बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्रीको भारत भ्रमणमा गण्डक र सुस्तालाई महत्त्वपूर्ण एजेण्डा बनाइयोस् : विनोद चौधरी

मङ्गलबार, ०५ वैशाख २०८०, १४ : ३१
मङ्गलबार, ०५ वैशाख २०८०

काठमाडौँ । नेपाली कांग्रेसका सांसद विनोद चौधरीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आसन्न भारत भ्रमणमा गण्डक र सुस्ताको विषयलाई महत्त्वपूर्ण एजेण्डा बनाउन माग गरेका छन् ।

उनले गण्डक, सुस्ता र कोशीका कारण हुने डुबान र कटानबाट वर्षेनी ठूलो जनधनको क्षति हुने गरेको उल्लेख गर्दै स्थायी समाधान खोज्नुपर्नेमा जोड दिए । 

मंगलबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै चौधरीले ५० वर्षदेखि बर्दघाट सुस्ता पश्चिममा हरेक वर्ष सुस्ता र गण्डकका हजारौं परिवार र खेतबारी डुबानमा पर्ने गरेको बताए ।

‘अर्बौंको क्षति हुन्छ । भारत र नेपालका बीचमा पचास वर्ष पुराना संरचना पुनर्निर्माणका लागि कुनै द्विविधा छैन । पटकपटक सहमति सम्झौता भएका छन्,’ उनले भने, ‘प्रधानमन्त्रीको आसन्न भ्रमणमा यो विषय अत्यन्तै महत्त्वपूर्ण एजेण्डाका रुपमा प्रवेश गरोस् । ५० वर्षदेखि थुप्रिएका गण्डक र कोशीका समस्याको समाधानका लागि प्रष्ट खाका बाहिर आओस् ।’

उनले १५ मेगावाटको सूर्यपुरा पावलप्लान्ट तीन मेगावाटमा मात्रै सञ्चालनमा आएको भन्दै उक्त आयोजनालाई पूर्ण क्षमतामा सञ्चालनका लागि पनि सरकारको ध्यानाकर्षण गराए । ‘यो पावरप्लान्ट पनि पूर्ण क्षमतामा सञ्चालन ल्याउन सरकारको ध्यानाकर्षण गराउँछु,’ उनले भने । 

नेपाल र भारत सरकारबीचको गण्डक सिँचाइ तथा जलविद्युत् आयोजना सम्झौता बमोजिम नवलपरासीको प्रतापपुर गाउँपालिका–७ सूर्यपुरामा १५ मेगावाट जडित क्षमताको गण्डक जलविद्युत निर्माण भएको हो तर उक्त परियोजनाको क्षमता १५ मेगावाट भएपनि अहिले ३ मेगावाटमात्रै विद्युत् उत्पादन हुने गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप