शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

माओवादी केन्द्रमा फर्किने विप्लवको संकेत

मङ्गलबार, २३ जेठ २०८०, ११ : २२
मङ्गलबार, २३ जेठ २०८०

काठमाडौं ।  नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवम् प्रवक्ता कृष्णबहादुर महरा नेकपा महासचिव नेत्रविक्रम चन्द‘विप्लव’सँगको नियमित संवादमा छन् । विद्यालयमा महरा पढाउँदा र विप्लव पढ्दा मात्रै होइन, राजनीतिमा समेत दुबै गुरुचेला हुन् । पार्टी विभाजन भएको ११ वर्षपछि महरा र विप्लव एउटै पार्टीमा हुनेगरी छलफल जारी राखेका छन् ।

पार्टीबाट वार्ता टोली संयोजक भएका महराले माओवादी र गैरमाओवादी पृष्ठभूमिका नेताहरुसँग संवाद जारी राखेका छन् । जसमा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, डा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी, विप्लव नेतृत्वको नेकपा, प्रभु साह नेतृत्वको आमजनता पार्टीलगायत शक्तिसँग संवाद गरेका थिए । 

पछिल्लो समय एकीकृत समाजवादी र जसपासँग तत्काल समाजवादी मोर्चा वा सहकार्य हुने स्थिति नभएपछि माओवादी पृष्ठभूमिका नेताहरुसँग छलफल जारी राखेका छन् । महराले नेसपा, नेकपा र आमजनता पार्टीलाई एकता गर्न छलफल गरिरहेका छन् । त्यसमध्ये उनले विप्लवसँग पार्टी एकता गर्नेगरी छलफल गरिरहेको पार्टी सचिव गणेश शाहले बताए । 

अहिलेको परिस्थितिमा धेरै बदलाव आइसकेकाले माओवादी पृष्ठभूमि पार्टीहरु एक ठाउँमा आउनुको विकल्प नरहेको शाहले जिकिर गरे । त्यसपछि अरु वामपन्थी कम्युनिस्ट शक्तिलाई पनि एकतावद्ध बनाएर जानुपर्ने बताए । 

महरा–विप्लव कनेक्शन

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवबीच २०७७ फागुन २१ गते तीन बँुदे सहमति भएपछि विप्लव नेतृत्वको नेकपाको प्रतिबन्ध फुकुवा भएको थियो । प्रतिबन्ध फुकुवा भएको दोस्रो दिन माओवादीका कुनै नेतालाई नभेटेर विप्लव महरालाई भेट्न खुमलटार पुगेका थिए । त्यसपछि मात्रै विप्लव काठमाडौंबाट कपिलबस्तुतिर लागेका थिए । 

biplav mahara

त्यसयता महरा र विप्लवबीच धेरै पटक एकल र संयुक्त संवाद भइसकेको छ । गत माघमा दाङ जाने क्रममा महरा शिवगढी बासै बसेर छलफल गरेका थिए । काठमाडौं आउँदा विप्लव प्रायः महरा निवास खुमलटार पुगेकै हुन्छन् । महरा सकेसम्म विप्लवलाई पार्टीमा भित्र्याउन जोडवलका साथ लागेका छन् । तर, पार्टीका अरु नेताहरुले खासै चासो दिएका छैनन् । 

महराको दौडधुपले पछिल्लो समय विप्लवसमेत मन कमलो बनाउँदै लगेका छन् । गत जेठ दोस्रो साता नेकपा बैठकले वामपन्थी प्रगतिशील शक्तिसंग एकता र ध्रुवीकरणमा जाने निर्णय गरेको छ । एमालेबाहेक शक्तिसंग मोर्चाबन्दी गरेर जाने समाजवादी मोर्चा बनाउने निर्णय गरेको छ । 

विप्लव नेतृत्वको नेकपाले वार्ताका लागि सहजीकरण गर्न नेता कर्णजीत बुढाथोकीलाई जिम्मेवारी दिएको छ । कर्णजीतसँगैविप्लवआफै पनि माओवादीका नेताहरुसंग नियमित छलफलमा छन् । यद्यपि पार्टी एकता नै गर्ने गरी महरा र विप्लवबीच समझदारी बन्न सकेको छैन ।

प्रचण्डको प्रतिरक्षा गर्दै विप्लव

prachanda-biplab

माओवादी केन्द्रका नेता भन्दा एक स्टेप अघि बढेर माओवादी आन्दोलन र प्रचण्डको विप्लवले प्रतिरक्षा गदै आएका छन् । कुनैबेला प्रचण्ड–बाबुराम विरुद्ध तिखो आलोचना गर्ने विप्लव पछिल्लो समय प्रशंसामा समय खर्चिने गरेका छन् । माओवादी आन्दोलनविरुद्ध कसैले आलोचना गरे विप्लव कडामा खनिने गरेका छन् । 

पछिल्लो समय राष्ट्रिय अन्तरराष्ट्रिय परिस्थिति बद्लिएको भन्दै विप्लवले प्रचण्ड–बाबुरामलगायत नेतारुलाई आलोचना गर्न छोडेका छन् । बरु उल्टै सकेसम्म प्रशंसामै समय खर्चिने गरेका छन् ।प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर भएपछि विप्लवले सबैभन्दा बढी प्रचण्डकै प्रतिरक्षा गरेका थिए । सबै माओवादी एक भएमा पहिलो शक्ति हुने विप्लवले धारणा राखेका थिए । 

‘नौजवानहरुलाई उर्जा भरियो । पार्टीलाई देश र जनतातिर फर्काउन थालियो । फेरि सहिद परिवारलाई एकतावद्ध गरियो भने, हामी सबै एक भयौं भने २०६० सालको माओवादी बन्छौं । इतिहास रिभाइभ हुन्छ, इतिहास दोहोरिन्छ,’ त्यतिबेला काठमाडौंमा आयोजित एक कार्यक्रममा विप्लवले भनेका थिए, ‘मैले प्रचण्ड कमरेडलाई भनेको छु । सहिदहरुको प्रस्ताव क्याविनेटमा लैजानुस् ।  पास गर्छन् कि गर्दैनन् अर्को कुरा भयो । सबैलाई राष्ट्रिय सहिद हुन भनेर पास गर्नुस्् । हाम्रो पार्टी सहयोग गर्न तयार छ ।’  

पछिल्ला थुप्रै कार्यक्रमहरुमा विप्लवले प्रचण्डको आलोचना गर्न छोडेका छन् । यसले समेत विप्लव प्रचण्डससँग नजिक भएको अनुभूति गर्न सकिन्छ ।  

वैद्यसँग धर्मेन्द्र–हेमन्तले एकता गरेपछि टाढिए विप्लव 

तत्कालीन एमाले–माओवादी एकता भएर नेकपा गठन भएपछि विप्लव वैद्य नेतृत्वको पार्टीसँग सबैभन्दा नजिक थिए । सरकारले विप्लव नेतृत्वको पार्टीलाई प्रतिबन्ध हटाएपछि नेकपा भन्दा उनी वैद्यसँगै नजिक भए । सर्वोच्च अदालतबाट एमाले–माओवादी एकता भंग भएपछि माओवादी ब्यूँतिएर स्थानीय तहको चुनावमा गयो ।

विप्लव नेतृत्वको नेकपा पनि स्थानीय चुनाव उपयोग गर्ने भन्दै सहभागी भयो । तर स्थानीय चुनावमा अपेक्षित नतिजा हासिल गर्न सकेन । उल्टै चुनावलाई लिएर धर्मेन्द्र बास्तोला र हेमन्तप्रकाश ओलीले पार्टी विभाजन गरी नेकपा बहुमत गठन गरे ।  

धर्मेन्द्र र हेमन्त पार्टी विभाजन भई वैद्यसँग नजिकिन थालेपछि विप्लव माओवादी केन्द्रसँग नजिक भएका हुन् । पार्टीबाट धर्मेन्द्र र हेमन्तप्रकाश पक्ष छुटेर मोहन वैद्यसँग एकता गरेपछि विप्लव र महरा संवाद सघन हुन थालेको नेकपा एक नेताले बताए । 

‘हाम्रो पार्टीको माओवादी केन्द्र भन्दा वैद्य कमरेडसँगै वैचारिक निकट्ता हो । पार्टी एकता गर्ने कुरा भइरहेको थियो,’ विप्लव नेतृत्वको ती नेताले भने, ‘धर्मेन्द्र र हेमन्तजीहरु वैद्यसँग एकता गर्न थालेपछि उहाँहरुसँग सहकार्य टाढिदै गयो ।’ माओवादी केन्द्रका नेताहरुसँग छलफल भएपनि एकता गर्ने गरी टुंगो नलागेको ती नेताले बताए । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

वीरेन्द्र ओली
वीरेन्द्र ओली
लेखकबाट थप