पूर्वराजाको सुर्खेत यात्रा : सदनमा राजावादी भर्सेस गणतन्त्रवादी
सुर्खेत । पूर्वराजा ज्ञानेन्द्र शाह विभिन्न ठाउँमा आयोजना हुने अभिनन्दन कार्यक्रमहरूमा सहभागी हुने गरेका छन् । उनको कार्यक्रमको विषयलाई लिएर राजतन्त्रवादी र गणतन्त्रवादीबीच सडकदेखि सदनसम्म चर्काचर्की चल्ने गरेको छ ।
शनिबार वीरेन्द्रनगरमा हुने अभिनन्दन कार्यक्रममा सहभागी हुने विषयलाई लिएर शुक्रबारको कर्णाली प्रदेश सभामा हङ्गामा नै मच्चियो । बजेट अधिवेशनको दोस्रो बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका सांसद सन्तोषी शाहीले पूर्वराजाको सुर्खेत सवारीको विषयलाई लिएर संसद्लाई जानकारी गराइन् ।
बिहीबार अर्थमन्त्री बेदराज सिंहले प्रस्तुत गरेको बजेटका नीति, सिद्धान्त र उद्देश्यबारे छलफल कार्यक्रम रहे पनि सांसद शाहीले पूर्वराजाबारे विषय उठान गरेपछि गणतन्त्र पक्षधर अर्थात् नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी सांसदहरूले चर्को विरोध गरे ।

बैठक सुरु लगत्तै एमाले दल नेता यामलाल कँडेलले बोलेका थिए । त्यस पश्चात् सभामुख नन्दा गुरुङले राप्रपा सांसद शाहीलाई बोल्न समय दिएकी थिइन् ।
शाहीले सुरुमै ‘राप्रपाको तर्फबाट शनिबार वीरेन्द्रनगरमा सवारी हुन लाग्नुभएका श्री ५ बडामहाराजाधिराज सरकार ज्ञानेन्द्र वीर विक्रम शाहदेव लगायत मौसुफको भ्रमण टोलीलाई कर्णालीवासीको तर्फबाट स्वागत गर्न चाहन्छु’ भनेर सम्बोधन गरिन् ।
उनी बोलिरहेकै अवस्था नेकपा माओवादी सांसद एवं पूर्वमन्त्री विन्दमान विष्टले आपत्ति जनाए । बसिरहेकै स्थानबाट विष्टले टेबल ठोकेपछि सांसद शाही रोकिइन् ।

विष्टले भने, ‘प्रदेशको सभामा नेपालको संविधान भित्र रहेका विभिन्न छलफल, बहस गतिविधि गरिँदै आएको छ । नेपालको संविधानले ‘श्री ५ बडामहाराजाधिराज, बडामहारानी भनेर कहिल्यै पनि बुझ्दैन, चिन्दैन, जान्दैन पनि, संविधानले नचिनेका, नजानेका कुराहरू आज यो हाम्रो सम्मानित प्रदेश सभामा बडामहाराजाधिराज र बडामहारानी भनेर सम्बोधन हुने र बेला–बेलामा भइराखने गतिविधि जुन भइरहेको छ, यसमा म आपत्ति जनाउनु चाहन्छु ।’ उनले उक्त शब्दहरू संसद्को रेकर्डबाट हटाउन समेत माग गरेका थिए ।
तर, सभामुख नन्दा गुरुङले सांसद शाहीलाई बोल्न दिइन् । शाहीले आफ्नो पार्टीको र आफ्नो आस्थाको विषय प्रस्तुत गरेको जानकारी गराइन् । साथै उनले आफू जनताबाट चुनिएकाले ‘आफ्नो आस्थालाई बोल्न नमिल्ने छ र ?’ भन्दै प्रश्न उठाइन् ।
‘म यहाँबाट प्रश्न गर्न चाहन्छु सभामुख महोदय.., सबैले आफ्ना माओ, विपीका सिद्धान्तहरूलाई चाहिँ बुलन्द आवाज संसद्मा दर्साउन, तेर्स्याउन मिल्ने अनि आफ्नो पार्टीको आस्थालाई मूलधारको बोल्न नपाउने कुन तन्त्रमा लेखिएको छ ?,’ उनले भनिन्, ‘म यसको भर्त्सना गर्न चाहन्छु ।’
त्यसपछि उनी पुनः पूर्वराजाबारे बोल्न थालिन् । त्यसपछि गणतन्त्र पक्षधर सांसदहरूले लबीबाट उठेर हङ्गामा मच्चाए । सांसदहरूले राप्रपा सांसदलाई बोल्न रोक्नुपर्ने आवाज उठाए ।

सभामुख गुरुङले कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीलाई बोल्न समय दिइन् । आक्रोशित स्वभावमा उभिएका शाहीले भने, ‘यो सदनलाई कतातिर डोर्याइँदैछ । नभनौँला भन्दाभन्दै भन्नुपर्ने अवस्था आयो । सभामुख नयाँ हुनुहुन्छ, सचिवज्यू पुरानो हुनुहुन्छ । बोल्ने कुरा के हुन् सभाले निर्धारण नगर्ने हो भने सभाको मर्यादा कहाँ जान्छ ? सभामा बोल्दा यदि मुख्यमन्त्रीले बोल्न चाहनुभयो भने उहाँले बोल्न पाउनुपर्छ, उहाँले बोल्न चाहनु भएन भने, प्रमुख प्रतिपक्ष दलका नेताले बोल्नुपर्छ, यदि उहाँले पनि बोल्नुभएन भने सबै भन्दा ठुलो दलको नेतालाई बोल्न दिनुपर्छ ।’

उनको भनाई नियमावली मिचेर राप्रपा सांसदलाई बोल्न दिएको विषयप्रति थियो । संसद्को परम्परा बिग्रिँदै गएको भन्दै उनले आपत्ति जनाए । ‘कसैले आस्था राख्न पाइने भए पनि यो संसद्भित्र संसद्को मर्यादामा रहेर राख्नुपर्छ,’ उनले भने।
उनले आस्था राख्न पाइने तर, यो रोष्टम राजतन्त्र बिनाको भएको बताए । उनले अगाडि थपे, ‘जुन दिन राजतन्त्र फर्केर आउँला, उहाँहरूले बोल्नुहोला ।’
सभामुखको कार्यदक्षतामाथि प्रश्न
शुक्रबारको संसद् बैठकमा सभामुख नन्दा गुरुङको कार्यदक्षतामाथि प्रश्न उठाइएको छ । सत्ता पक्षधर सांसदहरूले नै राप्रपा सांसदलाई बोल्न राख्नुहोस् भन्दा कुनै सुनुवाइ नगरेकी उनले एमाले सांसद विनोदकुमार शाहले अन्य सदस्यले राखेको कुरालाई समर्थन गर्दै सांसद शाहीलाई रोक्न भनेपछि मात्र रोकेकी थिइन् ।

कांग्रेस दल नेता शाहीले सभामुख र सचिवहरूले मनपरी गर्ने हो भने भोलिबाट संसद् चल्न नदिने चेतावनी नै दिए । उनले संसद् पिपल चौतारी नभएको भन्दै सांसद सन्तोषी शाहीले बोलेका कुरा सबै रेकर्डबाट मेटाउनुपर्ने बताए । साथै यस्ता खालका कार्यक्रम पुनः दोहोरिएमा आफूहरू बाहिर जान बाध्य हुने र संसद् नै चल्न गाह्रो हुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाइजो प्रथा अन्त्यका लागि मधेसबाट राष्ट्रिय अभियान सुरु गर्ने तयारी
-
अमेरिका नयाँ शुल्क घोषणा गर्ने तयारीमा
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण