शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

चीनतिर जसपा, भारततिर जनमत !

शुक्रबार, १९ जेठ २०८०, २३ : ००
शुक्रबार, १९ जेठ २०८०

काठमाडौँ । यतिखेर भारत तथा चीनका लागि नेपालबाट उच्चस्तरीय भ्रमणहरु भइरहेका छन् । नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफै यतिखेर भारत छन् । यता, चिनियाँ कम्युनिष्ट पार्टीका उच्चपदस्थ पदाधिकारी नेपाल भ्रमणमा छन् भने नेपालबाट पनि माओवादीका नेताहरु चीन भ्रमण गरेर फर्केका छन् । जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठ अहिले चीन भ्रमणमा छन् । पार्टीको सिफारिसमा चीन भ्रमणमा गएका हुन् भने यता, जनमत पार्टीका अध्यक्ष डा.सिके राउत भारत भ्रमण सकाएर फर्केका छन् ।

जनमतका अध्यक्ष सिके राउत जेठ १३ गते भारत गएर भारतीय जनता पार्टीका शीर्ष नेताहरुलाई भेट गरी नेपाल फर्किसकेका छन् भने जेठ १७ गते राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारत पुगेका छन् । रास्वपाका अनुसार सभापति लामिछानेको भारत भ्रमण व्यक्तिगत हो । त्यस्तै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह पनि भारत भ्रमणमा गएका छन् । उनको पनि व्यक्तिगत भ्रमण रहेको बताइएको छ ।

प्रधानमन्त्री प्रचण्ड भोलि भारत भ्रमण सकाएर नेपाल फर्किंदैछन् । उनी फर्केपछि लोकतान्त्तिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर भारत भ्रमणमा जाने बुझिएको छ । लोसपाका स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्ड फर्केको दुई दिनपछि लोसपाका अध्यक्ष ठाकुर भारत भ्रमणमा जाने छन् तर अहिलेसम्म मिति तय भएको छैन ।

जनमत पार्टीका अध्यक्ष सिके राउतले भारत भ्रमणमा गएका प्रधानमन्त्री प्रचण्डलाई मधेशको हितमा पनि छलफल गर्न सुझाव दिएर आएको बताए । तराई मधेशमा रासायनिक मल कारखानालगायत अन्य उद्योग खोल्नका लागि भारत सरकारलाई सुझाव दिएर आएको समेत उनले बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप