मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय
अन्तरवार्ता

जीवनबहादुर शाही भन्छन्– कर्णाली सरकारको नेतृत्वमा कांग्रेसको दाबी रहन्छ

बिहीबार, १६ चैत २०७९, १० : १३
बिहीबार, १६ चैत २०७९

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले दोस्रो पटक विश्वासको मत लिने प्रयोजनका लागि बुधबार प्रदेशसभामा पत्र दर्ता गराएका छन् । यद्यपि सत्ता साझेदार दलहरुसँग भने उनले कुनै छलफल नगरेको बुझिएको छ । पहिलो पटक ६ माघमा विश्वासको मत लिँदा उनले नेकपा एमाले, राप्रपा, स्वतन्त्र सांसदको समेत मत पाएका थिए । राप्रपाले समर्थन फिर्ता लिएपछि उनले दोस्रो पटक विश्वासको मतका लागि पत्र दर्ता गराएका हुन् ।

सम्भवतः उनले शुक्रबारको प्रदेशसभा बैठकमा विश्वासको मत लिँदैछन् । केन्द्रमा चुनावी गठबन्धन बिउँतिएसँगै प्रदेशमा पनि नेपाली कांग्रेस सत्तामा आउने र सत्तामा रहेको एमाले रिङ आउट हुने करिब निश्चितजस्तै देखिन्छ । यद्यपि एमालेले अहिलेसम्म कुनै निर्णय गर्न सकिरहेको छैन ।

माओवादीले सरकार छोड्न नभनेसम्म एमाले सरकारमै बसिरहन चाहेको देखिन्छ । अर्कातर्फ नयाँ माओवादीले पनि अहिलेसम्म न कांग्रेससँग छलफल गर्न सकिरहेको छ, न एमालेलाई सरकार छाड्न भन्न सकिरहेको छ । तर कांग्रेसले प्रदेश सरकारको नेतृत्वका लागि दाबी गरिरहेको छ ।

नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले चुनावताका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र कांग्रेस उपसभापति पुर्णबहादुर खड्काले मुख्यमन्त्री बनाउने बचन दिएको र सोही अनुसार आफू प्रदेशमा आएको बताइरहेका छन् ।

कांग्रेसको अबको बटमलाइन र सरकारबारे रातोपाटीले कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीसँग छोटो कुराकानी गरेको छ । प्रस्तुत छ, उनीसँग गरिएको कुराकानीको सम्पादित अंश -

मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत लिन पत्र दर्ता गराउनुभएको छ । कांग्रेसको भूमिका कस्तो रहन्छ ?

– पत्र दर्ता गराएको हामीलाई थाहा छैन र उनीहरुको विषयमा पनि केही थाह छैन । अस्तिसम्म त विश्वासको मत लिनु पर्दैन भन्थे । तपाईहरु चाहिँ को हो भनेर हामीलाई भन्थे । व्यक्तिगत रुपमा हामीलाई फाइदा नै छ नि ! ठुलो दलको हिसाबले, तर पनि कसैले जानेको, बुझेको छैन भने त्यो उसको कुरा हो । यद्यपि गठबन्धनबिच कुरा नै भएको छैन । अस्तिसम्म त हामीलाई विश्वासको मत लिन पर्दैन भन्थे, विश्वासको मत लिनपर्ने रहेछ त !

नेपाली कांग्रेस र माओवादीबीच अहिलेसम्म अनौपचारिक, औपचारिक रुपमा कुनै कुराकानी भएको छैन र ?

– भएको छैन । तपाईको फोन आउनुभन्दा अगाडि मात्र म्यासेज आएको थियो । मैले पनि जवाफ पठाएको‌ थिएँ । म बाहिर कार्यक्रममा थिएँ । मैले पनि अरुबाटै विश्वासको मतबारे पत्र दर्ता भएको कुरा थाहा पाएको हो । माओवादीको के छ सोच भन्ने थाहा छैन । एमाले र उहाँहरु त सँगै हुनुहुन्छ, के समस्या छ र उहाँहरुसँग !

तपाईको बटमलाइन चाहिँ के हो खास ?

–  अहिले त्यस्तो केही छैन । चुनावताका उहाँहरु (प्रचण्ड, पुर्णबहादुर खड्का) ज्यूबिच एक खालको सहमति भएर नै म फेरि प्रदेशमा आएको‌ हो । माथि अहिले राजनीतिक कोर्ष अर्कै तरिकाले गइरहेको छ । माथि पनि छलफल गरिरहेका नै होलान्, प्रदेशलाई स्वायत्त जस्तो पनि छोडेका छैनन् क्यारे !

तपाईहरुलाई थाहै छ नि, म टिकट नपाएर यहाँ आएको पनि हैन । तिमीलाई मुख्यमन्त्री बनाउने हो, प्रदेशमै जाउ भनेर नै आएको हो । बटमलाइन भन्दा पनि कुरोचाहिँ उहाँहरुले भनेको यो हो ।

अहिले मुख्यमन्त्री माओवादीको बनिसकेकाले यसैलाई निरन्तरता दिएर केही समयपछि कांग्रेसले नेतृत्व पाउने कुरा पनि आइरहेको छ नि ?

– छलफलको विषय बन्ला तर सबै तरिकाले हेर्ने हो भने वर्तमान नेतृत्वले खासै राम्रो गरिरहेको देखिँदैन । प्रस्ट भन्ने हो भने माथिबाट के निर्देशन आउँछ, हामी त्यसलाई हेर्ने हो, अर्ध उपनिवेशिक जस्ता भएका छौँ क्यारे । त्यो भएकाले हेरौं अब । मेरो शुभकामना त उहाँहरु (एमाले–माओवादी)लाई बसेर चलाउनुस् भन्ने नै हो ।

कांग्रेस, एमाले र माओवादीसहित सहमतिको आधारमा सरकार बनाउने कुरा पनि आइरहेका छन्, यो सम्भव छ ?

–  यो त कुरा‌ गर्नेहरुका लागि कुरा न हो, सम्भव नहुने कुरालाई धेरै व्याख्या गर्न उपयुक्त हुँदैन । कल्पना गर्न नसकिने कुरा हो यो । एउटा घचघच्याउने दलचाहिँ चाहिन्छ नि ! नभए त केन्द्रमा पनि त त्यस्तै गर्थे होलान् ।

उसो भने नेतृत्वमा कांग्रेसको दाबी कायम रहन्छ ?

– त्यो त प्रस्ट नै छ नि ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप