शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
उद्घाटन भएको ८ वर्षसम्म पनि पूर्ण रुपमा सञ्चालन हुन सकेन ‘सेज’
बेथिति

उद्घाटन भएको ८ वर्षसम्म पनि पूर्ण रुपमा सञ्चालन हुन सकेन ‘सेज’

झाडीमा परिणत हुँदै
मङ्गलबार, २१ चैत २०७९

बुटवल । निर्यात प्रवर्द्धन गर्दै व्यापार घाटा कम गर्ने योजनासहित रुपन्देहीको भैरहवामा १९ वर्षअघि निर्माण थालिएको विशेष आर्थिक क्षेत्र (सेज) उद्घाटन भएकै ८ वर्ष पुगेको छ । यद्यपि सरकारले उद्योगीहरूलाई विश्वस्त पार्न नसक्दा यो अझै पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन । ०७१ मंसिर २ गते तत्कालीन उद्योग मन्त्री महेश बस्नेतले उद्घाटन गरे पनि त्यस यता सेजका लागि आवश्यक नीतिगत सुधार तथा भौतिक पूर्वाधारमा उचित ध्यान नदिँदा पूर्ण क्षमतामा सञ्चालन हुन सकेको उद्योगी राजेन्द्र गुप्ताले रातोपाटीलाई बताए ।

अहिलेसम्म भैरहवा सेजमा ७ वटा उद्योग मात्रै सञ्चालनमा छन् । हाल सेजमा अनुमति पाएका थप २४ उद्योगमध्ये १४ वटा उद्योगले मात्रै सञ्चालनका लागि सम्झौता गरेका छन् । सम्झौता गरेको डेढ वर्षभित्र उद्योग स्थापना गरी सञ्चालन गरिसक्नु पर्ने प्रावधान छ । सम्झौता गरेकामध्ये २ कम्पनी लार्के हिमाल र आरसी इण्डष्ट्रिजले उद्योग स्थापनाका लागि संरचना बनाउँदै छन् । सेज प्राधिकरणले बाँकी ४६ वटा प्लटमा उद्योग सञ्चालनका लागि अनुमतिपत्र जारी गरेको छ ।

sej  (2)

सेजमा उद्योगीहरूको आकर्षण नहुनुको कारण

उद्योगमैत्री नीतिको अभाव र सेजमा गरिएको सम्झौता अनुसार भौतिक पूर्वाधार स्थापनामा ध्यान नदिएको कारण नै उद्योगीहरुमा आकर्षण कम देखिएको छ । सेजको भाडा दर महँगो भए पनि धेरै उद्योगीले यहाँ उद्योग स्थापना गर्न रुचि देखाएका थिए तर सेजका उद्योगले ६० प्रतिशत उत्पादन निर्यात गर्नुपर्ने मापदण्डका कारण उद्योगीहरु हच्किएको अवस्था छ ।

पछिल्लो समय यहाँ उत्पादन गरेर भारतमा बिक्री गर्न निकै समस्या रहेको सेजमै उद्योग चलाइरहेको पञ्चकन्या ग्रुपका प्रबन्धक देवेन्द्र साहुले रातोपाटीलाई बताए । उनले भने, ‘यहाँ सुरुमा भनिएका भौतिक पूर्वाधार जस्तैः पेट्रोल पम्प, धर्म काँटा अझैसम्म स्थापना भएको छैन । यस्तै भन्सार सहित सबै सुविधा दिने भनिए पनि नदिएका कारण नयाँ उद्योगीहरूले यहाँ आउने हिम्मत गर्न सकेका छैनन् ।’

sej  (3)

उनका अनुसार यहाँ उत्पादन गरेको सामान अन्य देशमा निर्यात गर्नका लागि सरकारले आवश्यक वातावरणसमेत बनाउन सकेको छैन । अर्कोतिर सेजको भाडा महँगो हुनका साथै बैंक ग्यारेन्टीका लागि समस्या रहेको उद्योगीहरूको गुनासो छ । सेजभित्र रहेको जय बुद्ध मेटल क्राफ्टका उद्योगी राजेन्द्र गुप्ताले आफूले उद्योगमा लगानी गरेपछि बैंक ग्यारेन्टीको लागि ‘प्रोजेक्ट लोन’ पाउनु पर्ने भए पनि सेजमा पत्र नदिँदा समस्या भएको गुनासो गरे । उनले जग्गा भाडा घटाउने सहमति भए पनि व्यवहारमा लागु नभएको बताए ।

सेजमा विशेष गरी वातावरणलाई असर नगर्ने खाद्य उद्योग तथा कृषिजन्य उद्योग, हर्बल प्रोडक्ट, छालाका वस्तु, तयारी पोसाक, गलैँचा तथा उनी समान, पस्मिना तथा रेसम, हाते कागजका वस्तु गरी १७ किसिमका उद्योग रहने व्यवस्था छ । लामो समय सेजमा हुनुपर्ने विद्युत् व्यवस्थापन, ऐन तथा कार्यविधि निर्माणमै भएको ढिलासुस्तीले सेज अलपत्र जस्तै हुँदा उद्योगीहरू निराश बनेका थिए । उद्योगीहरू पूर्वाधार अभाव, नीतिगत अस्थिरता र नेतृत्वमा हेरफेरजस्ता कारणले आकर्षित हुन नसक्नु अर्को कारण रहेको बुटवल उद्योग वाणिज्य संघका महासचिव विमलराज भट्टराईले बताए ।

sej  (4)

यहाँ उद्योग सञ्चालन गरेपछि ६० प्रतिशत उत्पादन निर्यात गर्नुपर्ने प्रावधान राखिएको छ तर अहिलेको प्रतिस्पर्धी बजारमा निर्यात गर्न सरकारकै विशेष सहयोग हुनुपर्ने उद्योगीको भनाइ छ ।

के भन्छन् सेजका कार्यकारी ?

सेजका कार्यकारी निर्देशक डा.चन्द्रिकाप्रसाद भट्टले सेजमा उद्योगीहरुको आकर्षण नहुनुमा  नीतिगत समस्या नै प्रमुख रहेको बताए । उनले सेजमा आकर्षण नभएपछि मन्त्रालयले ऐन ल्याउन गृहकार्य गरिरहेको रातोपाटीलाई बताए । ‘हामीले अहिले उद्योग स्थापनाको २ वर्षमा ६० प्रतिशत निर्यात गर्नुपर्ने व्यवस्थालाई थप लचिलो बनाउँदै ५ वर्षपछि सो मापदण्डमा पुग्नुपर्ने गरी संशोधनको तयारी गरेका छौं,’ उनले भने, ‘यस्तै भाडादार पनि घटाउने तयारी छ । विद्युतमा पनि ५ वर्षका लागि ५० प्रतिशत छुट दिने प्रस्ताव गरिएको छ ।’

उनले विदेशी मुद्रा ल्याउने र नेपालमा रोजगारी प्रदान गर्ने उद्योगहरूका लागि सेजमा आकर्षण वृद्धि गर्ने गरी सेवा सुविधा उपलब्ध गराउने बताए ।

sej  (1)

झाडीमा परिणत हुँदै सेज

भैरहवाबाट करिब ३ किलोमिटर दक्षिणपूर्व लागेपछि रुपन्देहीको साबिकको वगाह गाविसमा विशेष आर्थिक क्षेत्र ‘सेज’ छ । नेपाल–भारत सीमा सुनौली नाकाबाट करिब ३ किलोमिटर वर ५२ बिगाहा क्षेत्रफलमा फैलिएको जमिनमा ६८ प्लट वर्गीकृत छ । केही उद्योग सञ्चालन रहेको यस क्षेत्रमा बिचबिचमा ठुलो झाडी छ, जहाँ साँझबिहान हिँड्दा स्याल तथा अन्य जंगली जनावरको डर हुने मजदुरहरु बताउँछन् । सेजभित्र सडकमा पनि खाल्टाखुल्टी छन् ।

परिसरभित्रै पेट्रोल पम्पका लागि संरचना बनाएर डिस्पेन्सर मेसिन राखिएको वर्षांै भए पनि नेपाल आयल निगमसँगको समन्वय अभावमा हालसम्म सञ्चालनमा आएको छैन । पम्प प्रयोगविहीन हुँदा झाडीभित्र हराएको अवस्था छ । तौलका लागि प्रयोग गरिने धर्मकाँटाको अवस्था पनि उस्तै छ । सामान्य मर्मत सम्भारमा सञ्चालन हुन सक्ने धर्मकाँटाको मर्मतप्रति कसैले चासो नदिँदा सेजभित्रका उद्योगले उत्पादन गरेका बस्तु तौलकै लागि परिसर बाहिर लैजानु पर्ने बाध्यता छ ।

sej  (5)

सेज स्थापनाको योजना तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको पालामा भए पनि त्यसपछि सेजभित्र उद्योग स्थापना गर्न प्रधानमन्त्री तथा उद्योग मन्त्रीहरूले कम चासो दिएको सेजमा जग्गा लिएका  भैरहवाका राजेन्द्र गुप्ताले बताए । उनले भने, ‘सेज जुन उद्देश्यले स्थापना भएको थियो, त्यो अनुसार हामीलाई वातावरण नहुँदा उद्योग स्थापना गर्न सकिएन । कहिले के समस्या, कहिले के समस्या देखाउने काम हुन्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया