बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय
स्मृति

हिमालय जबरा जसले नेपालमा भारतीय मुद्राको जगजगीको अन्त्य गरे

आइतबार, २२ माघ २०७९, १७ : ०२
आइतबार, २२ माघ २०७९

काठमाडौँ । झण्डै साढे ६ दशक अघिसम्म नेपालमा दुई खाले मुद्राको चलनचल्ती थियो । काठमाडौँ उपत्यका र पहाडमा नेपाली रुपैयाँको चलनचल्ती थियो भने पूर्व झापादेखि पश्चिम कञ्चपुरसम्मको तराई र भित्री मधेसमा भने भारतीय मुद्राको चलनचल्ती थियो । भारुमै मालपोत उठाउँथ्यो, भारुमै खर्च गरिन्थ्यो । 

जब वि.स.२०१३ साल वैशाख १४ गते नेपाल राष्ट्र बैंकको स्थापना भयो तब देशमा एकै खालको मुद्रा (नेपाली रुपैयाँ) को प्रयोगको सुरुवात भयो । यसको सूत्रपातको श्रेय भने नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालय शमशेर जबरा राणालाई जान्छ ।

खासगरी मुलुकभित्र प्रचलनमा रहेको दुई खाले मुद्राको प्रयोगलाई एकै खाले बनाउने र भारुको जगजगीको अन्त्य गर्नकै लागि नेपाल राष्ट्र बैंकको स्थापना भएको थियो । उनै राणाको नेतृत्वको राष्ट्र बैंकले अन्ततः मुलुकमा एकै खाले नेपाली रुपैयाँको प्रचलनमा ल्याइछाड्यो । उनै राणाको आज ९५ वर्षको उमेरमा जीवन लीलाको अन्त्य हुन पुगेको छ ।

वि.स. २०१३ वैशाख १४ गते राष्ट्र बैंकको स्थापनासँगै पहिलो गभर्नर बनेका राणाले २०१७ माघ २५ गतेसम्म राष्ट्र बैंकको नेतृत्व सम्हालेका थिए । सो समयमा उनले राष्ट्र बैंकलाई केन्द्रीय बैंकको भूमिका दिलाउने मात्र नभएर नेपाली मुद्रा (कागजी नोट) छाप्ने र देश भित्र आफ्नै मुद्रा मात्र चलाउने काम समेत गरे । देशभित्र मात्र नभएर विदेशमा समेत नेपालको बैंक खाता खोल्ने, विदेशी मुद्राको सञ्चय गर्ने र अन्तर्राष्ट्रिय व्यापारमा सहजीकरण गर्नेसम्मका काममा राणाको उच्च योगदान छ । 

पहिलो अर्थसचिव

त्यसो त नेपाल सरकारको पहिलो अर्थसचिव समेत रहेका राणा अझ बढी सरकारको आर्थिक सल्लाहकारको रूपमा चिनिन्छन् । २००७ सालको प्रजातन्त्रको उदयपछि वि.स.२००८ साल मङ्सिर १३ गते पहिलो अर्थसचिव बनेका राणाले तत्कालीन समयमा अर्थ मन्त्रालय र सो मन्त्रालय मातहतका अन्य निकायहरू, विभागहरू स्थापना गर्दै तिनको व्यवस्थापनमा निकै सक्रिय भूमिका निर्वाह गरेका थिए । कुशल प्रशासकको छविसमेत बनाएका पूर्व गभर्नर राणाले ५ वर्ष अर्थ सचिवको रूपमा काम गरेका थिए ।

४ वर्ष गभर्नर ५ वर्ष अर्थसचिव बनेर देशका लागि काम गरेका राणाले झण्डै साढे दुई जति संयुक्त राष्ट्र संघअन्तर्गत रहेर मुलुक बाहिर बसेर समेत काम गरेका छन् । वि.स. २०१३ सालमा राज महेन्द्रबाट गभर्नर बनेका हिमालय शमशेर जबरा राणा उनै राजा महेन्द्रको २०१७ को राजनीतिक ‘कू’ बाट हटाइए ।

उसो त पहिलो गभर्नरको परिचय बनाएका राणाले पहिलो अर्थसचिव मात्र होइन मुलुककै पहिलो लिखित बजेट ल्याउने जिम्मेवार व्यक्तित्वको रूपमा समेत आफुलाई परिचित बनाएका छन् । 

नेपालको पहिलो बजेटको रूपमा २००८ सालमा लिखित बजेट ल्याइएको थियो । अर्थसचिव राणा अघिसम्म नेपालमा बजेट बनाउने चलन नै थिएन । खर्च र आम्दानी सार्वजनिक गर्नेभन्दा लुकाउने प्रचलन थियो । तर, २००८ सालको मातृकाप्रसाद कोइराला प्रधानमन्त्रीको पालमा अर्थमन्त्री सुवर्णशमशेर राणा र अर्थसचिव हिमालय शमशेर राणा भएदेखि लिखित बजेट ल्याउने प्रचलन सुरु भयो । सोही पहिलो बजेट निर्माणमा अर्थसचिव हिमालय शमशेर राणाको भूमिका उच्च रहेको मानिन्छ । तत्कालीन समयमा सरकारले अन्दाजी ३ करोड रुपैयाँ बराबरको बजेट ल्याएको थियो । ३ करोडबाट सुरु भएको मुलुकको बजेट चालु आर्थिक वर्ष २०७९/८० सम्म आइपुग्दा १७ खर्ब ९३ अर्ब ७३ करोड रुपैयाँ माथि पुगिसकेको छ । 

हिमालय बैंकको स्थापना

उसो त नेपालको पहिलो गभर्नर मात्र नभएर पहिलो अर्थ सचिवको परिचय बनाएका स्वर्गीय हिमालय शमशेरले नेपालकै पहिलो निजी बैंकको स्थापनकर्ताको रूपमा समेत छुट्दै पहिचान बनाएका छन् । 

वि.स. २०४९ (सन् १९९३ ) मा सरकारी सेवाबाट निवृत्त हुँदै गर्दा पूर्व गभर्नर राणाले आफ्नै नेतृत्वमा त्यो पनि आफ्नै नामबाट पहिलो निजी वाणिज्य बैंक ‘हिमालय बैंक’ स्थापना गरे । पाकिस्तानको हबिब बैंक लिमिटेडसँगको संयुक्त लगानीमा सुरु भएको हिमालय बैंक अहिले पनि निजी बैंकहरु मध्येको अब्बल बैंकको रूपमा स्थापित रहेको छ । 

उनै हिमालय बैंकका संस्थापक नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय शमशेर जबरा राणाको ९५ वर्षको उमेरमा आज बिहान मृत्यु भएको छ । उनीसँगै नेपालको वित्तीय इतिहासको एक युगको समेत अन्त्य हुन पुगेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

श्रेष्ठ रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप