शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएका परिवारलाई प्रदेश सरकारको एक लाख

मङ्गलबार, १६ फागुन २०७९, १२ : ५८
मङ्गलबार, १६ फागुन २०७९

मकवानपुर । बागमती प्रदेश सरकारले जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएका व्यक्तिको परिवारलाई जनही एक-एक लाख रुपैयाँ क्षतिपूर्ति दिने भएको छ । प्रदेश सरकारको मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएका परिवारलाई क्षतिपूर्ति दिने निर्णय गरेको हो ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयको प्रस्तावमा मन्त्रीपरिषद्को बैठकले जङ्गली हात्तीको आक्रमणमा परि ज्यान गुमाएका परिवारलाई क्षतिपूर्ति दिने निर्णय गरेको हो ।

गत साता जङ्गली हात्तीको आक्रमणबाट मकवानपुरमा २ जना र सिन्धुलीमा एक जनाको मृत्यु भएको थियो । जङ्गली हात्तीको आक्रमणबाट सिन्धुली कमलामाई नगरपालिका–१३ रानीबासका ४१ वर्षीय दण्डपाणि पौडेल, मकवानपुर मनहरी–४ का ६४ वर्षीय राधा अधिकारी र बकैया–५ का सन्तलाल माझीको मृत्यु भएको थियो ।

मन्त्रिपरिषद् बैठकले मृतकका परिवारजनलाई राष्ट्रिय निकुञ्जबाट प्राप्त हुने १० लाख रुपैयाँ क्षतिपूर्ति रकम दिलाउन पहल गर्ने निर्णय समेत गरेको छ । हात्तीको आक्रमणबाट भौतिक क्षति भएको विषयलाई सम्बोधन गर्न आन्तरिक मामिला तथा कानुन मन्त्रालयले तथ्याङ्क सङ्कलन गरी आगामी बैठकले निर्णय गर्ने सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले जानकारी दिए ।

त्यस्तै बैठकले प्रदेश सुशासन केन्द्रका निर्देशन विमल पोखरेलको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको उनले बताए । बैठकले कृषि मन्त्रालय मार्फत स्थानीय तहमा कार्यान्वयन हुने गरी विभिन्न शीर्षकमा ३ करोड रुपैयाँ बजेट पठाउने निर्णय भएको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप