जनकपुरको रामानन्द र पिडारी चोक सवारी दुर्घटनाको अति जोखिममा
सारांश
- जनकपुरको रामानन्द चोक र पिडारी चोक सवारी दुर्घटनाको उच्च जोखिममा रहेका छन् ।
- ट्राफिक सचेतनाको कमी, सवारीसाधनको बढ्दो संख्या र चालकको लापरवाहीले गर्दा धनुषा जिल्लामा सवारी दुर्घटनाको तथ्याङ्क कहालीलाग्दो अवस्थामा छ ।
- दुर्घटना न्यूनीकरणका लागि सडक डिभिजन कार्यालयले रामानन्द चोक र मुजेलियामा रेट्रोरिफ्लेक्टिभ स्प्रिङ पोष्ट राखेको भए पनि संरचना भत्किँदै गएपछि आकाशे पुल निर्माणको विकल्पमाथि चर्चा सुरु भएको छ ।
जनकपुरधाम । मधेस प्रदेशमा सबैभन्दा बढी सवारी दुर्घटना हुने जिल्ला धनुषा रहेको तथ्याङ्कले देखाउछ । ट्राफिक सचेतना, बढ्दो सवारीसाधन एवं चालकबाट हुने असावधानी र लापरवाहीका कारण धनुषामा दुर्घटनाको तथ्याङ्क कहालीलाग्दो अवस्थामा छ ।
धनुषामा पनि जनकपुरको मुख्य स्थल रामानन्द चोक, पिडारी चोक र मुजेलियमा सबैभन्दा बढी दुर्घटना हुने गर्दछ । अन्य जिल्लाबाट आउने यात्री तथा धार्मिक पर्यटकहरू लागि जानकी मन्दिर जाने मुख्य मार्ग नै रामानन्द चोक हुने गर्छ । यही चोकबाट अधिकांश पर्यटक मन्दिर दर्शनका लागि आवतजावत गर्छन् ।
सहरको भित्री भागबाट निस्किएर अन्यत्र जिल्ला जानु परेमा पनि रामानन्द चोक नै मुख्य जक्सन हुने गर्दछ । राजधानी जाने दर्जनौँ सवारी साधन यही चोकबाट छुट्ने गर्छ । अपराह्न ५ बजेपछि यो चोकस्थित सडकको दुवै किनारमा दर्जनौँ रात्रि बस पार्किङ हुने गर्दा अन्य सवारी साधनलाई असहज हुने गरेको छ ।
रामानन्द चोकमा पान पसल गर्दै आएको नरेन्द्र झाले भने, ‘५/७ वर्ष यता यो चोक निकै अस्तव्यस्त बनेको छ । ग्रामीण भेगबाट आउने यात्रुले सडक वारपारमा ध्यान नदिँदा र सडकमा सवारी साधनको गति तीव्र हुँदा जुनसुकै बेला पनि ठुलो दुर्घटना निम्तिने खतरा छ ।’

यो चोकमा दुर्घटनाको सङ्ख्या, ई–रिक्सा पार्किङमा मनोमानी बढेपछि सडक डिभिजन कार्यालय जनकपुरले दुर्घटना न्यूनीकरण गर्ने उद्येश्यले गत वैशाखमा रेट्रोरिफ्लेक्टिभ स्प्रिङ पोष्ट राखेर व्यवस्थित गरेको थियो । जिल्ला ट्राफिक कार्यालयको समन्वयमा पोष्ट राखिएपछि यो चोकको सौन्दर्यकरण बढ्नुका साथै केही व्यवस्थित पनि भएको थियो । पोष्ट निर्माण पश्चात लेन भएर आवतजावत हुँदा दुर्घटना न्यूनीकरणमा सहयोग पुगेको थियो ।
तर ३ महिना निबत्दै त्यहाँ राखिएका बार कतै उखेलेर फालिएको छ भने दुई पाङ्ग्रे सवारी साधनले जथाभावी सडक वारपार गर्न खोज्दा कतिपय बार भाँचिएको छ । पाइलट प्रोजेक्टको रूपमा सडक डिभिजन कार्यालयले रामानन्द चोकसँगै मुजेलियामा पनि यस्तै पोष्ट राखेको छ । जिल्ला सडक डिभिजन कार्यालय प्रमुख दरोगा प्रसादले यो पोष्ट निर्माणमा १९ लाख रुपैयाँ खर्च भएको बताए ।

उनले भने, ‘हामीले सडक व्यवस्थित होस्, आवतजावत र दुर्घटना न्यूनीकरणमा सहयोग होस् भनेर राखेका थियौँ, तर चालकहरूमा चेतनाको अभाव हुँदा केही स्थानका पाइपहरू हटाउने र फुटाउने काम भएको छ ।’
यस्ता मुख्य चोकमा सवारी साधनले जथाभावी बाटो काट्नेमात्र होइन, पैदल यात्रीसमेत जता पायो उतैबाट बाटो काट्ने गर्दा दुर्घटनाको जोखिम बढाउने गर्दछ । यही अवस्था अन्त्यका लागि रेट्रोरिफ्लेक्टिभ स्प्रिङ पोष्ट प्रभावकारी हुने भन्दै जडान गरिएको थियो । यद्यपि, यसका संरचना भत्किँदै गएपछि कतै आकाशे पुल नै एकमात्र विकल्प त हैन भन्नेबारे चर्चा चलिरहेको छ ।
सडक डिभिजन कार्यालय प्रमुख दरोगा प्रसादका अनुसार एउटा आकाशे पुल निर्माण गर्न ३ देखि ४ करोड रुपैयाँसम्म खर्च लाग्ने गर्छ । उनले जनकपुरको रामानन्द चोक, पिडारी चोक र बजरंग चोकमा आकाशे पुल निर्माणका लागि केन्द्रमा प्रपोजल पठाएको जानकारी दिए । ‘यी तीन स्थानमा आकाशे पुल निर्माण आवश्यक छ । त्यही भएर प्रपोजल पठाएका छौँ । अर्को महिनासम्म केन्द्रको निर्णय आउन सक्छ,’ उनले भने ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार ६ लेनको मुख्य सडकमा तीव्र गति, हुलाकी राजमार्गमा चालकहरूले असावधानी एवं लापरवाही गरेर सवारी हाँक्ने, पैदल यात्रुहरूमा ट्राफिक सचेतना नहुनुले पनि दुर्घटना बढेको हो । कार्यालयका प्रमुख खगेन्द्रकुमार दाहालले जनकपुरको कतिपय स्थानमा आकाशे पुल अति आवश्यक रहेको बताए । उनले अहिले रामानन्द चोक र मुजेलियामा राखिएको स्प्रिङ पोष्टको संरचना कमजोर भएको गुनासो गरे ।
उनले भने, ‘रामानन्द चोक र मुजेलियामा राखिएको स्प्रिङ पोष्टभन्दा पनि ती स्थानमा वाटरवाला डिभाइडर राखेको भए राम्रो हुन्थ्यो । त्यो संरचना राखिएको भए सवारी दुर्घटना भए पनि यात्रुहरू घाइेत हुने वा मृत्युसम्मको अवस्था कम हुन्थ्यो ।’

जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८१/०८२ मा धनुषा जिल्लामा कुल एक हजार २२१ वटा सवारी दुर्घटना भएका छन् भने ती दुर्घटनामा ८४ जनाको मृत्यु भएको छ । त्यस्तै मधेस प्रदेश प्रहरी कार्यालयको ५ वर्षको एकीकृत तथ्याङक (आर्थिक वर्ष २०७७/०७८ देखि २०८१/०८२ सम्म) कुल ४ हजार ८६८ वटा सडक दुर्घटना भएका छन्, जसमा ४२९ जनाको मृत्यु भएको छ ।

- कस्तो हुन्छ वाटर डिभाइडर ?
सडकमा राखिने वाटर डिभाइडर प्लास्टिकका विशेष बारहरूमा पानी भरेर सडकको बिच भागमा राखिने गर्छ । बिच भागमा राखिएसँंगै यसले लेन छुट्ट्याउन मद्दत गर्छ । यसरी राखिएको डिभाइडरमा कुनै सवारीसाधनले ठक्कर दिए बारमा भएको पानीले धक्का सोस्छ, जसले गर्दा गाडीमा हुने क्षति कम हुनुका साथै यात्रुको ज्यान जोगिने सम्भावना बढ्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामान किन्दा बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा : १० लाखसम्म उपहार जित्ने अवसर (कार्यविधिसहित)
-
वर्षा र पहिरोका कारण मुख्य राजमार्गहरू प्रभावित, कहाँको अवस्था कस्तो छ?
-
अपराधसँग सम्बन्धित ७७ मुद्दा फछ्र्योट
-
कोशीमा सत्ता परिवर्तनको खेल : एमाले र नेकपाका नेता काठमाडौँ केन्द्रित
-
चितवनमा सवारी दुर्घटनामा आयाे कमी
-
स्पेन फेरि फिफा वरीयताको शीर्ष स्थानमा, मोरक्को इतिहासकै उच्च स्थानमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण