आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

मुस्ताङमा एक हजार ४३१ प्रतिष्ठानको आर्थिक गणना सम्पन्न

आइतबार, ३१ जेठ २०८३, २१ : १८
आइतबार, ३१ जेठ २०८३

मुस्ताङ । एक हजार ४३१ व्यापारिक प्रतिष्ठानको आर्थिक गणना सम्पन्न भएको छ। गत वैशाख २ गतेदेखि असार ७ गतेसम्म समयअवधि तोकिएको राष्ट्रिय आर्थिक गणनामा आजसम्म उक्त सङ्ख्यामा आर्थिक गणना सम्पन्न भएको जिल्ला आर्थिक गणना कार्यालयले जनाएको छ।

राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभरका जिल्लामा अर्थतन्त्र मापनका लागि आर्थिक गणना सुरु गरेको हो । राष्ट्रिय तथ्याङ्क कार्यालयले देशका विभिन्न जिल्लामा सञ्चालन भएका दर्ता भएका तथा दर्ता नभएका स्थायी र अस्थायी प्रकृतिका सबै किसिमका उद्यम तथा व्यावसायिक प्रतिष्ठानको आर्थिक, जनशक्तिलगायत विवरण सङ्कलन गरी समग्र देशको आर्थिक तथ्याङ्क सङ्कलन गरी अर्थतन्त्र मापन गर्न खोजिएको हो।

यसअघि राष्ट्रिय तथ्याङ्क कार्यालयले वि.सं. २०७५ मा राष्ट्रिय आर्थिक गणना गरेको थियो । त्यसबेला हिमाली जिल्ला मुस्ताङमा ७७५ वटा व्यापारिक प्रतिष्ठान राष्ट्रिय तथ्याङ्क विभागको आर्थिक गणनामा समेटिएका थिए । प्रत्येक पाँच÷पाँच वर्षमा हुने आर्थिक गणना पछिल्लो दुई वर्ष ढिलो गरी सञ्चालनमा ल्याएको हो।

राष्ट्रिय तथ्याङ्क कार्यालयअन्तर्गत जिल्ला आर्थिक गणना कार्यालयले यहाँका पाँच स्थानीय तहमा वि.सं. २०७५ को आर्थिक गणनाको तुलनामा १८४ दशमलव ६४ प्रतिशत प्रतिष्ठानको आर्थिक गणना सम्पन्न भएको जनाएको छ।

आर्थिक गणना कार्यक्रम २०८२ अन्तर्गत हिमाली जिल्ला मुस्ताङमा एक हजार तीन वटा प्रतिष्ठानको आर्थिक गणना गर्ने लक्ष्य रहेकामा उक्त लक्ष्यभन्दा ४२ दशमलव ६८ प्रतिशत बढी प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन गरिएको जिल्ला आर्थिक गणना अधिकारी सुदीप पौडेलले जानकारी दिए। जिल्लामा आर्थिक गणना कार्यक्रम अन्तिम चरणमा पुगेको र हालसम्म ९० प्रतिशतभन्दा बढी प्रतिष्ठानको विवरण सङ्कलन भइसकेको उनको भनाइ छ।

जिल्ला आर्थिक गणना कार्यालयका अनुसार मुस्ताङको लोेघेरक दामोदरकुण्डमा ११६, घरपझोङमा ४७७, वारागुङमा ३१५, लोमान्थाङमा २७७ र थासाङ गाउँपालिकामा २४६ वटा व्यापारिक प्रतिष्ठानको आर्थिक गणना गरिएको हो । जिल्लामा आर्थिक गणनाका लागि गणकले एक हजार ४१८ वटा प्रतिष्ठानको घरदैलोमै पुगेर कागजी प्रश्नावलीअनुसार विवरण सङ्कलन गरेका छन्।

बाँकी रहेका प्रतिष्ठानले आफैँ डिजिटल आर्थिक गणनाको सफ्टवेयरमा प्रविष्ट गराएका गणना अधिकारी पौडेलले बताउँनुभयो । मुस्ताङमा विसं २०७५ को आर्थिक गणनामा समेटिएका ६३ वटा प्रतिष्ठान बन्द भएको छ ।

आर्थिक गणनाअन्तर्गत मुस्ताङका पाँचै पालिकामा रहेका प्रतिष्ठानको सङ्ख्या लक्ष्यभन्दा बढी रहेको हो । प्राप्त विवरणअनुसार १०० प्रतिशत लक्ष्य हासिल गर्नुपर्ने लोघेकरमा १०४ दशलव ५० प्रतिशत, घरपझोङमा ११२ दशलव ७७ प्रतिशत, बारागुङ मुक्ति क्षेत्रमा १५५ दशमलव ५४ प्रतिशत, लोमान्थाङमा २५६ दशमलव ४८ प्रतिशत र थासाङ गाउँपालिकामा १५४ दशमलव ७२ प्रतिशत गणना भएको जिल्ला आर्थिक गणना कार्यालयले जनाएको छ।

मुस्ताङमा सङ्कलन गरिएको आर्थिक गणना कार्यक्रममा ८० प्रतिशत बढी पर्यटन लक्षित होटल व्यवसाय रहेका आर्थिक गणना अधिकारी पौडेलले जानकारी दिए। पछिल्लो समय राष्ट्रिय गौरवको बेनी-जोमसोम-कोरला सडक सहज भएसँगै मुस्ताङमा पर्यकीय क्षेत्र चलायमान भएकाले होटलको सङ्ख्या अपेक्षाकृत वृद्धि भएको राष्ट्रिय आर्थिक गणना तथ्याङ्कले देखाएको छ। अन्य प्रतिष्ठान पर्यटनसँगै लक्षित रहेका उनको भनाइ छ।

मुस्ताङमा राष्ट्रिय आर्थिक गणनाका लागि एक जिल्ला आर्थिक गणना अधिकारी, एक जना सहायक आर्थिक गणना अधिकारी, एक जना लेखापाल, एक जना सुपरिवेक्षेक, पाँच जना गणक र एक जना कार्यालय सहयोगी खटिएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप