शुक्रबार, १८ जेठ २०८१
ताजा लोकप्रिय

बालकथा : पशुबलि

बिहीबार, ०७ असार २०८०, ११ : ०९
बिहीबार, ०७ असार २०८०

देवीदेवताको नाममा प्रायः हामी पशुपन्छीको बलि दिने गर्छौं । हामीमध्ये धेरैले कुलायन पूजामा समेत पशुपन्छीको बलि दिँदै आएका छौँ । यसरी बलि दिँदा उनीहरू खुसी भएर मनोकामना पूरा गरिदिन्छन् भन्ने हाम्रो विश्वास छ । तथापि वास्तविकता के हो भने बलि दिँदैमा देवीदेवता खुसी भएर वरदान दिन्छन् वा फलिफाप हुन्छ भन्ने कुरा भने अन्धविश्वासबाहेक केही होइन । न पशुपन्छीको बलि दिँदैमा देवीदेवता खुसी हुन्छन् न धर्म वा मनोकामना पूरा नै हुन्छन् । बरू के चाहिँ हो भने बलिवेदीमा काटिएका पशुपन्छीको श्रापले उल्टै हानिनोक्सानी बेहोर्नुपर्ने अवस्था भने आउन सक्छ । भाइबहिनीहरूको जानकारीका लागि यहाँ यसैसम्बन्धी एउटा कथा प्रस्तुत गरिएको छ । 

धेरै पहिलेको कुरा हो । कुनै गाउँमा एक जना विद्वान् ब्राह्मण बस्थे । उनी ज्ञानी थिए, गुणी गुणी थिए । वेदवेदान्तको खानी नै मानिन्थे । सेवा, सत्कार र परोपकार त उनको मूलभूत विशेषता नै थियो । देवता तथा पितृको आशीर्वाद थियो, इष्टमित्र थिए, धन थियो, सम्पत्ति थियो । कमी थियो त केवल सन्तानको । भौतिक सुख, सुविधा भए पनि खोइ कुन्नि किन हो, जीवनको उत्तरार्धसम्म सन्तान सुख भने मिलेको थिएन । यद्यपि सन्तान होस् भनेर हरिवंश पुराण पनि लगाएकै हुन् । शतचण्डी पनि गराएकै हुन् । भोकालाई खान र नाङ्गालाई लगाउन पनि दिएकै हुन् । धर्मशाला बनाए, पाटीपौवा बनाए । चौतारो बनाए, पौशाला खुलाए । तथापि सबै प्रयास व्यर्थ भए ।

अन्त्यमा गुरुपुरोहित तथा ज्योतिषहरूको सल्लाह अनुसार पुत्रेष्टि नामको यज्ञ गराए । सात दिनसम्म देश विदेशका विद्वान्हरू जम्मा भएर यज्ञ सम्पन्न गरे । समाप्तिमा पशुबलि दिनुपर्छ भन्ने भयो । जब्बर बोको किनेर ल्याइयो । जब बोकाको पूजा गरी काट्न लागियो उसले अट्टहास गर्दै भन्यो–

‘यजमान ! यस यज्ञको नाम के हो ?’

प्रतिउत्तरमा ब्राह्मणले भने–

‘किन र बलि देवता ? यसलाई पुत्रेष्टि यज्ञ भनिन्छ ।’

‘यसो गर्नाले के हुन्छ ?’

‘देवता खुसी भएर मनोकामना पूरा गरिदिन्छन् ।’

‘कसको मनोकामना पूरा गरिदिन्छन् ?’

‘यज्ञ मैले गरेको छु भने मेरै गरिदिन्छन् नि अरू कसको ?’

‘ए ! यसैका लागि मलाई काट्दै हुनुहुन्छ होइन ?’

‘हो, बलिदेवता ! सत्य त्यही हो ।’

‘यसबापत मैले चाहिँ के पाउँछु नि ?’

‘तिमीले स्वर्ग जान पाउँछौ ।’

‘कसरी ?’

‘कसरी भन्ने ? यज्ञवेदीमा काटिएका पशुपन्छीलाई देवीदेवता आफ्नै साथमा लिएर जान्छन् ।’

‘कसले भनेको ?’

‘धर्मशास्त्रले भनेको, धर्मगुरुले भनेका ।’

‘होइन उनीहरूले गलत भनेका छन् ।’ 

‘गलत भनेका छन् ?’ 

‘हो गलत भनेका छन् । मलाई स्वर्ग प्राप्ति हुन्छ हुन्न त्यो त थाहा छैन तर तपाईंले भने घोर अनिष्ट भोग्नुपर्ने छ ।’ 

‘कसरी ?’

‘कसरी भन्ने । यति बुझ्नुस् यसबापत तपाईंले पनि अर्को जन्ममा बोकाको जन्म लिएर यसै गरी बिनाकसुर काटिनुपर्ने छ ।’

‘कहाँ त्यस्तो हुन्छ ?’

‘किन हुँदैन ।’

‘के छ त्यसको प्रमाण ?’

‘म आफैँ छु ।’

‘के भन्न खोजेका हौ, प्रष्ट पार्न सक्छौ ।’

त्यसपछि बोकाले आफ्नो विगत सम्झाउँदै भन्यो–

‘हेर्नुस्, म पनि पूर्वजन्ममा तपाईंजस्तै ब्राह्मण थिएँ । ज्ञानी थिएँ, गुणी थिएँ । सबै किसिमको विद्यामा पारङ्गत थिएँ । सबैको सक्दो उपकार गरेँ । तथापि बिडम्बना कहाँ के भएछ कुन्नि एक दिन नराम्रोसँग बिरामी परेँ । जानेबुझे जति ओषधी मुलो गरियो तर ठिक भएन । त्यसपछि गुरुपुरोहितको सल्लाह अनुसार माता भगवतीको उपासना गरी एउटा कालो बोको खोजेर बलिदान दिइयो । बलिदानको काम के सकिएको थियो उसकी आमाले आएर रुँदै भनी–

‘हे पापी ब्राह्मण ! तिमीले आफ्नो स्वार्थ पूरा गर्न मेरो निर्दोष छोरा मा¥यौ । तिमीले पनि अर्को जन्ममा बोकाको जन्म पाएर यसैगरी बिनाकसुर काटिनुपर्ने छ ।’ 

यस्तो श्राप दिएर ऊ हिँडी । कता गई थाहा भएन तर मेरो भने त्यसै दिनबाट थप दुर्दिन सुरु भयो । न बेथा ठिक भयो न सम्पत्ति नै बचाउन सकियो । बिनाकसुर आइपरेको मुद्दा मामिलाको झमेला बेहोर्नुपर्दा सबै सम्पत्ति सकियो । जब सम्पत्ति सकियो, सबै सकियो । आफ्नो भन्ने कोही पनि भएनन् । यहाँसम्म कि मर्ने बेला एक घुट्को पानी खुवाउनसमेत कोही आएनन् । त्यतिसम्म त ठीकै थियो, मरेपछि पनि त्यस बाख्रीको श्रापले छाडेन । उसले भनेबमोजिम बोकाको जीवन लिनुपरेकाले त्यसैको फल भोग्न तपाईंका सामु उपस्थित भएको छु । यद्यपि पशुयोनीमा छु । तैपनि पूर्वजन्मको सम्झना भने अहिले पनि ताजै छ ।’

बोकाको कुरा सुनेर ब्रह्मणको आँखा खुल्यो । उनले तत्कालै उसलाई बन्धनबाट मुक्त गरी पूरा जीवन परहित र परोकारमा बिताए । मरेपछि खाने कोही नभएकाले सबै सम्पत्ति यस्तै कार्यमा लगाए । फलतः यसैको प्रभावले अर्को जन्ममा मुक्ति लाभ गरी स्वर्गमा गएर आनन्दले बस्न लागे । 

धेरै पहिलेदेखि सुन्दै आएको यस कथामा केकति सत्यता छ, त्यो त थाहा छैन तर पशुपन्छीको बलि दिँदा देवता खुसी हुँदैनन् भन्ने कुरा भने सत्य हो । पहिलो कुरा त देवीदेवताले पशुपन्छीको बलि नै खाँदैनन् । दोस्रो कुरा धर्मशास्त्रमा जुन बलिदानको कुरा आएको छ, त्यो अबोध पशुपन्छीको नभई आफैँलाई दुःख दिने काम, क्रोध, लोभ, मोह, अहङ्कारको हो । यस्तै कामबाट देवीदेवता खुसी भई मनोकामना पूरा हुने वातावरण तयार गरिदिन्छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कमल रिजाल
कमल रिजाल
लेखकबाट थप