शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

नगरप्रमुखले जनप्रतिनिधिलाई झुक्याएको भन्दै बजार बन्द

बिहीबार, १७ फागुन २०७४, ०९ : १२
बिहीबार, १७ फागुन २०७४

नगरपालिकाको केन्द्र सारिएको विरोधमा तालाबन्दी 

डोल्पा - डोल्पा जिल्लाको ठूलीभेरी नगरपालिकाको केन्द्र सारिएको भन्दै नगरपालिकाको कार्यालयमा आज विहान ७ बजे तालाबन्दी गरिएको छ । 

पहिलेदेखि नै नगरपालिकाको केन्द्र दुनैमा कायम गरिए पनि नगर प्रमुख र जनप्रतिनिधिले झुक्याएर रातारात केन्द्र जुफालमा सारेको विरोधमा दुनैका चारवटा वडाका जनताले जिल्ला प्रशासनमा निवेदन पेश गरेको जिल्ला समन्वय सिमितिका उपसंयोजक नरबहादुर बुढाले जानकारी दिए । 

जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयलाई दिएको निवेदनमा भनिएको छ, ‘नगरसभामा नभएको निर्णयमा कीर्ते गरेर नगरपालिकाको केन्द्र सारिएकाले तत्काल जनताको माग सम्बोधन गरिनुपर्ने उल्लेख गरिएको छ ।’ 

जनप्रतिनिधिसहित करिब ६० जनाको हस्ताक्षरमा जिल्ला प्रशासन र प्रहरी कार्यालयमा निवेदन पेश गरिएको २ नं का वडाध्यक्ष देवी रोकायाले बताइन् । 

नगरपालिकाको पहिलो नगरसभाले निर्णय गरेअनुसार नगरपालिकाको केन्द्र सरेको नगरप्रमुख गणेशबहादुर शाहीले जानकारी दिए । 

उनका अनुसार जनतालाई जुफालबाट नै सेवा प्रवाह सहज हुने भएकाले पनि नगरसभाले निर्णय पारित गरेको हो । 

नगरप्रमुखले जनप्रतिनिधिलाई झुक्याएर केन्द्र सारेकाले आज दुनै बजार बन्द गरिने र दुनैबाट आन्तरिक रुपमा चल्ने गाडी पनि बन्द गरिने जिल्ला समन्वय समितिका संयोजक शेरबहादुर बुढाले जानकारी दिए । 

बुधबार राजपत्रमा ३९ वटा स्थानीय तहको केन्द्र परिवर्तन भएर राजपत्रमा आएको थाहा पाएपछि ठूलीभेरी नगरपालिका–१ देखि ४ वडा सम्मका जनता आक्रोशित भएका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप