मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

माओवादी केन्द्र र राप्रपाका नेताबीच ‘वाकयुद्ध’

बिहीबार, ०९ चैत २०७९, ११ : ४८
बिहीबार, ०९ चैत २०७९

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा झण्डै डेढ महिना रहेर बाहिरिएको राष्ट्रिय प्रजातन्त्र पार्टी पछिल्लो समय सरकार र नेकपा माओवादी केन्द्रप्रति आक्रामक हुन थालेको छ ।

माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डकै नेतृत्वको सरकारमा सहभागी भएर बाहिरिए लगत्तै राप्रपाका नेता तथा कार्यकर्ताहरु विभिन्न माध्यमबाट सरकार र माओवादी केन्द्रको नेतृत्वविरुद्ध अभिव्यक्ति दिइरहेका छन् ।

‘प्रचण्ड’ को नेतृत्वमा सरकार गठन भएको करिब एक महिनापछि राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनसहित तीन जना मन्त्री र एक राज्यमन्त्री सरकारमा सामेल भए । मन्त्रिपरिषद्ले पूर्णता नपाउँदै कानुन मन्त्री एवं राप्रपाका नेता ध्रुवबहादुर प्रधानले संघीयता खारेज गर्न आफूहरु सरकारमा सहभागी भएको अभिव्यक्ति दिन थालेपछि विवाद सुरु भयो ।

सरकारमा सहभागी भएरै प्रधानले संघीय लोकतान्त्रिक गणतन्त्रको खुला विरोध गर्न थालेपछि प्रधानमन्त्री प्रचण्डले स्पष्टीकरण सोध्ने उद्घोष गरे । प्रधानमन्त्रीले स्पष्टीकरण सोध्ने मौका नपाउँदै राप्रपा सरकारबाटै बाहिरिएपछि त्यो विषय सेलायो । अहिले राप्रपा प्रतिपक्ष बेन्चमा छ ।

प्रतिपक्ष बेन्चमा पुगेपछि राप्रपाका नेताहरु सरकार र माओवादी केन्द्रविरुद्ध विभिन्न विषयमा आलोचनात्मक टिप्पणी गर्न थालेका छन् ।

चैत ५ गते सत्य निरुपण तथा मेलमिलाप सम्बन्धी संशोधित विधेयक संसदमा पेस भयो । संसदमा बोल्दै राप्रपाका सांसद ज्ञानबहादुर शाहीले गैर न्यायिक हत्या, जघन्य अपराधलाई उन्मुक्ति दिनेगरी ऐन ल्याएको भन्दै फिर्ता लिन माग गरे ।

पीडकलाई उन्मुक्ति दिने र पीडितलाई मिलापत्रको नाममा अलपत्र छोड्ने गरी संविधान र सर्वोच्च अदालतको आदेशविपरीत सो विधेयक आएको भन्दै उनले सरकारले त्यसलाई फिर्ता लिनुपर्ने बताए ।

लगत्तै संसदमा माओवादी सांसद माधवप्रसाद सापकोटाले शाहीको अभिव्यक्तिको प्रतिवाद गरे । शाहीको अभिव्यक्तिलाई लिएर माओवादी नेताहरुले सामाजिक सञ्जालमा समेत चर्को आलोचना गरे ।

माओवादी निकट योङ कम्युनिस्ट लिग (वाइसीएल)का अध्यक्ष सुवोध शेर्पालीले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै शाहीलाई आफ्नो सीमा रहेर बोल्न चेतावनी दिए । ‘संविधानको मर्म, भावना र शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने सरकारको योजनाका विरुद्ध संसदमा ज्ञानेन्द्र शाहीले छनौट गरेको शब्द र अभिव्यक्तिले द्वन्द्वलाई न्यूनीकरण होइन, थप विवादास्पद बनाइ मुलुकलाई थप अस्थिर बनाउने  निश्चित छ,’ शेर्पालीले भनेका छन् ।

माननीयजस्तो व्यक्तिको यस्तो लज्जापूर्ण अभिव्यक्तिको जति निन्दा गरे पनि अपुग हुने उनको भनाइ छ । ‘गणतन्त्रको तलब भत्ता खाएर आफ्नो जिम्मेवारी र हैसियतभन्दा बाहिर नबोल्न शेर्पालीले शाहीलाई सुझावसमेत दिएका छन् । ‘गणतन्त्र नचाहिने, गणतन्त्रका पिता नचाहिने तर युद्ध र आन्दोलनबाट स्थापित यही संविधान अनुसार माननीय बन्नचाहिँ कुनै अप्ठ्यारो नहुने ? विचार गर्नु समयको रफ्तार भन्दा मनोगत बनेर बेहोसी बन्दा उत्पन्न परिणामको तेजले तपाईलाई पूर्ण होसमा लिँदा समयले निकै टाढा पु¥याइसकेको नहोस्,’ उनले भनेका छन् ।

माओवादी र राप्रपाबिच जुहारी चलिरहेकै बेला गत मंगलबार बानेश्वरको एक कार्यक्रममा बैंकको ब्याज मिनाहाको मागसहित युवाहरुले प्रदर्शन गर्दा प्रहरीले एक युवाको मुख थुनेको तस्बिर भाइरल भएपछि विवाद थप चर्कियो ।

बानेश्वर घटनालाई लिएर एमालेसहित राप्रपाका नेताहरुले प्रधानमन्त्री प्रचण्डसहित माओवादीको चर्को विरोध गरेका छन् । लोकतन्त्रमा अभिव्यक्ति स्वतन्त्रता हुने भए पनि माओवादी नेतृत्वको सरकार हुँदा जनताको मुख थुनिएको भन्दै उनीहरुले आलोचना गरे ।

एमालेसहित राप्रपाका नेताहरुले सो घटनालाई मुद्दा बनाएको विरोधमा माओवादीका केन्द्रीय सदस्य एवम् वाइसीएल इन्चार्ज रामप्रसाद सापकोटा ‘दीपशिखा’ले सामाजिक सञ्जाल फेसबुकबाट विरोध जनाए ।

जीवनभर निरंकुश राजतन्त्र र पञ्चायतको भारी बोकेका कमल थापा, राजेन्द्र लिङ्देन र ज्ञानेन्द्रहरुले वाक स्वतन्त्रताको कुरा गर्दा विगतमा बोलेबापत गोली हानेको र दलका नेतालाई ककनीको व्यारेकमा थुनेको अपराधको प्रायश्चित गर्नुपर्दैन भन्दै सापकोटाले प्रश्न गरे ।

बुधबार अर्को फेसबुक स्टाटस लेख्दै सापकोटाले गणतन्त्र ल्याउन लडेका योद्धाको सम्मान गर्न आग्रह गरे । ‘सदनमा प्रधानमन्त्रीका अघि तिमी अन्टसन्ट चिच्याइरहेका छौ नि, यो तिमीले भगवान मानेका राजाले दिएको अधिकार होइन, छातीमा गोली थापेर लडी ल्याएको अधिकार हो । जो तिमीले पनि उपभोग गरिरहेका छौं । तिम्रा राजाले त बोलेबापत गोली ठोक्थे ।’

आफूहरुले लडेर ल्याएको गणतन्त्रमा सबैले निर्धक्क बोल्न पाउने उनको तर्क छ । उनले भनेका छन्, ‘राजनीतिमा प्रतिस्पर्धा गर्न पाउँछन् । यसका लागि रत्तिभर योगदान नभएका तिमीहरुले इमान छ भने लाज मानीमानी बोल्नुपर्छ ।’

मानव अधिकारको नाममा जनयुद्धका घटनामात्रै सम्झनेलाई नमिता, सुमिता र मैना सुनावरको बारेमा किन नबोलेको भन्दै सापकोटाले प्रश्न गरे । ‘प्रत्येक बिहान उठेर गणतन्त्रका लागि लड्नेहरुलाई सम्झ मनदेखि, किनभने यो बोल्ने अधिकार प्राप्तिका लागि छातीमा गोली खाएका हजारौं योद्धाको सम्मान गर्दामात्रै तिम्रा सन्तानहरुले तिमीप्रति गर्व गर्छन्,’ उनले भनेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप