शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
तानातानमा राष्ट्रपति पद

फागुन २५ को ‘काउन्टडाउन’ : राष्ट्रपतिको उम्मेदवारबारे प्रमुख पार्टीभित्र छैन छलफल

बुधबार, ०३ फागुन २०७९, १५ : ४४
बुधबार, ०३ फागुन २०७९

काठमाडौँ । आगामी फागुन २५ गते राष्ट्रपति निर्वाचन हुँदैछ । निर्वाचन आयोगले राष्ट्रपतिका लागि निर्वाचन कार्यतालिका नै सार्वजनिक गरिसकेको छ । आयोगको कार्यतालिका अनुसार अबको १० दिनपछि अर्थात् फागुन १३ गते राष्ट्रपति पदका लागि उम्मेदवारी दिनुपर्नेछ भने २२ दिनपछि मतदान नै हुनेछ । तर, कसलाई राष्ट्रपतिको उम्मेदवार बनाउने भन्नेमा राष्ट्रपतिको दाबी गर्दै आएका ठुला राजनीतिक पार्टीले पार्टी कमिटीभित्र छलफल गर्ने रुचि नै देखाएका छैनन् ।

पछिल्लो समय राष्ट्रपति पदलाई लिएर सत्ता गठबन्धनभित्रै अविश्वास र खटपटको अवस्था छ । पुस १० मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बन्नुअघि नेकपा एमालेले राष्ट्रपति पाउने मौखिक सहमति भएको दुवै पार्टीका नेताहरूले दाबी गरे पनि पुस २६ पछि राष्ट्रपतिको चयन राष्ट्रिय सहमतिमार्फत गर्नुपर्ने अभिव्यक्ति प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिँदै आएका छन् ।

संघीय संसदका सदस्य र प्रदेश सभाका सांसद मतदाता रहने राष्ट्रपति निर्वाचनमा हालको सत्ता गठबन्धनमा बहुमत देखिए पनि सत्ता गठबन्धनमै निर्णायक मानिने माओवादीले राष्ट्रपतिमा ठोस निर्णय गर्न सकेको छैन । राष्ट्रपतिका लागि अहिलेसम्म नेपाली कांग्रेस र एमालेले उम्मेदवारी दिने बताउँदै आएका छन् । तर उनीहरुले अहिलेसम्म पार्टीभित्र कसलाई राष्ट्रपतिको उम्मेदवार बनाउने भनेर औपचारिक छलफल समेत चलाउन सकेका छैनन् ।

माओवादीले आधिकारिक निर्णय गर्ने

नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेल यही सातभित्र माओवादी पार्टी पदाधिकारी बैठक बसेर राष्ट्रपतिमा कसलाई समर्थन गर्ने भन्नेबारे निर्णय हुने बताउँछन् ।

सचिव पौडेलले भने, ‘माओवादी केन्द्रले सबै दलसँग परामर्श गरिरहेको छ, बैठकबाट ती सबै कुराको टुंगो लगाउँछौ र राष्ट्रपतिको बारेमा आधिकारिक धारणा माओवादीले ल्याउँछ ।’माओवादीले राष्ट्रपतिमा आफ्नै पार्टीबाट भने उम्मेदवार नबनाउने लगभग निश्चित छ । उसले कांग्रेस वा एमालेले उठाउने उम्मेदवारमध्ये एकलाई सघाउनेछ । माओवादीले जुन उम्मेदवारलाई सघायो उसैको पल्ला भारी हुने भएकाले पनि माओवादी राष्ट्रपति उपनिर्वाचनमा निर्णायक मानिन्छ । यदि माओवादीले सत्ता समीकरण तोड्दै कांग्रेसलाई सघाएमा एमाले अप्ठेरोमा पर्ने देखिन्छ ।  

एमाले भन्छ – अध्यक्षले नै निर्णय गर्नुहुन्छ

नेकपा एमालेले राष्ट्रपतिमा पार्टीबाट उम्मेदवार बनाउने भने पनि त्यसबारे पार्टीभित्र अध्यक्ष ओलीबाहेक कसैलाई को उम्मेदवार बन्दै छ भन्ने पत्तो छैन ।

‘राष्ट्रपतिका लागि पार्टी बैठकमा छलफल भएको छैन । त्यसका लागि बैठक बस्ने सम्भावना पनि छैन’, एमालेका एक पदाधिकारी भन्छन्, ‘अध्यक्षले नै निर्णय गर्नुहोला ।’

नेकपा एमालेबाट सुवास नेम्वाङ, अष्टलक्ष्मी शाक्य, डोरमणि पौडेल लगायतको नाम राष्ट्रपति उम्मेदवारका लागि चर्चामा छन् । एमालेले यही फागुन ५ गतेबाट सबै केन्द्रीय नेताहरूलाई २ महिनाका लागि ‘मिसन ग्रास रुट’अभियान अन्तर्गत भूगोलमा पठाउँदै छ ।

‘एमाले मात्रै होइन, नेपालका राजनीतिक पार्टीहरू कुनै पनि निर्णय गर्दा पार्टीमा व्यापक छलफल गर्ने चलन नै छैन । केहीले त्यसका लागि बैठक बोलाए भने पनि आफूअनुकुल निर्णय गरेर अनुमोदनमा साक्षी राख्न बैठक राख्छन्’, एमालेका एक केन्द्रीय सदस्य असन्तुष्टि जनाउँदै भन्छन्, ‘आम चुनावमा क कसलाई उम्मेदवार बनाउने भनेर त छलफल भएन भने राष्ट्रपतिका लागि शीर्ष नेताले रुचि देखाउने कुरै भएन, खल्तीको जो छ उसैलाई बनाउने हुन् ।’

कांग्रेसमा पौडेल र सिटौलाको नाम प्रस्ताव

नेपाली कांग्रेसमा पनि राष्ट्रपतिको उम्मेदवारबारे औपचारिक छलफल सुरु भइसकेको छैन ।  कांग्रेस सभापति शेरबहादुर देउवाले ९ माघमा बसेको शीर्ष नेताको बैठकमा नेताद्वय रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाको नाम अगाडि सारेका थिए ।

कांग्रेसबाट राष्ट्रपतिमा गोपालमान श्रेष्ठ र मानबहादुर बिकले पनि आकांक्षा राखेको पाइन्छ । तर कांग्रेसवृत्तमा भइरहेको अनौपचारिक छलफलमा पौडेल र सिटौलाको नाममाथि ज्यादा चर्चा भइरहेको छ । कांग्रेस प्रवक्ता प्रकाश शरण महतले केही दिनमा केन्द्रीय कार्यसम्पादन समिति बैठक बसेर राष्ट्रपतिको उम्मेदवार तय गर्ने बताए ।

उनले भने, ‘राष्ट्रपति उम्मेदवारबारे अहिले अनौपचारिक तहमा मात्र छलफल भइरहेको छ । केही दिनमै कार्यसम्पादन समिति बैठकबाट निर्णयमा पुग्छौँ ।’

कांग्रेस नेता एनपी साउदले पनि नेता पौडेल र सिटौलाले इच्छा राखेको बताए । ‘कांग्रेसमा राष्ट्रपतिको उम्मेदवारबारे औपचारिक रूपमा छलफल भएको छैन । पार्टी सभापतिसँग राष्ट्रपतिका लागि धेरै मान्छेले इच्छा राख्नुभएको छ,’ उनी भन्छन्, ‘पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलाले पनि राष्ट्रपतिमा इच्छा राख्नुभएको छ ।’

कांग्रेसले राष्ट्रपति पाउने र जित्ने पक्का भइसकेपछि पार्टीमा छलफल भएर एक जनालाई अगाडि बढाउने साउदको भनाइ छ ।

राष्ट्रपतिमा माओवादी सकारात्मक रहेको पात्र अगाडि सार्ने कांग्रेस नेताहरू बताउँछन् ।

कस्तो छ निर्वाचन प्रक्रिया र मत ?

राष्ट्रपति निर्वाचनमा संघीय संसद र प्रदेश संसद गरी दुई प्रकारका मतदाताले हाल्ने भोटको भार पनि फरक–फरक कायम छ । संघीय संसद अन्तर्गत राष्ट्रिय सभा र प्रतिनिधि सभालाई बुझाउँछ । यी दुई सभाका एक जना सांसदले हालेको मतको मतभार ७९ हुन्छ । प्रदेश सांसदले हालेको एक भोटको ४८ मतभार हुन्छ ।

प्रतिनिधि सभामा प्रत्यक्ष र समानुपातिकतर्फ गरी २७५ जना सांसद हुन्छन् । तर चितवन २ अहिले खाली छ । त्यसैले यो पटक प्रतिनिधि सभाका २७४ जना सांसदले मात्रै मत हाल्न पाउने छन् । राष्ट्रिय सभामा ७ प्रदेशबाट निर्वाचित ८–८ जना र मनोनित ३ जना गरी ५९ जना हुन्छन् । यसरी संघीय संसदमा ३३४ जनाले राष्ट्रपति र उपराष्ट्रपतिका लागि भोट हाल्न पाउँछन् । जुन २६ हजार ३ सय ८६ भोट बराबर हो ।

सातवटै प्रदेश सभामा ५५० सदस्य हुन्छन् । उनीहरूको भोट २६ हजार ४ सय हुन्छ ।

यी दुई सदनको मतभार जोड्दा राष्ट्रपति निर्वाचनमा कुल ८८४ जनाले मतदान गर्नेछन् । उनीहरूको मतको गणना भने ५२ हजार ७ सय ८६ मत हुन्छ । यसरी हुने मतदानमा जम्मा खसेको मतको बहुमत प्राप्त गर्ने उम्मेदवार राष्ट्रपतिमा निर्वाचित हुने व्यवस्था छ । निर्वाचत मण्डलका कुनै पनि सिट खाली नभएको अवस्थामा निर्वाचित हुन कम्तीमा २६ हजार ३ सय ९४ मत ल्याउनुपर्ने छ । तर चितवन २ मा रवि लामिछानेको पद गएकाले यो पटक २६,३१५ मत ल्याउने उम्मेदवार निर्वाचित हुनेछन् । कुनै पनि उम्मेदवारले यति मत प्राप्त नगरे सबैभन्दा धेरै मत ल्याउने दुई उम्मेदवारबीच फेरि प्रतिस्पर्धा गर्ने र बहुमत प्राप्त ल्याउने उम्मेदवार निर्वाचित हुने व्यवस्था छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप