री सबै मिलेको भए पनि श्रीमान् पुड्को, कालो र नसुहाउने हुनसक्छ । तर उनीहरूको व्यवहार मिलेको हुन्छ । फेरि मिलेको जोडीको माया प्रेम नमिलेको पनि हुनसक्छ । फिल्म ‘ह्यारी कि प्यारी’ नमिलेको जोडीको कथा हो । त्यही सन्दर्भले दर्शकलाई रमाइलो दिन्छ । जोडी मिल्दैन भनेर कुरा काट्नेलाई फिल्म गतिलो जवाफ पनि हो ।

‘मुन्द्रे’को परिचय फेर्छ 

सामूहमा हिरोका रूपमा अभिनय गरेको मेरा फिल्म हिट छन् । त्यसैले मेजर क्यारेक्टरको रूपमा अभिनय गरेको यो फिल्म राम्रो गर्नुपर्ने प्रेसर छ । कतिले मलाई ‘छक्का पञ्जा’ समूहको टसलमा हिरो खेल्यो भन्ने आरोप लगाएका छन् । त्यो होइन । यो समूहसँग मेरो अहिले पनि राम्रो सम्बन्ध छ । हामी कमेडियन हिरो बन्नसक्छौँ भनेर सिकाएको ‘छक्का पञ्जा’ समूहका दीपकराज गिरीले हो । त्यो गुन मैले जीवन कहिल्यै बिर्सन सक्दिनँ । उहाँकै देनले अहिले मेजर हिरोको भूमिका पाएको हो । हाम्रो फेरि सहकार्य हुनसक्छ । केही समय पहिले सानोतिनो मनमुटाभ भयो होला । त्यो अहिले छैन । 

‘ह्यारी कि प्यारी’को ट्रेलरमा वीर्य दानको कथाको टुक्रा छ । त्यसले यो फिल्मको कथा त्यही हो भन्ने सोच्नु होला । होइन, त्योसहित यो अन्य केही विषयमाथि बनेको छ । पछिल्लो समय एकै प्रकारका फिल्म आए । लभस्टोरी कथा भन्नेवित्तिकै चकलेटी हिरो हिरोइन राख्ने, उनीहरूको मिलन अवरोध देखाउने, फाइटमा हिरोले जित्ने र हिरो हिरोइनको मिलन हुने गर्थ्यो । त्यो ट्रेन्ड यो फिल्मले पूरै नकारेको छ । 

अभिनयका हिसाबले पनि फिल्मप्रति म सन्तुष्ट छु । मुम्बईमा प्राविधिक कार्य गर्दा बलिउडका दिग्गज व्यक्तिहरूले मेरो तारिफ गरेका छन् । कतिपयले त मलाई कमेडियन नभएर थिएटर कलाकार भएको अनुमानसमेत लगाए । अहिले आफैँलाई मूल्याङ्कन गर्दा पनि सधैँ अरूलाई हँसाउने मैले सिरियल्ली भावनात्मक फिल्म कसरी अभिनय गरेँ भन्ने लाग्छ । यो फिल्ममा मैले आफ्नो अभिनयको ट्र्याक छोडेर अगाडि बढेको छु । फिल्ममा मैले गरेको सङ्घर्ष र दुःखमा मानिस हाँस्छन्, भावुक हुन्छन् अनि रमाउँछन् । 

यो रोमान्टिक, कमेडी र अडएङ्गलको फिल्म भन्छु म । फिल्मका विषयमा धेरै ठुला कुरा गर्ने र दर्शकलाई मनपरेन भने अरूलाई दोष लगाउने परिपाटी हाम्रो फिल्म क्षेत्रमा छ । कतिपय आफ्नो फिल्म चलेन भने पानी पर्‍यो, प्रचार भएनलगायतका विभिन्न बहानाले अरूलाई दोष दिन्छन् । त्यो राम्रो बानी होइन । म त्यसो गर्दिनँ ।

यो फिल्म हेर्दा मनपरेन, चलेन भने म अरूलाई दोष दिन्नँ । बरु माफी माग्छु । मैले बाटो छोड्न खोजेको, सफल भइनँ भन्छु । म हिरो नहुने रहेछु भन्छु । फिल्म हेरेर राम्रो, नराम्रो जे हो त्यही भन्नुस्; दर्शकलाई मेरो यही अनुरोध छ । जितुको फिल्म भनेर नहेरी र रिलिज नहुँदै नराम्रो टिप्पणी नगर्नुस् । यो फिल्मले ‘मुन्द्रे’को रूपमा चिनिएको मेरो परिचयसमेत फेर्न सक्छ । त्यो मेरो विश्वास हो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया