बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय
एक्स्ट्राटेक ओभल

क्रिकेटको ‘हब’मा एक महत्त्वाकांक्षी युवाले देखेको सपना

मङ्गलबार, ३० जेठ २०८०, १३ : ४१
मङ्गलबार, ३० जेठ २०८०

भैरहवा । पक्कै हो, सपना निदाएपछि मात्र देखिन्छ । तर, संसारमा केही यस्ता महत्त्वाकांक्षी व्यक्ति पनि हुन्छन्, जसलाई खुला आँखाले देखेको सपना पूरा गर्ने हुटहुटीले रातभर निदाउनै दिँदैन । यो कथा पनि त्यस्तै एक महत्त्वाकांक्षी युवाको हो ।

जीवन भोगाइका क्रममा आफ्नो थातथलो छाडेर विदेश हानिएका यी युवाले एउटा महत्त्वाकांक्षी सपना देखे, जसलाई पूरा गर्ने हुटहुटीले उनलाई राम्ररी निदाउन दिएको छैन । त्यसैले त उनी यतिबेला आफ्नो जन्मभूमि फर्किएर ४१ डिग्री सेल्सियसभन्दा चर्को गर्मीमा आफूले देखेको त्यही महत्त्वाकांक्षी सपनालाई मूर्तरुप दिने साधनामा लिप्त छन् ।

उनी हुन्, विनोद कुँवर । विनोद लुम्बिनी प्रदेशको गुल्मी जिल्लामा जन्मिए । अध्ययनलाई निरन्तरता दिन नजिकैको सहर बुटबल आए । अनि, कालान्तरमा सुनौलो भविष्यको सपना बुन्दै उच्च शिक्षाका लागि आम नेपाली युवाको सपनाको देश अस्ट्रेलिया हानिए ।

नौ वर्ष अस्ट्रेलिया बसाइका क्रममा उनले जीवनलाई विभिन्न कोणबाट भोगे । कहिले आँशु अनि कहिले हाँसो । ‘सुनौलो भविष्यको कल्पना गर्दै अस्ट्रेलिया हानिएको थिएँ । तर, सोचेजस्तो कहाँ हुँदो रैछ र जीवन ! सुरुआती दिनमा निकै दुःख पाइयो,’ उनी आफ्नो अनुभव सुनाउँछन्, ‘अनिदो आँखा लिएर थुप्रै रात सिड्नीका रेल्वे स्टेसनहरुमै काटेको छु ।’

तर, जस्तै दुःख पर्दा पनि उनले जीवनबाट हरेस खाएनन् । निरन्तर प्रतिकुल अवस्थाहरुसँग संघर्ष गरिरहे । समय पनि त सधैँ एकनासको नहुँदो रैछ । सायद बलियो आत्मविश्वास र कडा संघर्षकै प्रतिफल हो, उनको जीवनले पनि कोल्टे फेर्‍यो ।

संघर्षकै बीच विनोदले आफ्नो अध्ययन पूरा गरे । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना महामारीले मानव सभ्यतामाथि नै धाबा बोलिरहँदा उनले भने अस्ट्रेलियामा ‘एक्स्ट्राटेक ओभल प्रालि’ नामको सूचना प्रविधि (आईटी)सम्बन्धी ट्रेनिङ इन्स्टिच्युट खोले । उनी आफैँ पनि आईटी इन्जिनियर नै हुन् ।

अस्ट्रेलिया बसाइका क्रममा उनले नेपाललगायत तेस्रो विश्वबाट उच्च शिक्षाका लागि आउने विद्यार्थीले भोग्नु परेको समस्यालाई नजिकबाट नियालेका थिए । त्यही निराश युवाहरुको जमातले उनलाई देखाएको थियो, ‘एक्स्ट्राटेक ओभल’ स्थापना गर्ने बाटो ।

अब सुरु हुन्छ विनोदको जीवनको अर्को अध्याय । जीवनको यही कालखण्डमा आएर उनले एउटा महत्त्वाकांक्षी सपना देखे । त्यो सपना उनको कर्मभूमि होइन, जन्मभूमिसँग जोडिएको थियो ।

‘नेपाललगायत विभिन्न राष्ट्रबाट उच्च शिक्षा अध्ययनका लागि आउने युवाले अस्ट्रेलियामा अध्ययन पूरा गरेपछि पनि योग्यता अनुसारको काम पाइरहेका थिएनन् । म आफैँले पनि अध्ययन पूरा गरेपछि थुप्रै हण्डर खाएको थिएँ,’ विनोद विगत सम्झन्छन्, ‘त्यसैले अस्ट्रेलियामा अध्ययन पूरा गरिसकेका विद्यार्थीको क्षमता अभिबृद्धि गर्न र उनीहरुलाई योग्यता अनुरुपको काम दिलाउने प्रयासको प्रतिफल हो, एक्स्ट्राटेक ओभल ।’

सूचना तथा प्रविधि क्षेत्रमा गतिलै फड्को मारेको राष्ट्रमा उनको यो प्रयासले मूर्तरुप पनि लियो । ‘एक्स्ट्राटेक ओभल’ ले छोटो समयमै राम्रो प्रगति गर्‍यो । उनका लागि यो गतिलो आम्दानीको स्रोत पनि बन्न पुग्यो । पछिल्लो समय अस्ट्रेलियाकै सिड्नी, मेलबर्न, क्यानबिरा, ब्रिसबेनलगायत विभिन्न ठूला सहरमा उनले ‘एक्स्ट्राटेक ओभल’ को शाखा पनि विस्तार गरे ।

हो, अब सुरु हुन्छ विनोदको जीवनको अर्को अध्याय । जीवनको यही कालखण्डमा आएर उनले एउटा महत्त्वाकांक्षी सपना देखे । त्यो सपना उनको कर्मभूमि होइन, जन्मभूमिसँग जोडिएको थियो । तर, उनको महत्त्वाकांक्षी सपनाको बारेमा बुझ्नुअघि त्यसको पृष्ठभूमि केलाउनु आवश्यक हुन्छ ।

Binod and Sudikshha

उसै त रुपन्देही जिल्ला क्रिकेटको ‘हब’ । क्रिकेट भनेपछि हुरुक्कै हुने छिमेकी राष्ट्र भारतसँग सिमाना जोडिएको नेपाली भूगोल । क्रिकेटको रङमा नरङ्गिने त कुरै भएन । त्यसैको प्रतिफल हो, रुपन्देहीले नेपाली खेलकुदमा जीवनभर भुल्न नसक्ने गुन लगाएको । अहिलेसम्म रुपन्देहीले सयौंको संख्यामा प्रभावशाली क्रिकेटर उत्पादन गरेर राष्ट्रलाई सुम्पिएको छ ।

रुपन्देहीबाट उत्पादन भएका थुप्रै क्रिकेटरले आफ्नो आक्रामक ब्याटिङ, धारिलो बलिङ र छरितो फिल्डिङले थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगितामा देशको गौरव बढाएका छन् । रुपन्देहीबाट उदाएका राजु खड्का, शक्ति गौचन, वसन्त रेग्मी, सुशन भारी, कुशल मल्ल, अमृत भट्टराईजस्ता असंख्य प्रतिभाशाली क्रिकेटरले अन्तर्राष्ट्रिय खेलवृत्तमा देशको गरिमा बढाउँदै आएका छन् ।

रुपन्देहीमा अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माण गर्ने योजनालाई मूर्तरुप दिन उनले तिलोत्तमा नगरपालिका वडा नम्बर १७ कान्छीबजारस्थित पूर्व दरखसवामा करिब १० करोड रुपैयाँ खर्च गरेर पाँच बिगाहा जग्गा खरिद गरिसकेका छन् ।

वसन्त शाही, सञ्जय गुरुङ, सत्यजित सरकार, समिर खान, जगत टमाटाजस्ता क्रिकेटका नामुद हस्ती पनि रुपन्देहीकै उत्पादन हुन् । सत्यजित सरकार र समिर खान अन्तर्राष्ट्रिय अम्पायर हुन् भने जगत टमाटा नेपाल राष्ट्रिय टोलीका पूर्वप्रशिक्षक । यसका अतिरिक्त रुपन्देहीबाट उत्पादन भएका क्रिकेटरहरुले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा थुप्रै कीर्तिमान पनि बनाएका छन् ।

विश्वव्यापी सत्य पनि हो, मानिस जुन परिवेशमा बस्छ, त्यही परिवेशमा ढल्न पुग्छ । क्रिकेटको यो लोभलाग्दो परिवेशबाट विनोद पनि अछुतो रहन सकेका थिएनन् । ‘एक त रुपन्देहीमै क्रिकेटको लोभलाग्दो वातावरण थियो । जिल्लाबाट उत्पादित क्रिकेटरले अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा समेत गतिलै चर्चा बटुलिरहेका थिए,’ ३७ वर्षीय विनोद विगत सम्झन्छन्, ‘त्यसमाथि शक्ति सर (गौचन), पारस सर (खड्का)हरु डिभिजन फाइभमा पहिलो भएर फर्किएको क्षण म बारम्बार सम्झन्छु ।’

Bhairahawa Cricket Stadium 2

आफ्ना क्रिकेटरले अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरिरहँदा देशभित्रै भने क्रिकेटको गतिलो भौतिक पूर्वाधारसम्म नभएको यथार्थले भने विनोदको मन नराम्ररी पोलेको रहेछ । त्यसैले उनले क्रिकेटको उर्भर भूमि रुपन्देहीमा सुविधासम्पन्न क्रिकेट रंगशाला र क्षमतावान खेलाडी उत्पादन गर्न क्रिकेट एकेडेमी बनाउने सपना देखेका रहेछन् । त्यो पनि व्यक्तिगत लगानीमा ।

यो योजना नजिकका साथीभाइ र आफन्तलाई सुनाउँदा धेरैले उनलाई नमज्जाले गिज्याए छन् । तर, उनले हरेस खाएनन् । उनको परिवारका सदस्य भने यो योजनाप्रति सकारात्मक देखिए । त्यसपछि जन्म लियो, ‘एक्स्ट्राटेक ओभल अन्तर्राष्ट्रिय क्रिकेट मैदान’ निर्माणको अवधारणाले । उनले आफ्नो सूचना तथा प्रविधिसम्बन्धि ट्रेनिङ इन्स्टिच्युटकै नामबाट यो परियोजनाको नाम जुराएका हुन् । यो अभियानका लागि उनले आफ्नी अर्धाङ्गिनी सुदिक्षा गौतमबाट पनि गतिलो साथ पाएका छन् । त्यसैले त ‘एक्स्ट्राटेक ओभल’ परियोजनाको चिफ अपरेटिङ अफिसर (सीओओ) को भूमिकामा सक्रिय छिन्, सुदिक्षा । विनोद भने एक्स्ट्राटेक ओभल प्रालिका निर्देशक हुन् ।

रुपन्देहीमा अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माण गर्ने योजनालाई मूर्तरुप दिन उनले तिलोत्तमा नगरपालिका वडा नम्बर १७ कान्छीबजारस्थित पूर्व दरखसवामा करिब १० करोड रुपैयाँ खर्च गरेर पाँच बिगाहा जग्गा खरिद गरिसकेका छन् भने थप एक बिगाहा जग्गा खरिदको प्रक्रियामा छन् । उनले त्यहाँ सुविधासम्पन्न अन्तर्राष्ट्रिय क्रिकेट मैदानसँगै क्षमतावान क्रिकेट खेलाडी उत्पादन गर्न क्रिकेट एकेडेमीसमेत निर्माण गर्ने योजना बनाएका छन् ।

पूर्वक्रिकेटर शक्ति गौचनले जिल्लामा स्तरीय क्रिकेट मैदानको निर्माण आफ्नो पनि सपना भएको धारणा ब्यक्त गरे ।

पछिल्लो समय नेपाल फर्किएर उनले रंगशाला निर्माणको कामलाई समेत गति दिएका छन् । अहिले परियोजना स्थलमा माटो भर्ने, क्रिकेट मैदानको ढाँचा तयार पार्ने, पिच निर्माण गर्नेजस्ता कार्य धमाधम भइरहेको छ । सोमबारमात्र भब्य समारोहबीच उक्त क्रिकेट मैदानको शिलान्यास समेत गरिएको छ । रंगशालाको शिलान्यास हुनुअघि नै निर्माणकार्य भने अगाडि बढिसकेको छ ।

निजी क्षेत्रको लगानीमा नेपालका पहिलो पटक बन्न लागेको अन्तर्राष्ट्रिय क्रिकेट मैदान र क्रिकेट एकेडेमीको स्थानीय जनप्रतिनिधि, खेलकुद क्षेत्रका हस्ती र समाजका लब्धप्रतिष्ठित व्यक्तिहरुको उपस्थितिमा शिलान्यास गरिएको हो ।

शिलान्यास समारोहमा सीओओ सुदिक्षाले पहिलो वर्ष पाँच हजार दर्शक क्षमताको रंगशाला बनाइने जानकारी दिइन् । उनले प्रत्येक वर्ष पाँच हजार दर्शक क्षमता बढाउँदै लगेर आगामी चार वर्षभित्र रंगशालालाई २५ हजार दर्शक क्षमताको बनाइने बताइन् । ‘एक्स्ट्राटेक ओभल’ क्रिकेट मैदान र क्रिकेट एकेडेमी निर्माण गर्न करिब ५० करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

‘चार वर्षको अवधिमा २५ हजार दर्शक क्षमताको अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माण हुनेछ । क्रिकेट मैदानमा फ्लडलाइट र डिजिटल स्कोर बोर्ड जडान गरिने छ,’ सीओओ सुदिक्षा भन्छिन्, ‘चार तलाको क्रिकेट एकेडेमी भवन निर्माण गरिने छ । एकेडेमीमा एक पटकमा एक सयजनालाई राखेर प्रशिक्षण दिने लक्ष्य छ ।’

Bhairahawa Cricket Stadium 1

नेपालका चर्चित पूर्वक्रिकेटर शक्ति गौचन ‘एक्स्ट्राटेक ओभल’ क्रिकेट मैदान र क्रिकेट एकेडेमीको ‘ब्रान्ड एम्बासडर’को भूमिकामा सक्रिय छन् । यसरी निर्माण हुने क्रिकेट रंगशालामा छात्रावाससहितको एकेडेमी र ट्रेनिङ सेन्टर हुनेछ । उक्त एकेडेमी र ट्रेनिङ सेन्टरको सम्पूर्ण जिम्मेवारी गौचनलाई नै दिएको छ ।

‘एक्स्ट्राटेक ओभल’ अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको क्युरेटरको जिम्मेबारी भने माधव पाठकले लिएका छन् । लामो समय यूएईमा बसेका माधवसँग अवुधावीको शेख जायेद अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा समेत क्युरेटरको जिम्मेवारी निर्वाह गरिसकेको अनुभव छ ।

‘यो मैले देखेको सपना भए पनि राष्ट्रको सम्पत्ति हो । त्यसैले निर्धारित समयमै यसको निर्माणकार्य सम्पन्न गरेर देखाउने छु । आवश्यक परेको बेला प्रतियोगिताहरु आयोजना गर्न पनि यो रंगशालाको ढोका हरदम खुला रहने छ,’ विनोद भन्छन्, ‘यो रंगशाला मेरो निजीभन्दा पनि सम्पूर्ण जिल्लाकै सम्पत्ति हो । त्यसैले निर्माणमा सबै पक्षले आवश्यक सहयोग गर्नुहुनेछ भन्ने विश्वास लिएको छु ।’

शिलान्यास समारोहमा तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले रंगशाला निर्माणका लागि आफूहरुले गर्नुपर्ने सबै सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे । ‘खेलकुद क्षेत्रको विकासमा समग्र देशकै विकास जोडिएको हुन्छ । त्यसैले यो रंगशाला निर्माणमा तिलोत्तमा नगरपालिकाको साथ र सहयोग रहनेछ,’ उनले भने ।

पूर्वक्रिकेटर शक्ति गौचनले जिल्लामा स्तरीय क्रिकेट मैदानको निर्माण आफ्नो पनि सपना भएको धारणा ब्यक्त गरे । ‘अहिले म आफैँले पनि क्रिकेट एकेडेमी सञ्चालन गर्दै आएको छु । तर, सधैं एउटा मैदानको आवश्यकता खड्किँदै आएको थियो । अब हामी सबैको त्यो सपना पूरा हुनेछ,’ ब्रान्ड एम्बासडर समेत रहेको शक्तिले भने ।

नेपाल क्रिकेट संघ (क्यान)का केन्द्रीय सदस्य प्रशान्तविक्रम मल्लले यो रंगशाला र एकेडेमीको निर्माणले नेपाली क्रिकेटको विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास ब्यक्त गरे । ‘सरकारी स्तरबाट निर्माण थालिएको १७ वर्ष बितिसक्दा पनि मुलपानी क्रिकेट मैदान बन्न सकेको छैन । १४ वर्ष बितिसक्दा पनि भैरहवा क्रिकेट मैदान बन्न सकेको छैन,’ उनले भने, ‘तर, मलाई विश्वास छ, निजी स्तरमा बन्न लागेको यो रंगशालाको काम निर्धारित समयमै पूरा हुनेछ ।’

कार्यक्रममा तिलोत्तमा नगरपालिकाकी उपमेयर जागेश्वरदेवी चौधरीले आगामी वर्ष यही रंगशालामा नगरपालिकाले छात्रा क्रिकेट प्रतियोगिता आयोजनाका लागि बजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गरिन् । सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले रंगशाला निर्माणमा आफूहरुले पनि सक्दो सहयोग गर्ने बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रोशन राउत
रोशन राउत
लेखकबाट थप