शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
कला अभिलेखीकरण

कहिले सुरु भयो भित्तेचित्र ?

शनिबार, २० फागुन २०७९, १९ : ५१
शनिबार, २० फागुन २०७९

भित्तेचित्र भन्नाले भित्तामा चित्र कोर्नु, पोत्नु, बनाउनु भन्ने बुझिन्छ । पोत्नु भनेको चित्रकलाको प्रारम्भिक शुभारम्भ हो भने कोर्नु भनेको बिस्तारै लो र हाई रिलिफ हुँदै मूर्तिकलातर्फ जाने तर्खर हो । रेखाहरूको प्रधानता बढ्दै गएर रेखांकन (ड्रइङ) अनि यसैमा रङहरू भरिन थालेसँगै चित्रकला (पेटिङ)को स्वरूप र नामाकरण विकसित भएको देखिन्छ । 

सदियौँदेखि प्रचलनमा रहेको भित्तामा चित्र बनाउने प्रथा आजसम्म टुटेको छैन । यसका विषय परिवर्तन भएका छन्, स्वरूप र माध्यम फरक भएका छन्, भित्तेचित्र बनाउने तरिका र उद्देश्य फरक भएका छन्, यसको नामाकरणमा समेत परिवर्तन आएको छ । तथापि भित्तेचित्र चित्र बन्न छाडेको छैन । 

कला मान्छेसँगै उठबस गर्दछ । मान्छे र समाजबाट कला कहिले पनि अलग्ग थिएन, हुनै सक्तैन । पुरानो मान्यता अनुसार कला समाजको ऐना हो र नयाँ मान्यता अनुसार कलाले समाजका सवाललाई उठाउँछ । तर यी दुवै मान्यताको मूल तत्त्व र आसयमा खासै फरक देखिएको छैन । यसरी कला मान्छेसँग जोडिने क्रममा रहिरहँदा भित्तेचित्र पनि नितान्त मान्छेकै वरिपरि घुमेको देखिन्छ । 

पछिल्लो कालमा भित्तेचित्र लोककलासँग बढी मात्रामा आबद्ध देखिन्छ । संस्कृतिसँग जोडिँदा यो कला पूजाकोठासम्म पुगेको छ । समुदायका संस्कार–संस्कृतिका अवयव, सामाजिक मूल्य–मान्यतासँग यो गहिरोसँग गाँसिदै आएको छ । काठमाडौं उपत्यकाभित्रका नेवार समुदायमा घर र मन्दिरको मूलद्वारको माथिल्लो भागलाई घेरेर कलात्मक चित्र बनाउने परम्परा छ । कतिपय मैथिली र थारु समाजमा घरको बाह्य भाग (भित्ता)लाई कलात्मक बुट्टाद्वारा सजाउने परम्परा देखिन्छ । समुदायसँग भित्तेचित्र यसरी संलग्न हुँदा कतिपयको यो पहिचान बन्न गएको देखिन्छ । भित्तेचित्रको यही विशेषताले गर्दा आ–आफ्नो ठाउँ, गाउँ अनि राष्ट्रले समेत एक अलग्ग पहिचान पाउने काम भएको देखिन्छ । 

334682164_2493286707494060_8766701867607939406_n

कलामा दृश्वालोकन हुने फिगरेटिभ आर्ट वा नन् फिगरेटिभ आर्ट (प्रतीक, विम्बका रूपमा)ले कला र धर्मको दर्शन, आस्था, विश्वास आदिलाई जनाउँछ । यस्ता फिगरेटिभ वा ननफिगरेटिभ आर्ट घरका भित्तामा बढी मात्रामा बनाउने प्रचलन बढेको देखिए पनि यसैमा सीमित भएको भने छैन । बरु अझ व्यापक हुँदै यो भुइँ,र सिलिङ हुँदै सडकसम्म पुगेको छ । घर बाहिरको पर्खालमा गरिने कलालाई ‘वालपेटिङ’, घरबाहिरको सडकमा गरिनेलाई ‘स्ट्रिट आर्ट’ आदि नामाकरणका साथ यो विकसित भएको देखिन्छ । धर्ममा यसको प्रवेशको तरिका अलि अलग्ग ढंगको छ । खासगरी भक्तिभाव जगाउन, धर्मगाथालाई आम मान्छेसम्म प्रभावपूर्ण ढंगले पु¥याउन भित्तेकला धर्मको अभिन्न अंग भई मठमन्दिर, स्तुपा, विहारमा आदिमा पनि आएको छ । यस्तै सिँगारका लागि पनि  भित्तेचित्रको प्रयोग हुन थालेको छ । 

ऐतिहासिकता 

पूर्वऐतिहासिक कालमा चित्र बनाउनका लागि आजको जस्तो कागज वा कपडा पाइँदैनथ्यो । पछि (ईसाको १०औँ वा ११औँ शताब्दीदेखि) काठ र पातमा ग्रन्थचित्र बनाउने प्रचलन शुभारम्भ भएको थियो । यस्ता चित्र भोजपत्र र ताडपत्रमा बनाइन्थ्यो वा भनिन्थ्यो । 

पूर्वऐतिहासिक काल (अपर प्यालियोलिथिक एज, जुन ३० हजार वर्षपूर्व अस्तित्वमा थियो)बाट कला बन्न उत्प्रेरित भयो भन्ने भनाइ जेफ्री हिन्डलेको छ । यही अपर प्यालियोलिथिक एजको कला नै कलाको सबैभन्दा पुरानो रूप हो । यसैलाई पूर्वऐतिहासिक कला र सबैभन्दा पुरानो कलाको रूप भनिएको छ । जुन कला युरोप र दक्षिणपूर्वी एसियामा ४० हजारदेखि ३५ हजार वर्षअघि उर्वर अवस्थामा रहेको विश्वास गरिन्छ । अझ कसैकसैले अपर प्यालियोलिथिक एजलाई आइस एजको उपमा दिँदै ४० हजार वर्षदेखि १४ हजार वर्षपूर्व रहेको भनेर पनि दाबी गरेका छन् । यही प्राचीन सम्पदा र कलाको विषयमा लेखिएको ‘वल्ड आर्ट ट्रिजेज’ पुस्तकलाई जेफ्रीले सम्पादन गरेका छन् । पूर्वऐतिहासिक कलालाई एउटा कालखण्डको रूपमा व्याख्या–विश्लेषण गर्दै जेफ्रीले यही एजबाट आधिकारिक रूपमा कलाको विजारोपण भएकोे दाबी गरेका छन् । यही पुस्तकमा मानवको शुभारम्भको बिन्दु ‘स्टोन एज’लाई विस्तारसँग वर्णन गरिएको छ । उनले लोअर प्यालियोलिथिक एज र अपर प्यालियोलिथिक एज भनी विभाजन समेत गरेका छन् । 

भित्तेचित्रको प्राचीनता केभ पेन्टिङ (गुफा कला)सम्म पुग्छ । गुफाहरू पनि दुई प्रकारका छन्– प्राकृतिक र मानव निर्मित (कृत्रिम) । गुफाभित्र बनाइएका चित्र कति साधारण ज्यामितीय फर्ममा देखिन्छ । गुफाभित्र पाइएको एउटा अलि अनौठो प्रकारको चित्र, जुन पछिल्लो कालमा आएर बन्यो, यहाँ उल्लेख गर्न अझ सान्दर्भिक हुन जान्छ । 

७३०० बिसी पुरानो मानिएको यो चित्रमा हातका पन्जा (फिंगर ट्रेसिङ) देखिन्छ । पछि ७०० शताब्दीसम्म यसरी चित्र बनाउने परम्परा कायम भएको थियो भन्ने विद्वानको राय छ । विद्वान् र पुरातात्त्िवक विज्ञले त्यतिवेला यस्ता कला कसरी कुन टेक्निकबाट बन्थे भनी केही प्राविधिक नाम दिएका छन्, जस्तो ः फिंगर ट्रेसिङ, मोडेलिङ इन क्ले, इन्ग्राभिङ, वास रिलिफ स्कल्पचर, ह्यानड स्टेन्सिल, पेन्टिङ आदि । 

त्यसबेलाको चित्रमा खासै रङ प्रयोग भएका छैनन् भन्दा पनि हुन्छ । त्यसबेला हल्का देखिएका रङ प्राकृतिक, नैसर्गिक र शाश्वत नै हुन् । यद्यपि सुरुको बेलादेखि नै गुफामा पाइएका यस्ता चित्रमा दुई–तीन रङभन्दा बढी प्रयोग भएको देखिँदैन, करिब १५००० देखि ९००० बिसीमा बनेको भनिएको फ्रान्सको लासकस गुफामा रहेको चित्रले यस्तै संकेत गर्छ । कालो रङले रेखांकन गरी चित्र बनाउँदा रंगीन भए जस्तो भ्रम हुने हुन्छ । 

पछिल्लो कालमा आएर जब पात र रुखको बोक्रामा चित्र बनाउन थालियो, चित्रलाई चाहिने रङहरू यस्तै प्राकृतिक ढुंगामाटो आदिबाटै बनाउने गरिन्थ्यो । यस्ता चित्रमा विशेषगरी खैरो, अलिअलि रातो, पहेँलोपनाकोे दबाब रहेको देखिन्छ । त्यतिबेला साँढे, जरायो, मृगजस्ता देखिने लामोलामो सिङ भएका जनावरको चित्र बढी मात्रामा कोरिएको देखिन्छ । जसमा बाइसन (अर्ना), घोडा, ओरक्स (जंगली गोरु), मृग आदि छन् । यसबाहेक सिकार गरिरहेका धनुषवाणसहितका मान्छेका आकृति पनि देखिन्छन् ।

अस्ट्रेलियाको क्विन्सल्यान्डस्थित रक आर्टको अवलोकन गरियो भने यो एक प्रिन्ट मेकिङ कला जस्तो फर्ममा देखिन्छ– उभिइरहेको मान्छेको अद्भूत रूप, जनावर, हातका पन्जा आदिले गर्दा त्यहाँको कला आज भनिने आधुनिक कलाको रूपभन्दा फरक देखिँदैन । कुदिरहेको, उफ्रिरहेको जस्ता जनावर देखिनुले त्यतिबेला नै कलाकारले कलालाई गतिशील, जीवन्त बनाउन खोजेको प्रमाणित गर्दछ । १५औँ शताब्दीमै माइकेल एन्जेलोले भन्ने गर्दथे रे– कला त यस्तो हुनुपर्छ, जुन कलाबाट मान्छे सुतेको हो वा मरेको हो भन्ने दर्शकले सजिलै छुट्ट्याउन सकून् ।     

भित्तेचित्रको प्राचीनता खोज्नुपर्दा, झन्डै ४० हजार वर्षपूर्व पुग्नुपर्ने हुन्छ । इन्डोनेसियाको सुलावेसीमा प्राप्त भएको चित्र नै यसको आधारबिन्दु हो । गुफाभित्र बनेकाले यसलाई सबैले बुझ्ने भाषामा गुफाचित्र भन्ने प्रचलन छ । कसैकसैले यसलाई ४५ हजार वर्ष पुरानो भनेका छन् । मूलतः यो सुँगुरको चित्र हो । 

कलाको स्वरूपको सन्दर्भमा यो चित्र फिगरेटिभ आर्टको रूपमा रहेको छ । यसअघि आइबेरियन पेनिन्सुलामा नन फिगरेटिभ आर्टको रूपमा पाइएको चित्रलाई ६४ हजार वर्ष पूर्वको आँक्ने गरिन्छ । यो आर्ट सिम्बोलको रूपमा रहेको थियो । 

पुरातत्त्वमा रक आर्टको सन्दर्भ पहिला आउँछ । जसलाई मान्छेले प्राकृतिक कडा चट्टानमा बनाउने गर्थे । हावापानी, वातावरणले गर्दा सदियौँदेखि कमलो माटो, ढुंगा आदि बिस्तारै बग्दै गएर कडा ढुंगा मात्र रहन्छ । कालान्तरमा खाल्टो, सुरुङजस्तो बन्दै गुफाको अवस्थामा परिणत हुन्छ । आद्यकालमा मानिस, जीवजन्तु आश्रयका लागि यस्तै गुफामा बस्दथे । त्यस वेला भाषा, लिपि नहुँदा मान्छेले आफ्ना मनका भावना व्यक्त कोरकार गर्ने परम्परा बसेको देखिन्छ । चट्टानमा बनाइएको भएर यसलाई ‘रक आर्ट’ भनिएको हो । यसैको अर्को नाम गुफा चित्र हो, यसलाई प्यारिएटल आर्ट भन्ने चलन छ । 

कलाविद् तथा पुरातत्वविद्ले लगभग यो रक आर्टको प्राचीनतालाई ४० हजार वर्षपूर्व पु¥याएका छन् । अझ पछिल्लो खोजबाट रक आर्ट ६५ हजारदेखि ७० हजार वर्ष पुरानो पाइएको छ । यसले ऐतिहासिक काल सुरु हुनुअघि अर्थात् पूर्वऐतिहासिक कालमै यस्ता कलाको जग बलियो गरी बनिसकेको प्रमाणित गर्छ । यही चित्रको विकसित रूप नै लिपिको प्रारम्भ बिन्दु हो भन्ने गरिन्छ । यसको प्रमाण हो, ब्राह्मी लिपि र खरोष्टि लिपि । यी लिपि ईसाको तीन सय वर्षपूर्व (अशोककालीन समयमा) देखापरेको थियो ।

अहिले लिपि लिपिविज्ञले पढ्न सकेकाले ब्राह्मी लिपिलाई साउथ एसियातिर विकसित भएको लिपिको पूर्वज भनेर चिनिन्छ । यसैबेला देखापरेको खरोष्टि लिपि अझै पनि पढ्न सकिएको छैन । यसैले यसलाई लिपि हो या चित्र भनी छुट्ट्याउन सकेको देखिँदैन । लिपि र अक्षर आदिको प्रसंगले चर्चा पाउँदै आएपछि आधुनिक कालमा समेत एउटा नौलो कलाको रूपमा क्यालिग्राफी आर्ट पनि देखिन आएको छ । 

327629887_579805870320423_3905565803557598215_n

पहिलेपहिले चित्र कोर्दा मान्छेले आफूले खाने जनावर र चराचुरुंगी बढी आएका छन् । मानवको चित्र पनि कोरिएको पाइन्छ । केही विद्वान् विदुषीले पुराना कलालाई धर्मसँग जोडिदिँदा थप अन्योल सिर्जना भएको छ । जेफ्रीले भनेका छन्– धार्मिक आवश्यकताका कारण अनि आफ्नो इच्छा पूर्तिका लागि मान्छेले कला बनाउँथे । यसले एउटा अन्योल सिर्जना गरिदियो । किनकि त्यस बखत विभिन्न खाले जनावर र सिकार खेलिरहेका चित्रभन्दा प्रत्यक्ष देखिने गरी देवीदेवताका चित्र बनेको देखिँदैन । यस्ता चित्रलाई धर्मसँग कसरी जोड्न सकिन्छ भनेर प्रश्न उठ्छ नै । पछि लोककलाको स्पष्ट पहिचान भइसकेपछि पनि सेक्रेड’ र सेकुलर आर्ट भन्ने प्रचलन अद्यापि छँदै छ । सबै कला धार्मिक हुँदैनन् भन्ने यसको आसय पनि हो । 

कला इतिहासमा केभ पेन्टिङलाई नियाल्दा, ईसापूर्वको पहिलो शताब्दीमा शुभारम्भ भएको र पाँचौँ शताब्दीमा घनीभूत रूपमा विकास भएको अजन्ता, एलोरा गुफाका भित्तेचित्रसम्म पुग्नुपर्ने हुन्छ । यसबखत भारतको यस क्षेत्रको वरिपरि धेरै साना–ठूला गुफा प्राप्त भएका छन् । विशेष गरेर अजन्ता गुफाकै २९ वटा साना–ठूला गुफाहरू र यसभित्र रहेका सयौँ यस्ता अति आकर्षक र मनमोहक भित्तेचित्र प्रकाशमा आएपछि यो भित्तेचित्रको विशेष चर्चा हुन थालेको थियो । 

कलाकै मात्र सन्दर्भ जोड्नुपर्दा, करिब ३५०० वर्षअगाडि देखापरेको सिन्धुघाँटीको सभ्यतामा पुग्नुपर्ने हुन्छ । जहाँ त्यस बखतका कला, सम्पदा, वास्तुकलाका अनेक नमुना (व्यवस्थित सहरको भग्नावशेषको रूपमा) देखापरेको थियो । गुफाचित्रको मात्र कुरा गर्दा, मुम्बईको नजिक रहेको अजन्ता गुफालाई सम्झनुपर्ने हुन्छ । जहाँ विशेष गरेर बौद्ध कलाहरू प्रचुर मात्रामा बनेका छन् । त्यस बखत भारतदेखि दक्षिणपूर्वी एसियामै बौद्ध धर्मको प्रभाव रहेको आकलन गर्न सकिन्छ । विशेषगरी जातक कथालाई लिएर, भगवान बुद्धको जीवनीमा आधारित रहेर, नर्तकी र सुन्दर महिलाको हाउभाउ व्यक्त गरेर बनेका यस्ता चित्रले कलाको इतिहासलाई एउटा नवीन धारमा प्रवेश गराएको थियो ।  

फ्रेस्को र म्युरल 

भित्तेचित्रको प्रसंगमा फ्रेस्को, म्युरल वा वालपेन्टिङको नयाँ फर्मको चर्चा गर्नुपर्ने हुन्छ । अहिले कलाको आधुनिक खण्डमा आइपुग्दा देखापरेको ग्राफिटी कलाको प्रसंग पनि यही भित्तेचित्र वा कलासँग जोडिएर आएको छ । अब पुरानो भित्तेचित्र र अहिलेका यस्ता कलालाई वा एकापसको नातालाई कसरी जोड्न सकिएला ? यसमा थप अध्ययन आवश्यक छ । यी सबैलाई नेपालीमा भित्तेचित्र नै भन्ने प्रचलन हुँदा यस विषयमा थप खोज र अनुसन्धानको खाँचो बढी देखिन्छ ।

म्युरल आर्ट भनेको ग्राफिक आर्ट हो, हिजोआज यसलाई ग्राफिक कम्युनिकेसन भन्ने पनि प्रचलन छ । यो एउटा यस्तो पिस हो, जुन वालमा, सिलिङमा अथवा स्थायी संरचनामा बनाइएको हुन्छ । व्यवसायको रूपमा फस्टाएको यो कलाको विधा मूलतः कलात्मक डिजाइनको मुख्य रूप हो । सिर्जनशील हुँदाहुँदै यो एक व्यावसायिक कला हो । यो कला कुनै पनि वस्तु, इभेन्ट, कार्यक्रम आदि माथि निर्भर हुँदै अगाडि बढ्छ, यसले कुनै पनि वस्तुको एस्थेटिक्स पक्षलाई उजागर मात्रै गर्दैन, यसको सुन्दर पक्ष, गुणात्मक पक्षलाई अगाडि ल्याएर वस्तुको बिक्रीमा सकारात्मक असर पार्छ । 

मुख्यतः म्युरल आर्ट विभिन्न टेक्निक (जस्तै ः फ्रेस्को, मोजाइक, ग्राफिटी, म्यारोफ्लज आदि) मा विभाजित भएर देखापरेको छ । यसमध्ये फ्रेस्को सबैभन्दा बढी चलनचल्तीमा आएको शब्द हो । १५औँ, १६औँ शताब्दीमा बढी मात्रामा यसको प्रलनमा देखिए पनि यसअघि नै यसको प्रचलन रहेको भन्ने गरिन्छ । भित्ताको ‘लाइम प्लास्टर’ अर्थात् चिसै, आलै अवस्थाको प्लास्टरमा रङ मिसाएर चित्र निर्माण गरिन्छ, जुन स्थायित्व हुन्छ । प्लास्टर सुकेपछि रङ आदि लगाएर बनाइएको चित्र आफैँ पनि प्लास्टरको एक भाग भई यसैमा घुलमिल भई स्थायी रूपमा भित्तामै रहने हुन्छ । जसले गर्दा सयौँ वर्षसम्म यसलाई स्थायित्व कायम गर्छ । 

272784761_666463001160186_8658758737244907619_n

मोजाइक अलि फरक टेक्निक हो, यसमा स्टोन, ग्लास र सिरामिक्सका टुक्रालाई भित्ता वा जमिनको सतहमा टाँसेर भर्ने गरिन्छ । यस्ता टुक्रा आकारमूलक रूप वा अमूर्त रूप (बुट्टाजस्तो) मा पनि बन्ने वा देखिने हुन्छ । यो कला रोमनकालमै पपुलर रहेको भन्ने गरिन्छ । 

म्यारोफ्लज प्रविधि अर्थात् क्यानभासमा बनिसकेको चित्रलाई भित्तामा टाँसेर बनाइने प्रविधि । पछि सुकेर यो एक प्रकारको कडापनमा परिवर्तन भई भित्तामै बनेको जस्तो देखिन जान्छ । ग्राफिटी भनेको एउटा आर्टको फर्म (सिर्जनात्मक कलाको सन्दर्भमा) हो । यसलाई सामान्य अक्षरदेखि किसिमकिसिका रूपमा बनाउने गरिन्छ । सामान्यतः कुनै पनि बाह्य भित्ता, स्पेसमा कसैसँग अनुमति नलिईकन बनाइने यो कला एक प्रकारले कला आन्दोलनको रूपमा पनि आएको देखिन्छ । बाहिरबाट सिधै पेन्ट गरेर यस्ता कला बनाउने गरिन्छ । यो ग्राफिटी आर्ट अहिले बढी प्रचलनमा रहे पनि प्राचीन इजिप्ट, ग्रिस र रोमनमा त्यतिवेला नै प्रचलनमा रहेको भन्ने गरिन्छ । 

नेपालमा भित्तेचित्र

नेपालको सन्दर्भमा भित्तेचित्रको प्रसंग उठ्दा चिनियाँ वृत्तान्तको सहारा लिएर भन्ने गरिन्छ– सातौँ शताब्दीमा बनेको कैलासकुट भवनका भित्ता चित्रले भरिएका हुन्थे । यसभन्दा पहिला हिमालपारिका ठाउँमा देखिएको रक आर्टको प्रसंग पनि अहिले थोरबहुत आउन थालेको छ । 

नेपालमा भित्तेचित्रको आधिकारिक प्रमाण खोज्दा ‘आर्ट अफ नेपाल’ पुस्तकमा डा. अमिता रायले उल्लेख गरेको प्रसंगलाई लिनुपर्ने हुन्छ । यस आधारमा जयस्थिति मल्लको पालामा बनेको भित्तेचित्र नै प्रथम भित्तेचित्र मान्ने गरिन्छ । यसपछि उनको छोरा ज्योति मल्ल र नाति यक्ष मल्लको पालमा पनि यस्ता भित्तेचित्र बन्ने गरेको उनले उल्लेख गरेका छन् । हुन त कलाविद् धनवज्र वज्राचार्यले लिच्छविकालीन चारुमतिको शिलालेखमा एक ठाउँमा भित्तेचित्रको प्रसंग उठेको सन्दर्भ ल्याएका छन् । यसको भौतिक रूपमा अस्तित्व आजसम्म पाइएको छैन । 

(मल्ल कलाकार र कला समीक्षक हुन् ।)  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मुकेश मल्ल
मुकेश मल्ल
लेखकबाट थप