सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

हैदराबादले लखनउलाई हराउँदा कुन-कुन रेकर्ड तोडियो ?

बिहीबार, २७ वैशाख २०८१, १४ : ३१
बिहीबार, २७ वैशाख २०८१

काठमाडौँ । बुधबारको खेलमा ट्राभिस हेड र अभिषेक शर्माको विस्फोटक ब्याटिङसामु लखनउ नतमस्तक बन्यो । लखनउले प्रस्तुत गरेको १ सय ६६ रनको लक्ष्य हैदराबादले कुनै पनि विकेट नगुमाई मात्र ९.४ ओभरमा पछ्यायो ।

हेडले मात्र ३० बलमा ८९ रन बनाए । उनले ८ चौका र ८ छक्का हिर्काए । त्यस्तै, अभिषेक शर्माले २८ बलमा ७५ रन बनाए । उनले ८ चौका र ६ छक्का प्रहार गरे । 

यसअघि पहिले ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ६५ रन बनाएको थियो ।

खेलमा विभिन्न रेकर्डहरू बनेका छन् । यस्ता छन् ती रेकर्डहरू :

  • ६२ – हैदराबादले ९.४ ओभरमा १ सय ६६ रनको लक्ष्य पछ्याउने क्रममा बाँकी रहेको बलको सङ्ख्या । टी–२० क्रिकेटमा १ सय ५० वा सोभन्दा बढी रन पछ्याउँदा यति धेरै बल बाँकी रहेको यो पहिलो अवसर हो । यसअघि सन् २०१८–१९ को बिग ब्यास लिग सिजनमा ब्रिसबेन हिटले मेलबोर्न स्टार्सले प्रस्तुत गरेको १ सय ५७ रन पछ्याउँदा ६० बल बाँकी रहेको थियो ।
  • १६७ – ९.४ ओभरमा हैदराबादले लखउनविरुद्ध बनाएको रन । टी–२० क्रिकेटमा १० ओभरभित्र कुनै पनि टोलीले बनाएको यो सबैभन्दा ठुलो स्कोर हो । यसअघि सन् २०१८ मा वोरसेस्टरसायरले नर्थह्याम्पटन सायरविरुद्ध १ सय ६२ रन बनाएको थियो ।
  • १०७ – पावरप्लेमा हैदराबादले बनाएको रनको सङ्ख्या । टी–२० क्रिकेटमा पावरप्लेमा कुनै पनि टोलीले बनाएको यो दोस्रो ठुलो स्कोर हो । गत महिना हैदराबादले नै दिल्ली क्यापिटल्सविरुद्ध १२५ रन बनाएको थियो ।

abhishek sharma

  • १४६ – आईपीएल २०२४ मा हैदराबादले १२ खेलमा हिर्काएको छक्काको सङ्ख्या । कुनै पनि टी–२० प्रतियोगितामा कुनै टोलीले हिर्काएको यो सबैभन्दा धेरै छक्का हो । यसअघि सन् २०१९ मा आईपीएलमै चेन्नई सुपर किंग्सले १ सय ४५ वटा छक्का प्रहार गरेको थियो ।
  • ८० – पावरप्लेमा हैदराबाद (१०७/०) र लखनउ (२७/२) ले बनाएको स्कोरको अन्तर । आईपीएलमा यो सबैभन्दा ठुलो अन्तर हो । गत शनिबार रोयल च्यालेन्जर्स बैंगलुरु (९२/१) र गुजरात टाइटन्स (२३/३) बिच ६९ रनको अन्तर थियो ।
  • ३ – आईपीएलमा २० भन्दा कम बलमा ट्राभिस हेडले बनाएको अर्धशतकको सङ्ख्या । उनीबाहेक जेक फ्रेजर म्याकगर्कले मात्र २० भन्दा कम बलमा तीनवटा अर्धशतक बनाएका छन् । हेडले १६ बलमा दुईवटा अर्धशतक बनाएका छन्, जुन हैदराबादका लागि आईपीएलमा रेकर्ड हो ।

travis head

  • १७.२७ – अभिषेक शर्मा र हेडबिच १ सय ६७ रनको साझेदारी गर्दाको रनरेट । यो आईपीएलमा १ सय ५० भन्दा बढीको साझेदारीमा सबैभन्दा उच्च रनरेट हो । सबै टी–२० प्रतियोगितामा भने यो दोस्रो हो ।
  • २ – आईपीएलमा १ सय ५० वा सोभन्दा बढी रन पछ्याउँदा हैदराबादले १० विकेटको जित हासिल गरेको सङ्ख्या । यसअघि सन् २०२० मा मुम्बई इन्डियन्स विरुद्ध यो उपलब्धि हासिल गरेको थियो । पाकिस्तानले मात्र टी–२० मा दुईपटक यस्तो उपलब्धि बनाएको छ ।
  • ३० – हैदराबादका ब्याट्सम्यानले ५८ बलमा हिर्काएको बाउन्ड्रीको सङ्ख्या । लखनउविरुद्ध टोलीले १६ चौका र १४ छक्का हिर्काएको थियो । टी–२० क्रिकेटमा १० ओभरभित्र प्रहार गरिएको यो सबैभन्दा धेरै बाउन्ड्री हो । हेड र शर्माले मात्र १२ वटा सिंगल र २ पटक २ रन लिएका थिए ।

ईएसपीएन क्रिकइन्फो

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप