बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

अष्ट्रेलिया, अमेरिका र बेलायतबीच पनडुब्बी सम्झौता हुँदै

बिहीबार, २५ फागुन २०७९, १७ : ४६
बिहीबार, २५ फागुन २०७९

वासिङ्टन । प्रशान्त क्षेत्रमा चीनको बढ्दो प्रभावलाई दृष्टिगत गरी अष्ट्रेलिया, अमेरिका र बेलायतका शीर्ष नेताबीच आगामी साता यहाँ भेटवार्ता हुने भएको छ । सुरक्षा र विदेश नीतिबारे छलफल गर्ने उद्देश्यले हुन लागेको उक्त भेटवार्तापछि त्रिदेशीय परमाणु पनडुब्बी सम्झौता हुने अपेक्षा गरिएको सम्बद्ध अधिकारीहरूले बताएका छन् ।  अष्ट्रेलिया, अमेरिका र बेलायतबीच १८ महिनासम्म वार्ता भएको थियो । आगामी वार्तामा अष्ट्रेलियाले आठवटा आणविक पनडुब्बी प्राप्तिको योजना प्रस्तुत गरिने बताइएको छ । प्रधानमन्त्री एन्थोनी अल्बानिजले आफ्नो देशको इतिहासमा आणविक पनडुब्बी प्रतिरक्षा क्षमता अभिवृद्धिका निम्ति महत्वपूर्ण हुने बताएका छन्  ।

पनडुब्बी सम्झौता अष्ट्रेलिया, संयुक्त अधिराज्य र अमेरिका बीचको नयाँ क्षेत्रीय सम्झौताको नयाँ हिस्सा हो जसलाई एयुकेयुएस पनि भनिन्छ । राष्ट्रपति जो बाइडेनले आगामी सोमबार क्यालिफोर्नियाको सान डिएगोमा अल्बानिज र बेलायतका प्रधानमन्त्री ऋषि सुनकसँग एयुकेयुएससम्बन्धी छलफल गर्ने बताएका थिए । राष्ट्रपति कार्यालयले पनि उनीहरूसँग बेग्लाबेग्लै द्विपक्षीय वार्ता हुने जनाएको छ । अष्ट्रेलिया र संयुक्त अधिराज्यले पनि एयुकेयुएस बैठकको घोषणा गरेका छन् । 

आगामी सोमबार नै बेलायत सरकारले सुरक्षा, प्रतिरक्षा र विदेश नीतिसम्बन्धी एकीकृत समीक्षाको अद्यावधिक विवरण सार्वजनिक गर्ने प्रधानमन्त्री सुनकका प्रवक्ताले लण्डनमा जानकारी दिएका छन् । युरोपेली सङ्घबाट बाहिरिएपछि बेलायतले आफ्नो विदेश नीतिलाई पुनः समीक्षा गरेको छ । बेलायतले त्रिदेशीय सम्झौतामा कुनै पनि राष्ट्रको प्रतिद्वन्द्वी बन्ने उद्देश्य निहित नभएको स्पष्ट गरेको छ । यद्यपि यसलाई चीनको बढ्दो प्रभाव र सैन्य विस्तारको गतिलाई लिएर पश्चिमा मुलुकको प्रतिकार्यका रूपमा हेरिएको छ । 

पनडुब्बी सम्झौताको विपक्षमा रहेको चीनले आफूलाई पाखा लगाउन पश्चिमा मुलुकले नियोजित रूपमा परियोजना अघि बढाएका भन्दै विरोध जनाएको छ । अमेरिकासहितको नयाँ गठबन्धनप्रति बेइजिङले प्रारम्भदेखि नै आपत्ति जनाउँदै आएको छ । नयाँ गठबन्धनलाई चीनले क्षेत्रीय शान्ति, स्थायित्व र स्थिरताका निम्ति अत्यन्त गैरजिम्मेवारपूर्ण कदम भन्दै वासिङटन, क्यानबेरा र लण्डनको निन्दा गरेको छ । क्षेत्रीय शान्ति र स्थायित्वमा गम्भीर आँच पुग्ने जनाउँदै बेइजिङले सम्झौताबाट अन्तर्राष्ट्रिय आणविक अप्रसार प्रयासमा तुषारापात भएको बताएको छ । 

अष्ट्रेलियाले प्राप्त गर्ने पनडुब्बी बेलायत वा अमेरिकामा निर्मित हुने भन्ने केही खुलाइएको छैन । कुन देशको प्रविधि अष्ट्रेलियाले भित्र्याउन खोजेको हो भन्नेबारेमा स्पष्ट भएको छैन भने कहिलेदेखि ती पानीमा सञ्चालन हुनेछन् भन्ने पनि स्पष्ट भएको छैन । यद्यपि केही अमेरिकी विधायकहरूले अमेरिकामा निर्मित पनडुब्बी अष्ट्रेलियाले पाउने बताएका छन् । अमेरिकी रक्षा मन्त्रालयले पनि यथाशक्य चाँडो अष्ट्रेलियालाई पनडुब्बी उपलब्ध गराइने जनाएको छ ।  आणविक शक्तिबाट सञ्चालन हुने पनडुब्बी लामो समयसम्म लामो दूरीमा जान सक्छन् । पनडुब्बीमा अत्याधुनिक क्षेप्यास्त्रलगायत हातहतियार हुनेछन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप