शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
संसद्

प्रतिनिधिसभा नियमावली पारितसँगै संसदीय समिति बनाउने बाटो खुल्यो

आइतबार, १९ चैत २०७९, २० : ००
आइतबार, १९ चैत २०७९

काठमाडौँ । आइतबार बसेको प्रतिनिधि सभाको बैठकले प्रतिनिधि सभा नियमावली २०७९ बहुमतले पारित गरेको छ । निर्वाचनपछि प्रतिनिधि सभाको बैठक बसेको ४ महिना वितिसक्दा पनि नियमावली पारित नभएका कारण संसदीय समितिहरु बन्न सकेको थिएन ।

संसदीय समिति नहुँदा प्रतिनिधि सभामा दर्ता भएका विधेयकमाथिको छलफलको काम रोकिएको थियो ।

प्रतिनिधिसभा अन्तर्गत रहेका विभिन्न विषयगत समितिको नाम र कार्यक्षेत्र अघिल्लो नियमावलीमा भन्दा केही परिमार्जन भएका छन् । 

अघिल्लो प्रतिनिधि सभा अन्तर्गत रहेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिलाई उद्योग, श्रम तथा वाणिज्य समिति बन्ने छ । सो समितिबाट ‘उपभोक्ता हित’ हटाई उपभोक्ता अधिकारको विषयलाई मानवअधिकार र कानुन समिति अन्तर्गत राखिने छ ।   

अघिल्लो पटकको अन्तर्राष्ट्रिय सम्बन्ध समितिलाई अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति र यसअघिको महिला तथा सामाजिक समितिको नाम फेरेर महिला तथा सामाजिक मामिला समिति बनाइनेछ । 

यस्तै यसअघि रहेको विकास तथा प्रविधि समितिको नामको अगाडि पूर्वाधार थप गरेर पूर्वाधार विकास तथा प्रविधि समिति बन्ने छ ।  

यस्तै अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति, राज्य व्यवस्था तथा सुशासन समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको नाम र कार्यक्षेत्र भने यथावत् छ ।

'कुन समितिको कार्यक्षेत्र के हुने'

अर्थ समिति : अर्थ मन्त्रालय, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, लगानी बोर्ड, राष्ट्रिय योजना आयोग र सम्बद्ध निकाय । 

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति : परराष्ट्र मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सम्बद्ध निकाय । 

उद्योग, श्रम तथा वाणिज्य समिति : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र सम्बद्ध निकाय ।

कानुन, न्याय तथा मानव अधिकार समिति : कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, न्याय परिषद्, न्याय सेवा आयोग, महान्याधिवक्ताको कार्यालय, मानव अधिकार, अन्तर्राष्ट्रिय सन्धि सम्झौता, शान्ति प्रक्रिया, उपभोक्ता हित सम्बन्ध र सम्बद्ध निकाय । 

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति : कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, ऊर्जा मन्त्रालय, जलस्रोत तथा सिँचाइ मन्त्रालय, वन तथा वातावरण मन्त्रालय र सम्बद्ध निकाय ।

महिला तथा सामाजिक मामिला समिति : महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग, राष्ट्रिय समावेशी आयोग, आदिवासी जनजाति आयोग, मधेसी आयोग, थारु आयोग, मुस्लिम आयोग, सामाजिक सुरक्षा, समावेशिता तथा सीमान्तकृत वर्ग समुदायको हक हित सम्बन्धी विषय र सम्बद्ध निकाय ।

राज्यव्यवस्था तथा सुशासन समिति : प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, रक्षा मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लोक सेवा आयोग, निर्वाचन आयोग र सम्बद्ध निकाय ।

पूर्वाधार विकास तथा प्रविधि समिति : पूर्वाधार विकास तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, खानेपानी मन्त्रालय, सहरी विकास प्रविधि समिति मन्त्रालय र सम्बद्ध निकाय ।

शिक्षा तथा स्वास्थ्य समिति : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय र सम्बद्ध निकाय ।

सार्वजनिक लेखा समिति : सार्वजनिक लेखा, महालेखा परीक्षकको वार्षिक प्रतिवेदन र सम्बद्ध निकाय ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप