बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय
प्रदेश

लुम्बिनी प्रदेश : विश्वासको मतका लागि साना दललाई फकाउन प्रयास गर्दै एमाले

गठबन्धनका नेता भन्छन्–मुख्यमन्त्रीले विश्वासको मत पाउनुहुन्न
शुक्रबार, ०८ वैशाख २०८०, १६ : १८
शुक्रबार, ०८ वैशाख २०८०

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले वैशाख ११ गते विश्वासको मत लिने तयारीसँगै साना दलहरूसँग संवादमा तीव्रता दिएका छन् । प्रदेशसभामा अल्पमतमा देखिएको सरकारले विश्वासको मत हासिल गर्नका लागि दलहरुसँग छलफल थालेको हो ।

प्रदेश सरकारका प्रवक्ता एवं खानेपानी मन्त्री चेतनारायण आचार्यले केन्द्रमा जस्तो समीकरण भए पनि प्रदेशमा सबैसँग सहकार्यको ढोका खुला राखेर छलफल थालिएको जानकारी दिए ।

उनले भने, ‘हामीले विश्वासको मत पाउने गरी तयारी गरेका छौं, त्यसमा आफ्नो ढङ्गबाट लागेका छौं ।’

लुम्बिनी प्रदेश माओवादी केन्द्रका अध्यक्ष सुदर्शन बरालले पनि एमालेबाट मिलेर जाऊँ भन्ने प्रस्ताव आएको तर आफूहरूले अस्वीकार गरेको रातोपाटीलाई बताए ।

उनले भने, ‘स्वाभाविकरूपमा राजनीतिक छलफल हुन्छ नै, उहाँहरुले हामीसँग पनि कुरा गर्नु भएको थियो । तर हामीले लुम्बिनीमा ५३ जना सांसदको हस्ताक्षर बुझाएको टोली दायाँबायाँ नहुने जवाफ दिएका छौं ।’

चैत ११ गते विश्वासको मत नपाए मुख्यमन्त्री लीला गिरी नेतृत्वको वर्तमान सरकार ढल्नेछ । तर, त्यसपछि अर्को सरकार कुन प्रक्रिया अन्तर्गत गठन गर्ने भन्नेबारे पनि दलहरुको आ–आफ्नै बुझाइ छ । नयाँ सरकार संविधानको १६८ को उपधारा २ कि ३ अन्तर्गत गठन हुने भन्नेबारे दलहरु आ–आफ्नै अनुकूलका तर्क गरिरहेका छन् ।

उपधारा ३ अन्तर्गत सरकार गठन गर्दा प्रदेशसभाको ठुलो दल नेकपा एमालेले फेरि नेतृत्वको मौका पाउँछ । उपधारा २ अन्तर्गत नै फेरि सरकार गठन हुने अवस्था भएमा दुई वा दुईभन्दा बढी दलको बहुमतका आधारमा मुख्यमन्त्री चयन हुन्छ ।

चैत १२ गते नेकपा माओवादी केन्द्र, लोसपा, जसपा नेपाल, नागरिक उन्मुक्ति पार्टीले एमाले नेतृत्वको सरकारलाई लिएको समर्थन फिर्ता लिएसँगै ५३ जना सांसदको हस्ताक्षरसहित नेपाली कांग्रेसका डिल्ली चौधरीलाई मुख्यमन्त्री बनाउन माग गर्दै प्रदेश प्रमुखसमक्ष पत्र बुझाइएको छ ।

एमालेका लुम्बिनी प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक तुलसी चौधरीले विश्वासको मत लिन अन्य दलहरूसँग वार्ता भइरहेको बताए । उनले भने, ‘हामीले प्रदेश र केन्द्र दुवैतिरबाट संवाद चलाएको छौं, धेरै अहिले बोल्न मिल्दैन ।’

लुम्बिनी प्रदेशमा बहुमतका लागि कम्तीमा ४४ सांसदको समर्थन आवश्यक हुन्छ । अहिले एमाले र राप्रपासँग गरी सरकारको समर्थनमा ३३ सांसदमात्र छन् । बाँकी ११ सांसदको समर्थन जुटाउन सरकार प्रयासरत छ ।

नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सभापति अमर पुनले ५३ जना सांसद दायाँबायाँ नहुने गरी अगाडि बढेको बताए । उनले मुख्यमन्त्री गिरीले विश्वासको मत नपाउने र त्यसपछि नयाँ सरकार बन्ने दाबी गरे ।

केन्द्रमा बनेको सत्ता गठबन्धनले लुम्बिनी प्रदेशमा राप्रपासँग पनि छलफल प्रक्रिया अगाडि बढाएको थियो । राप्रपा सांसद आशिष कुमार चौधरीले आफूहरूसँग कांग्रेससहित गठबन्धनले छलफल गरेको तर आफूले केन्द्रीय निर्देशन अनुसार अहिले एमालेलाई नै समर्थन गर्ने जवाफ दिएको रातोपाटीलाई बताए ।

लुम्बिनी प्रदेशमा सबैभन्दा ठुलो दल एमाले हो । उसको २९ सिट छ भने नेपाली कांग्रेसको २७, माओवादीको १०, राप्रपाको ४, नागरिक उन्मुक्तिको ४, जसपाको ३, लोसपाको ३, जनमत पार्टीको ३, जनमोर्चाको १, समाजवादीको १ र स्वतन्त्रको २ सिट छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप