शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

‘निजी क्षेत्रलाई जीवन्त, जिम्मेवार र जोसिलो बनाउन भूमिका खेल्नेछु’

२० वर्षको अनुभव नै महासंघ अध्यक्ष बन्ने मूख्य आधार : अन्जान श्रेष्ठ
शुक्रबार, २४ चैत २०७९, १० : १४
शुक्रबार, २४ चैत २०७९

यही चैत २९ गते नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन हुँदै छ । भावी अध्यक्षकारुपमा तय गरिएको वरिष्ठ उपाध्यक्ष पदका लागि अन्जान श्रेष्ठ, रामचन्द्र संघई र उमेशलाल श्रेष्ठ गरी कूल ३ जना चुनावी दौडमा छन् । यसमध्ये वरिष्ठ उपाध्यक्षका उम्मेद्वार अन्जान श्रेष्ठसँग गरेको कुराकानीको सम्पादित अंशः–

वरिष्ठ उपाध्यक्षको चुनावको तयारी गर्दैगर्दा सबैभन्दा छिटो प्यानल सार्वजनिक गर्नु भएको थियो । यसको मूख्य रणनीति के थियो ?

चुनाव भनेकै टिम निर्माणको एउटा प्रक्रिया हो । यहीकारण, आफ्नो टिम निर्माण गरेर अघि बढेको हो । यो हाम्रो प्यानलको शसक्तता र एकताबद्धताको कुरा पनि हो ।

निर्वाचनका लागि स–प्यानल उम्मेद्वारी दर्ता गराइसक्नुभयो । उपाध्यक्षसहित सम्पूर्ण केन्द्रीय सदस्य पदको उम्मेद्वार समेत तय हुनुहुन्छ नि, हैन ?

हाम्रो पक्षको पुरै टिम पूर्ण छ । म वरिष्ठ उपाध्यक्षको दौडमा हुँदा उपाध्यक्षमा ३ जना हुनुहुन्छ । यस्तै, केन्द्रीय सदस्यहरु समेत प्रष्ट छ । हाम्रो प्यानलमा जिल्लानगरमा १८ जना उम्मेद्वार, वस्तुगतमा १४ जना र एसोसिएटमा कम्पाइल टिम छ । यसमा संयुक्त समेत गरेर १९ जना उम्मेद्वार प्यानलमा हुनुहुन्छ । यसकारण, हाम्रो प्यानलको टिमचाँही पूर्ण छ ।

यसअघि, तपाईकै प्यानलबाट चुनाव लड्ने घोषणा गर्नुभएका एक जना उम्मेद्वार अर्को कित्तामा जानुभयो । यसको ‘विहाइन्ड द सिन’ केही छ ?

यो विषय उहाँलाई नै बुझ्दा राम्रो हुन्छ । यो विषयमा मभन्दा उहाँले नै बताउनु राम्रो हो । किन कित्ता परिवर्तन गर्नु भयो भनेर उहाँले नै प्रष्ट बताउन सक्नुहुन्छ । हिजो किन एउटा प्यानलमा बस्नुभयो, त्यसको आवश्यक्ता के थियो र अहिले किन अर्कै प्यानलमा जानुभयो भन्ने विषय उहाँलाई नै थाहा छ ।

तर, उहाँले त आफूलाई झुक्याएर प्यानलमा राखेको भनेर घोषणा गर्नुभएछ नि ?

धेरै चरणका बैठकपछि मात्रै प्यानल सार्वजनिक भएको थियो । उहाँको सहमती विना प्यानलमा राख्ने भन्ने विषय सोच्नै सकिन्न ।

यतिबेला तपाई र उमेशलाल श्रेष्ठको प्यानलले भरत आचार्यलाई संयुक्त उम्मेद्वार बनाएको छ । यो कसरी सम्भव बन्यो ?

हाम्रो प्यानलबाट एसोसिएट उपाध्यक्षमा प्रबलजंग पाण्डे उठ्ने तयारी गर्नुभएको थियो । तर, प्रबल र भरत जी पहिलादेखिको साथि हुनुहुन्छ । भरत जी मेरो पनि साथि हो । प्रबल र भरतजीले सल्लाह गरेपछि संयुक्त उम्मेद्वार बन्न राजी हुनुभएको हो । यसमा विभिन्न पक्ष, फाइदा–बेफाइदा हेर्दा हाम्रो प्यानलका लागि उपयुक्त देखियो । यो विषयले हाम्रो टिमलाई ऊर्जा थप्ने, शसक्त बनाउने र विजयी यात्रामा थप सहज हुने देखिएपछि सहमती भएको हो । भरतजी दुईवटा प्यानलको साझा उम्मेद्वार बन्नुभएको हो । यो एउटा रणनीति पनि हो । चुवाव भनेकै सम्भावनाको खेल भएकाले संयुक्त उम्मेद्वार बनाइएको हो ।

अब चुनाव आउन जम्मा ५ दिन बाँकी छ । यसपाली बैंक ब्याजदरविरुद्धको आन्दोलनले निकै राम्रो प्रभाव देखाउँछ । तपाईको हिसाब–किताब कस्तो छ ?

यो आन्दोलन बैंकविरुद्ध नभई ब्याजदर वृद्धिविरुद्धको हो । अहिले देखिएको बैंकको समस्याविरुद्धको समेत आन्दोलन थियो । यसले गर्दा देशको अर्थतन्त्र डामाडोल बन्न लागेको अवस्थामा सरकारले रावस्व उठाउन सकेको छैन, साधारण खर्च समेत जुटाउन सकेको छैन । विकास निर्माणको कुरा नै नगरौं । व्यवसायीको आन्दोलनले बैंकमा रहेको समस्याका विषय उठाएका हुन् । तर, महासंघको चुनावका कारणले उठाएको होइन । यतिबेला उद्योगी व्यवसायी चुनावका कारण आन्दोलन रोकेर बस्नुभएको छ । महासंघको महाधिवेशनपछि आउने नयाँ नेतृत्वले काम गर्छ र गर्नुपर्छ भनेर आन्दोलन रोक्नुभएको छ । अब यी विषयलाई समाधान गराउनुपर्छ भनेर उठान भएको विषय आन्दोलनकारुपमा अघि बढेको हो ।

आन्दोलनका लागि धेरै जिल्लाबाट काठमाडौंमा व्यवसायी आउनुभएको थियो । यसमा महासंघका केही माथिल्लो नेतृत्वमा रहेका व्यवसायीको समेत साथ रह्यो । आन्दोलनबाट चुनावमा कत्तिको प्रभाव पार्ला ?

देशभरका उद्योगी व्यवसायी काठमाडौंमा आएर गरेको आन्दोलनमा चुनावी तयारी गर्न नभई एक्येबद्धता जनाउन गएको हो । पिरमर्कामा रहेका उद्योगी व्यवसायीको आवाज सुन्नपर्ने निकायले नसुनेपछि उद्योगी व्यवसायी आन्दोलन भएको हो । उद्योगी व्यवसायीले बाध्यताका कारण र अनिवार्यताका कारणले आन्दोलन तय भएको हो । त्यो आन्दोलनमा चुनावी फाइदाका लागि नभई एक्येबद्धताका लागि गएको हो ।

वरिष्ठ उपाध्यक्षको चुनावी दौडमा यतिबेला ३ जना हुनुहुन्छ । योबीचमा सहमतीको प्रयास भयो ?

वर्तमान वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले यसबारे पहल थाल्नुभएको छ । यो विषय कसरी अघि बढ्छ भन्ने हेरौं । यद्यपी, भावी अध्यक्षले सहमतीको छलफल थाल्नुभएको छ । सहमतीका लागि २७ गतेसम्म बाटो खुला नै छ । अबका केही दिनमा के कुरा विकास भएर आउुने विषयले महत्वपूर्ण भूमिका खेल्छ ।

अब तपाईको एजेन्डामा केन्द्रीत बनौं । बताइदिनु न के–के छन् चुनावी एजेन्डा ?

मैले वाचापत्रबाट मेरा योजना, लक्ष्य र एजेन्डा सार्वजनिक गरिसकेको छु । यतिबेला देशको निजी क्षेत्रको भूमिका झनै बढ्दै र फराकिलो बन्दै गएको छ । यसअघि अर्थतन्त्रमा निजी क्षेत्रको योगदान ७० प्रतिशत थियो, जुन अहिले ८० प्रतिशत पुगेको छ । यस्तै, पछिल्लो जनगणनाबाट आएको तथ्यांकअनुसार रोजगारी सृजनामा समेत ८६ प्रतिशत हिस्सा निजी क्षेत्रले ओगटेको छ । यसले निजी क्षेत्रले भूमिका दिन–दिनै बढ्दै गएको छ । तर, यतिबेला निजी क्षेत्र समस्याग्रस्त अवस्थामा छ, जीवन्त बनाउनुपर्छ । हाल अर्थतन्त्रमा मन्दीको डर छ, बिग्रन्छ वा भत्कन्छ कि भन्ने पनि डर छ । यसलाई जीवन्त बनाउन लाग्नेछु ।

देशको निजी क्षेत्र समाज राज्यसँग पनि उत्तरदायी छ । यसकारण, अर्थतन्त्रलाई पुर्नःउत्थान गर्नकालागि जिम्मेवार बनेर अघि बढ्ने लक्ष्य छ । समस्याग्रस्त अर्थतन्त्रलाई जिम्मेवार ढंगले अघि बढ्ने हाम्रो सोच छ । शिथिल बन्दै गइरहेको अर्थतन्त्रलाई लयमा फर्काउन छ । यसका लागि सबल र सक्षम नेतृत्व चाहिएको छ । सबैसँग हातेमालो गर्न सक्ने नेतृत्व चाहिएको छ ।

वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएपछि के–के काम गर्नु हुन्छ ?

जिल्लानगर, वस्तुगत, एसोसिएट र द्वीराष्ट्रियसँग समन्वयको कामा गर्ने छु । नयाँ अध्यक्षलाई पूर्णरुपमा सहयोग गर्ने काम मेरो हुनेछ । संस्थामा सबैलाई आबद्धता ल्याउने भनेर भूमिका खेल्ने योजना बनाएको छु । यस्तै, निजी क्षेत्रका मानसम्मान बढाउन र विधान संशोधनको नेतृत्वदायी भूमिका खेल्ने योजना बनाएको छु ।

वरिष्ठ उपाध्यक्षकारुपमा निर्वाचित बनेर भावी अध्यक्षकारुपमा बस्दा सरकार र निजी क्षेत्रबीच कसरी समन्वयकारी भूमिका खेल्नुहुन्छ ? महासंघको साख घट्दो अवस्थामा छ भन्ने आरोप पनि छ, यो आरोप चिर्न पनि भूमिका खेल्न पर्ला नि ?

महासंघको साख गिरेको छ भनेर कसरी प्रमाणित गर्ने ? महासंघको गरिमा पछिल्लो समय झनै बढेको छ । कुनै समयमा समबन्धमा दरार आएपनि हाल सम्बन्धी प्रगाढ बनेको छ । महासंघले राज्यसँग समन्वयकारी भूमिका खेलिरहेको छ, आवश्यक सुझाव दिइरहेको छ र भिजन पेपर सार्वजनिक गरेको छ । आगामी १० वर्षमा १०० खर्बको अर्थतन्त्र, २२ लाखलाई रोजगारी दिने योजना, आयात प्रतिस्थापन गर्ने र पुराना ऐन संशोधन गर्ने जस्ता योजना राखिएको छ । यसका लागि सरकारसँग मिलेर काम गरिरहेको छ । यहीकारण, महासंघको गरिमा घट्दो अवस्थामा नभई बढ्दो अवस्थामा छ ।

उद्योग वाणिज्य महासंघले भावी दिनमा नेपाल चेम्बर अफ कमर्स र उद्योग परिसंघसँग मिलेर काम गर्ने कुनै योजना छ ?

समय–समयमा तीन वटै संस्था मिलेर सरकारलाई सुझाव दिइरहेका छौं । उहाँहरुको बनावट र प्रकृती आफ्नै किसिमको छ । तर, महासंघ त देशभर छरिएर बसेको छाता संस्था हो । यसले सरकारसँग विपक्षीको भूमिका खेल्दै बहस–पैरवी गर्ने हो । महासंघ आर्थिक सल्लाहकार समेत हो । यसका लागि समय–समयमा अन्य संस्थासँग समेत मिल्ने योजना छ ।

आउँदो चुनावमा तपाईको जितको आधार के छन् ?

मेरो जितको आधार सबल र सक्षम टिम हो । मसँग यतिबेला सुदृढ टिम छ, जसले मिल्न, मिलाउन सक्ने क्षमता राख्छ । यसैको परिणाम हामीसँग यतिबेला साझा उम्मेद्वार छन् । मेरो काम गर्ने शैली, क्षमता र योजनालाई महासंघले अनुमोदन गरेको अवस्था छ । यसकारणले गर्दा मलाई अझै अघि बढ्न सबैले प्रेरणादायी भूमिका खेल्नुभएको छ । यो नै मेरो जितको आधार हो ।

अन्त्यमा महासंघको भावी अध्यक्षमा अन्जान श्रेष्ठ अर्थात तपाई नै किन ?

मैले यसअघि पनि यो विषयमा खुलाएको छु । तर, मेरो अनुभव र योग्यताको विषयबारे भन्नुपर्दा ४९ वर्षअघि ३०० रुपैयाँबाट सुरु भएको व्यवसायीक घरानाको व्यक्ती हुँ म । आज यो राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरको व्यवसाय बनेको छ । आज लक्ष्मी समूहसँग ३२ सय आबद्ध छन् । विश्वका ११ वटा मुलुकमा निर्यात गर्दै आइरहेका छौं । कृषि, पर्यटन, उत्पादनमूलक उद्योग, अटोमोबाइल र निर्माण क्षेत्रमा मेरो व्यवसायीक घरानाले काम गर्दै आइरहेको छ । यो सानो रकमबाट सुरु भएको मेहनेतको फल हो । यसबाट भावी दिनमा साना तथा मझौला उद्यमीका लागि प्रेरणाको स्रोत पनि हुन सक्छ । महासंघमा आबद्धताको अनुभव करिब २० वर्षको छ । यसअवधिमा धेरै समितिमा लागेर काम गरेको अनुभव मसँग छ । उद्योग समिति, राजश्व समिति, रोजगारदाता परिषद् र वाणिज्य समितिमा १५ वर्षदेखि काम गरिरहेको छु । यस्तै, पछिल्लो साढे २ वर्ष वस्तुगत उपाध्यक्षका रुपमा काम गरेकाले मलाई खारेको छ । यही अनुभव प्रयोग गरेर महासंघको नेतृत्व हाँक्न नै अन्जान श्रेष्ठ महासंघमा जानुपर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निकेश खत्री
निकेश खत्री

खत्री रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप