सोमबार, ०३ वैशाख २०८१
ताजा लोकप्रिय

साना उद्योगको विकासमा सहकारीको लगानी

बुधबार, १५ चैत २०७९, ११ : ५६
बुधबार, १५ चैत २०७९

लघु घरेलु तथा साना उद्योगले मुलुकको अर्थतन्त्रमा उल्लेख्य योगदान पुर्‍याएको छ । नेपालको संविधान, २०७२ ले आर्थिक विकासका तीन खम्बामध्ये सहकारीलाई एउटा खम्बाको रूपमा परिभाषित गरेको छ । अर्थतन्त्रको बलियो आधार स्तम्भको मान्यताप्राप्त सहकारी क्षेत्रमार्फत गरिने लगानीलाई लघु घरेलु तथा साना उद्योगमा नै केन्द्रित गराउँदै सहकारीको मूल्य र मान्यतालाई सही मार्ग निर्देशित गर्न सकिने छ । जसले सहकारी सिद्धान्तको मूल मर्मलाई उचित सम्बोधन पुग्ने देखिन्छ ।  

सदस्यहरूको जीवनस्तर उकास्न तथा आर्थिक उपार्जनमा लघु घरेलु तथा साना उद्योग प्रवर्द्धनमा सहकारी संस्थाहरूको भूमिका अझ महत्त्वपूर्ण हुन्छ । स्थानीय स्रोत र साधन परिचालन गर्दै आर्थिक रूपमा विपन्न सदस्यहरूलाई  उद्यमशीलतातर्फ डोर्‍याउन प्रोत्साहन पुग्नेछ । 

संविधानले नै राष्ट्रिय अर्थतन्त्रको विकासको लागि उद्योग धन्दा सञ्चालन र स्रोत साधनको उचित परिचालन गर्दै नेपाली श्रम, सीप र कच्चा पदार्थमा आधारित लगानीलाई प्राथमिकता दिने नीति लिएको छ । अर्थतन्त्रको महत्त्वपूर्ण खम्बाको रूपमा अवलम्बन गरेको सहकारी क्षेत्रले लघु घरेलु तथा साना उद्योगमा लगानी विस्तार गर्ने हो भने आर्थिक प्रगतिको लक्ष्य भेटाउन मुस्किल हुनेछैन ।

सामान्यतया सहकारी संस्था यस्ता व्यक्तिहरूको समूह हो, जहाँ न्यून आय तथा समान उद्देश्य भएका व्यक्तिहरूले आर्थिक उपार्जनको लागि सामूहिक रूपमा कार्य गर्छन् । सहकारीको मुख्य उद्देश्य ‘एकका लागि सबै र सबैको लागि एक’ भन्ने रहेको हुन्छ । 

सहकारी संस्था एक संगठनको स्वरूप हो, जहाँ व्यक्तिहरू आफ्नो आर्थिक हित वृद्धि गर्न समानताको आधारमा एकसाथ संगठित हुन्छन् । 

पछिल्लो समय लामो तरलता अभावले समग्र वित्तीय क्षेत्रजस्तै सहकारी क्षेत्र पनि समस्यामा छ । वास्तवमा सहकारी संस्थाले उचित रूपमा लगानी गर्न नसक्दा समस्या खेप्नु परेको हो । सहकारी संस्थाहरूले समुदायको पैसा समुदायमा नै लगानी गरेका हुन्छन् । तर सहकारी संस्थाहरूले उक्त मान्यतालाई बेवास्ता गर्दै असुरक्षित लगानी गर्दा समस्यामा छन् । 

सहकारी संघ÷संस्थाहरूले घर जग्गामा लगानी त्यागेर लघु घरेलु तथा साना उद्योगमा लगानी गर्ने हो भने वित्तीय सङ्कट नै आउने थिएन ।

उद्योग विभागको पछिल्लो प्रतिवेदनअनुसार उत्पादित वस्तु तथा सेवाको प्रकृतिको आधारमा लघु, घरेलु तथा साना उद्योग ५ लाख ८७ हजार ८०२ वटा दर्ता छन् । साथै, उद्योग प्रकृतिको आधारमा ५ लाख ५२ हजार ७१२ वटा सञ्चालनमा रहेका छन् । 

नेपालको सन्दर्भमा कुल ग्राहस्थ उत्पादन (जीडीपी) मा उद्योग क्षेत्रको योगदान करिब ५.६ प्रतिशत र सहकारी क्षेत्रको योगदान करिब ४ प्रतिशत रहेको बताइने गरेको छ । मुलुकभर २९ हजार भन्दा बढी प्रारम्भिक सहकारी संस्थाहरू सञ्चालित छन् । जसमा आबद्ध सदस्यहरूको सङ्ख्या ७३ लाख ७ हजार ४६२ रहेका छन् । 

सहकारी ऐनले क्षेत्रमा आधारित र सदस्य केन्द्रित भई आफ्नो सदस्यहरूको आर्थिक, सामाजिक तथा सांस्कृतिक समृद्धि हासिल गर्नु संघ संस्थाको मुख्य उद्देश्य उल्लेख गरेको छ । 

सोही उद्देश्य प्राप्तिका लागि स्वदेशमै उपलब्ध कच्चा पदार्थ, श्रम सीप र प्रविधि प्रयोग हुने लघु, घरेलु तथा साना उद्योगको स्थापना, विस्तार र प्रवर्द्धनमा सहकारीको उपस्थिति बलियो रहनेछ । सहकारी संघ संस्थाहरूले लघु तथा साना उद्योगमार्फत सदस्यको आर्थिक स्तर वृद्धि गर्दै कुल ग्राहस्थ उत्पादनमा उद्योग क्षेत्रको योगदान बढाउन मद्दत पुग्नेछ ।   

सहकारी संघ संस्थाहरूले सदस्यहरूको आर्थिक, सामाजिक तथा सांस्कृतिक समृद्धि हासिल गर्न कारोबार, व्यवसाय, उद्योग वा परियोजना सञ्चालन गर्न सक्ने सहकारी ऐनमा समेत व्यवस्था गरेको छ । 

सहकारी ऐन २०७४ को दफा २१ को उपदफा ३ अन्तर्गत छुट्टै संस्था दर्ता गर्नुपर्ने हुन्छ । तर अनुमति पत्र, स्वीकृति वा इजाजतपत्र आवश्यक भएमा मात्र कारोबार व्यवसाय, उद्योग वा परियोजना सञ्चालन गर्नुपर्ने उल्लेख छ, जहाँ सहकारी संस्थामा आबद्ध सदस्यहरूको संयुक्त वा साझेदारी रूपमा गर्न सक्ने छन् । सहकारीले ब्राण्डमा बिक्री वितरण गर्नका लागि भने सम्बन्धित निकायबाट ब्राण्ड स्वीकृति दिनुपर्ने हुन्छ ।

त्यसै गरी सहकारी नियमावलीमा समेत सदस्यहरूको आवश्यकतामा आधारित उत्पादन मूल्य शृङ्खला विकास, बजार पहुँच वा निर्यात प्रबन्धको प्रयोजन हुनुपर्ने व्यवस्था छ । सहकारी संस्थाले सदस्यको हितको लागि उद्योग सञ्चालन गर्न सक्ने छन् । तर संस्थाले उद्देश्य प्राप्तिको लागि सदस्यलाई यस्ता उद्योग सञ्चालनमा सहयोगी भूमिका निर्वाह गर्नुपर्ने उल्लेख छ ।

लघु, घरेलु तथा साना उद्योग कम लागतमा सुरु गर्न सकिने भएको कारण जो कोही लाभान्वित हुन सक्छन् । सहकारी संस्थाहरूले सदस्यलाई उद्यमी बनाउन  एकीकृत र क्रमबद्ध सेवा प्रवाह गरेर सफल उद्यमी बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्नेछ । 

सहकारीका सदस्यहरूलाई उद्यमको सुरुवात पश्चात् निरन्तर अनुगमन, निरीक्षण गरी उद्यम विकासमा धेरै कुरा गर्न सक्ने अवस्था रहेको छ । संस्थाका सदस्यहरूलाई वित्तीय सेवाको पहुँच, व्यावसायिक परामर्श, बजारीकरण, स्थानीय कच्चा पदार्थको सहज उपलब्धता, उद्यमशीलतासम्बन्धि तालिम गर्न सक्ने छ ।

उद्यमको छनौट, आवश्यक कच्चा पदार्थको लेखाजोखा, व्यावसायिक योजना निर्माण, पुँजीको व्यवस्थापन आदि पक्षको विश्लेषणपछि गुणस्तरीय बस्तु उत्पादनको लागि प्राविधिक सीप विकास तालिम प्रदान गर्न सक्नेछ । 

परम्परागत सीपमा आधारित उद्यममा पनि सीप विकास तालिमको आवश्यक छ । यसलाई सहकारी संस्थाले इच्छुक सदस्यहरूमा आत्मविश्वास निर्माण गरी सम्भावित  जोखिम बहन गर्ने र क्षमता अभिवृद्धि गर्नेतर्फ जोड दिनुपर्ने हुन्छ, जसबाट सदस्यहरूले सीपको विकास र व्यावसायिक योजना निर्माण गर्न सक्नेछन् । सहकारी संस्था पुँजी निर्माण  र कर्जा उपभोग सोच निर्माणमा सहयोगीको रूपमा खडा हुन सक्ने छ । 

उद्योग सञ्चालन गर्न इच्छुक सहकारी संस्थाका सदस्यहरूलाई वित्तमा पहुँच पुर्‍याउन सक्ने हुन्छ । सहकारीले विना धितो ऋण उपलब्ध गराउनुका साथै ऋणको व्यवस्थापनको लागि मध्यस्थकर्ताको काम गर्न सक्नेछ । 

त्यसै गरी, उपयुक्त प्रविधिमा पहुँच र सञ्चालनको लागि सहजीकरण गर्नेछ । उद्योग सञ्चालनको क्रममा आइपर्न सक्ने अप्ठेरा अवस्थाहरूमा व्यावसायिक परामर्श गर्दै सही दिशा निर्देश गर्न सहकारीको महत्त्वपूर्ण भूमिका हुन्छ । 

यहाँ उद्योग स्थापना गरेर मात्रै हुँदैन । उत्पादित वस्तुले बजार नपाउँदा धेरै उद्योगीहरू समस्यामा छन् । यस्तो अवस्थामा सहकारी संस्थाले सहजीकरण गरिदिनु पर्ने हुन्छ । उत्पादित वस्तु बजारसम्म पुर्‍याउन र उत्पादित बस्तुको ग्रेडिङ, प्याकेजिङ, लेवलिङ बारेमा जानकारी हुनुपर्ने हुन्छ । उत्पादित वस्तुको लागि प्रदर्शनी मेला आयोजना गर्ने, बजार विस्तारको लागि सहजीकरण गर्न सक्नेछ ।

सहकारी संस्थाले परिचालित ऋणको समुचित सदुपयोग भएको छ वा छैन भन्ने बारेमा पनि सचेत हुन आवश्यक छ । कतिपय अवस्थामा कर्जा प्राप्त गर्नकै लागि उद्योग स्थापना गरेर कर्जा स्वीकृत भएपछि उक्त प्राप्त रकम हिनामिना हुन सक्ने समस्या हुन सक्छ । अव्यवस्थित लगानीकै कारण अहिले सहकारी क्षेत्र धराशायी अवस्थामा पुगेको छ । त्यसैले, सहकारीको लगानीलाई दुरुपयोग हुनबाट जोगाउन समेत आवश्यक छ ।

सहकारी संस्थामार्फत् गरिएको लगानी दुरुपयोगसँगै लगानी व्यवस्थापनमा चुकेका छन् । यस्तो अवस्थामा सहकारी संस्थाले कर्जा लगानीको स्वरूपलाई परिवर्तन गर्नुपर्ने टड्कारो देखिन्छ । सहकारी संस्थाहरूले उत्पादनशील क्षेत्र जस्तै लघु घरेलु तथा साना उद्योगमा लगानी गर्दै राष्ट्रिय अर्थतन्त्रको विकासको लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने छ । 

Edit-Sahakari-ko-lagani-article-by-Dinesh-7

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दिनेश गेलाल
दिनेश गेलाल
लेखकबाट थप