सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे, १० समाचार

बिहीबार, २७ वैशाख २०८१, २१ : ४४
बिहीबार, २७ वैशाख २०८१

काठमाडौँ । आज मिति २०८१ साल वैशाख महिनाको २७ गते बिहीबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रीकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’ लिएर आएका छौँ । रातोपाटी ब्रिफिङमा हामी दिनभरका प्रमुख १० समाचार प्रस्तुत गर्ने गर्छौँ–

१.मन्त्रिपरिषद्का निर्णय

सरकारले नीति तथा कार्यक्रम जेठ १ गते ल्याउने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले  नीति तथा कार्यक्रम जेठ १ गते ३ बजे ल्याउने निर्णय गरेको हो ।

२. बाल मन्दिरको जग्गा प्रकरण

नक्सालस्थित नेपाल बाल सङ्गठनको जग्गा कौडीको मूल्यमा ७९ वर्षसम्मका लागि भाडामा दिएर ठगेको आरोपमा प्रहरीले अनुसन्धान  गरिरहेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बालमन्दिरकी तत्कालीन अध्यक्ष रिता सिंहसहित २० जनाविरुद्ध पक्राउ अनुमति लिएको छ । सिंह कांग्रेस नेता प्रकाशमान सिंहकी दिदी हुन् । उनी २०४७ देखि २०७७ सम्म बाल संगठनको अध्यक्ष थिइन् ।

३. कोशीको मुख्यमन्त्रीमा हिक्मत

कोशी प्रदेशको पाँचौँ मुख्यमन्त्रीको रुपमा हिक्मतकुमार कार्की नियुक्त भएका छन् ।

प्रदेशको इतिहासमा नवौँ पटकको सरकार गठनका क्रममा उनी तेस्रो पटक मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । कार्की यसअघि २०७९ पुस २८ र २०८० भदौ २२ गते गरी दुई पटक मुख्यमन्त्री बनेका थिए ।

४. अदालतमा कार्की

कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले नयाँ सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका छन् । कांग्रेस नेतासमेत रहेका कार्कीको वारेसमार्फत अधिवक्ता सुप्रेक्षा जोशीले बिहीबार सर्वोच्चमा रिट निवेदन दर्ता गराएकी हुन् ।

५. किन फुट्यो जसपा नेपाल ?

जनता समाजवादी पार्टी (जसपा) नेपाल तीन कारणले फुटेको अशोक राई नेतृत्वको पार्टीले दाबी गरेको छ ।

राई नेतृत्वको जनता समाजवादी पार्टीले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गर्दै वैचारिक सैद्धान्तिक, सङ्गठनात्मक र कार्यशैलीका कारणले पार्टी फुटेको जानकारी गराइएको हो ।

६. लामिछानेलाई बोल्न दिन कांग्रेस तयार

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई संसद्‍मा बोल्न दिन नेपाली कांग्रेस तयार भएको छ । रास्वपाका सभापतिसमेत रहेका लामिछानेलाई रोष्टममा गएर बोल्न कांग्रसले अवरोध नगर्ने भएको हो ।

७. न्यायाधीशको सरुवा

तीन जना न्यायाधीशको सरुवा भएको छ । तीमध्ये दुई जनाको काज सरुवा  भएको हो । बिहीबार न्यायपरिषद् बैठकले उनीहरूको सरुवा गरेको हो ।

८. प्रदेश बजेटबारे

सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्ष ०८१–०८२ को बजेट कार्यक्रम चालू आर्थिक वर्ष २०८०–०८१ को भन्दा १० प्रतिशत बढीले आउने अनुमान गरिएको छ ।

आर्थिक मन्दीका कारण बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेटको आकार घट्ने भएको छ । आर्थिक सङ्कटका कारण सरकारको आयस्रोतमा सङ्कुचन आएसँगै आर्थिक वर्षको बजेटको आकार पनि घट्ने भएको हो ।

लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षको तुलनामा झण्डै १० अर्ब रुपैयाँ घटाएर आगामी आर्थिक वर्षको बजेट ल्याउने तयारी गरिरहेको छ ।

९.अधिवेशन व्यवस्थित बनाइने

सभामुख देवराज घिमिरे र संसदीय दलका प्रमुख सचेतक र सचेतकहरूको छलफल बिना निष्कर्ष सकिएको छ । बिहीबार सिंहदरबारमा बसेको बैठकमा शुक्रबारदेखि सुरु हुने वर्षे अधिवेशन व्यवस्थित बनाएर लैजाने बारेमा छलफल भएको हो ।

१०. कर्णालीका मुख्यमन्त्रीको एक महिना

‘हिजो प्रतिपक्षमा हुँदा सरकारलाई सल्लाह, सुझाव दिएको थिएँ, आज म काम गर्ने ठाउँमा पुगेको छु । अब प्रतिप्रश्न उठ्न नदिने गरी काम गर्ने छु,’ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले चैत २९ गतेको प्रदेश सभा बैठकमा भनेका वाक्य हो यो ।

यदि कँडेलले भनेजस्तै सरकारलाई गति दिन सकेको भए सरकारले पूर्णता पाएर पनि बजेट निर्माणको चटारो हुन्थ्यो । बिहीबार (आज) उनी मुख्यमन्त्री भएको एक महिना पुगेको छ । यो अवधिमा न उनले सरकारलाई पूर्णता दिन सके, न कुनै आशा जगाउने कामको सुरुवात नै गर्न सके ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप