मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

बालिका करणी र हत्या अभियोगमा आजीवन कैद सजाय

आइतबार, ०३ असार २०८०, १२ : १४
आइतबार, ०३ असार २०८०

बारा । बारामा ९ वर्षीय बालिकालाई जबर्जस्ती करणी गरेर हत्या गरेको अभियोगमा आदर्शकोतवाल गाउँपालिका–७ का सन्तोष साह कानुलाई बारा जिल्ला अदालतले आजीवन कैदको फैसला गरेको छ । जिल्ला न्यायाधीश प्रकाश राउतको इजलासले जेठ ३० गते साहलाई आजीवन कैद हुने फैसला सुनाएको हो । आदर्शकोतवाल गाउँपालिका–७ स्थित कुखुरा फर्म छेउको खाली चौरमा बाख्रा चराइरहेकी सोही गाउँकी ९ वर्षीय बालिकालाई ललाईफकाई कुखुरा फर्ममा बोलाएर सन्तोष साह कानुनले २०७८ पुस २५ गते जबरजस्ती करणी गरेर हत्या गरेका थिए ।

हत्यालगत्तै साहले बालिकाको शव गाउँ नजिकैको जमुनी खोलामा फालेका थिए । साहलाई मुलुकी अपराध संहिता २०७४ को दफा १७७ को (१) अनुसार ज्यान सम्बन्धी कसुर र दफा २१९ को जबरजस्ती करणी सम्बन्धी व्यवस्थाको (३) अनुसार आजीवन जन्मकैद सजाय भएको हो ।

बारा जिल्ला अदालतले यी दुवै कानुनलाई टेकेर साहलाई आजीवन जन्मकैदको फैसला भएको श्रेस्तेदार (उपसचिव) नवराज जोशीले जनाए । जबरजस्ती करणीमा पीडित जीवित रहेको अवस्थामा जन्मकैदको व्यवस्था छ तर जबरर्जस्ती करणी पश्चात हत्या हुँदा दोहोरो सजाय हुने व्यवस्था अनुसार पीडकलाई आजीवन जन्मकैदको फैसला भएको बारा जिल्ला अदालतले जनाएको छ ।

मुलुकी अपराध संहिता अनुसार जन्मकैद भन्नाले २५ वर्ष र आजीवन जन्मकैद भन्नाले जीवनभर कैद सजायलाई मानिन्छ ।

‘दुवै कसुर कायम हुने ठहर भएकाले प्रतिवादी सन्तोष साह कानुलाई मुलुकी अपराध संहिता २०७४ को दफा ४१ अनुसार जीवित रहेसम्म कैद हुने ठहर्छ,’ बारा जिल्ला अदालतका श्रेस्तेदार जोशीले भने ।

यस्तो थियो घटना

२०७८ पुस २५ गते दिउँसोका समयमा घरबाट बाख्रा चराउन गएकी बालिका सोही दिनदेखि बेपत्ता भएकी थिइन् । त्यसको २ दिनपछि २०७८ पुस २७ गते दिउँसो अन्दाजी १२ः३० बजे जमुनी खोलाको पानीमा ती बालिका मृत अवस्थामा फेला परेकी थिइन् । कुखुरा फर्मको नजिकै बाख्रा चराइरहेकी बालिकालाई साहले आफ्नै पिताले सञ्चालन गरेको कुखुरा फर्म नजिकै बोलाएर जबर्जस्ती करणी गरेको र बालिका चिच्याएपछि घाँटी थिचेर, बालिकाको टाउकोमा कोदालो हानेर हत्या गरेका थिए ।

हत्या लगत्तै साहले बालिकाको शव बोराले छोपी राखेको र सोही दिन राति १२ बजेपछि कोही नभएको मौका छोपेर जमुनी खोलामा फालेका थिए । साहले बालिकाको जबरर्जस्ती करणी र हत्या लगत्तै घटनामा प्रयोग भएका केही सामान आगो लगाएर जलाएका थिए ।

भोलिपल्ट बिहान कुखुरा फर्मबाट आमा घरतर्फ जान लाग्दा साहले प्लाष्टिकको झोलामा बालिकाको जुत्ता, रुमाल प्याक गरी आफ्नी आमा शान्तिदेवीलाई नहरमा लगेर फाल्न लगाएका थिए । यद्यपि, सो घटनामा बारा जिल्ला अदालतले शान्तिदेवीलाई भने सफाइ दिएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा शान्तिदेवीलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा उनले नै छोराले आफूलाई नहरमा फाल्न पठाएको झोला लगायतका विषयमा जानकारी दिएपछि प्रहरीले बालिकाको हत्यामा साह नै संलग्न रहेको पत्ता लगाएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शारदा पोखरेल
शारदा पोखरेल
लेखकबाट थप