पत्रकारिता क्षेत्रले निरन्तर सत्ताको खबरदारी गर्नुपर्छ : अध्यक्ष पोखरेल
काठमाडौँ । नेपाली पत्रकारिताको विश्वसनीयता खस्कन थालेकाले पत्रकारिताको विश्वसनीयता अभिवृद्धि गर्ने काम गरिनुपर्नेमा जोड दिइएको छ । नेपाल पत्रकार महासङ्घ पत्रकारिता तथा आमसञ्चार प्राज्ञिक समन्वय विभागले आज यहाँ आयोजना गरेको कार्यक्रममा नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले सत्ता, शक्ति र सरकारको निरन्तर खबरदारीमा पत्रकारिता क्षेत्र सक्रिय रहनुपर्ने बताए ।
पत्रकारिताका विषयमा उठ्ने प्रश्न सुन्न र स्वीकार गर्न तयार रहेको उल्लेख गर्दै उनले सुनेका विषयलाई सुधार गरिनेसमेत प्रतिबद्धता जनाए । “पत्रकारिता क्षेत्रले उठाउने विषय विश्वसनीय हुनुपर्छ, लोकतन्त्रलाई जीवन्त बनाउन संसद्ले भन्दा ठूलो काम पत्रकारले गर्न सक्छ, पत्रकारितामा लाग्ने सङ्ख्याका आधारमा दक्षजनशक्ति छैनन्, दक्षजनशक्तिले पनि काम गरे अनुसार श्रमको मूल्य पाउँदैनन्, राजनीतिक स्थायित्व र दलका गुटगत प्रभावले पनि पत्रकारितामा प्रभाव पारेको छ”, अध्यक्ष पोखरेलले भने ।
त्रिभुवन विश्वविद्यालय, केन्द्रीय आमसञ्चार तथा पत्रकारिता विभागका प्रमुख प्रा चिरञ्जीवी खनालले सिक्ने र सिकाउने क्रम निरन्तर जारी नराखे पत्रकार ‘फेज आउट’ हुने बताए । सबैको खबरदारी गर्ने पेसामा लाग्ने पत्रकार आफैँ जिम्मेवार हुनुपर्ने उनको भनाइ थियो । “पत्रकारिता राजनीति केन्द्रितबाट व्यक्ति केन्द्रित हुँदै जान थालेको छ, विषय केन्द्रित गराउन अझै सकिएको छैन, पत्रकारितालाई विषय केन्द्रित बनाउन महासङ्घलगायत सरोकारवाला निकायको ध्यान जानुपर्छ”, प्रा खनालले भने ।
कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले युट्युबरलाई सञ्चार माध्यमका रूपमा प्रस्तुत हुने अवसर दिन लागिएको जानकारी गराए । उनले युट्युबलाई सकारात्मक माध्यमका रूपमा अघि बढाइने प्रतिबद्धता समेत व्यक्त गरे । महासङ्घको पूर्व अध्यक्षसमेत रहेका सञ्चार विज्ञ डा.सुरेश आचार्यले हामीले गरेको पत्रकारिताले समाजलाई केही दियो कि दिएन भनी हेर्नुपर्ने समय आएको बताए । समाजका समस्या जनसमक्ष ल्यादिए त्यो समाचार हुने भएकाले नेपाली पत्रकारिता त्यसतर्फ केन्द्रित हुनुपर्ने उनले बताए । सञ्चार जगतले स्वनियमनमा पनि ध्यान दिनुपर्ने विज्ञ आचार्यको भनाइ थियो ।
न्यूनतम् पारिश्रमिक निर्धारण समितिका अध्यक्ष सङ्गीता खड्काले पत्रकारिताले भित्र्याएको विकृति अन्त्यका लागि सबै एकजुट भएर लाग्नुपर्ने आवश्यकता औँल्याइन् । पत्रकारिताका माध्यमबाट महत्वपूर्ण काम गर्न सकिने उनको भनाइ थियो ।
महासङ्घका पूर्व अध्यक्ष डा.महेन्द्र विष्टले पत्रकारिता सिर्जनात्मक पेसा भए पनि प्रविधिले ‘कट पेष्ट’ को गति बढ्दा सिर्जनात्मकता मर्न थालेको बताए । समाज परिवर्तनका लागि पत्रकारिताका माध्यमबाट काम गर्न सकिने उनको भनाइ थियो । महासङ्घका महासचिव रोशन पुरीले सञ्चार माध्यममा विषयवस्तुमा लगानी हुन छोडेकाले पनि समस्या आउन थालेको देखिएको बताए । विभागका संयोजक शान्तराम विडारीले यस्ता कार्यक्रमलाई प्रदेश तहसम्म निरन्तरता दिइने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीमा क्षेत्रको बाँध अग्लो बनाउँदा, गौर डुबानको जोखिममा
-
आजको मौसम : कतै बादल र वर्षाको भेल, कतै टन्टलापुर घाम र तातो दिन
-
आइभरी कोस्ट र इक्वेडरबिचको पहिलो हाफ गोलरहित बराबरी
-
सोमबार यस्तो छ विदेशी मुद्राको विनिमय दर
-
मङ्गलाको तटीय क्षेत्रमा कटान र बाढीको जोखिम
-
निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण