मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

टाइटानिकको भग्नावशेष देखाउने पनडुब्बीमा यात्रा गरिसकेका चर्चित युट्युबरले के भने ?

बिहीबार, ०७ असार २०८०, ११ : १२
बिहीबार, ०७ असार २०८०

समुन्द्रको गहिराइमा ४,००० मिटर डुबुल्की मारेर आफ्नै आँखाले टाइटानिकका अवशेषहरू हेर्नु आजसम्म कमै मानिसले गरेको कुरा हो । गत आइतबार टाइटानिकको भग्नावशेष देखाउने पनडुब्बी पाँच जनासहित बेपत्ता भएको छ ।

दुई वर्षअघि टाइटानिक देखाउने यो पनडुब्बीले मेक्सिकन युट्युबर र अभिनेता एलन एस्ट्राडालाई आकर्षित गरेको थियो । एलन आफ्नो युट्युब च्यानल ‘एलन अराउन्ड द वर्ल्ड’ का लागि लोकप्रिय छन् ।

एलन एस्ट्राडाले आफ्नो यो यात्राको अनुभव बारे बीबीसीसँग कुराकानी गरेका छन् । उनले भने, ‘यस यात्रामा संलग्न सबैलाई हामीले कस्तो खालको जोखिम लिन गइरहेका छौँ भन्नेबारे पूर्ण रूपमा थाहा थियो ।’

उनले भने, ‘मैले कहिल्यै पनि असुरक्षित महसुस गरिनँ । मलाई जोखिमबारे पूर्ण रूपमा थाहा थियो । मलाई थाहा थियो कि यदि गहिराइमा गएर पनडुब्बीलाई कुनै क्षति पुग्छ भने सायद हामीलाई यसबारे सुइँको पनि मिल्दैन ।’

एलनले कोरोना महामारीको बेला समुद्र भित्रको त्यस्तो यात्राबारे थाहा पाएका थिए । त्यो समयमा एलनले आफ्नो युट्युब च्यानललाई सीमाबाट बाहिर निकालेर केही नयाँ गर्ने उपायहरू खोजिरहेका थिए ।

उनले पनडुब्बीको यात्राको बारेमा अनुसन्धान गरे र आफ्ना लागि प्रायोजक जुटाए । त्यसपछि सन् २०२१ मा एलनले यात्राका लागि निवेदन दिँदा लगभग साढे दुई करोड (सामान्यभन्दा दोब्बर) भुक्तानी गरेका थिए ।

जुलाई सन् २०२१ मा उनको पहिलो प्रयास असफल रह्यो । उनी तीन अन्य यात्री र पाइलट स्टकटन रस (ओसनगेट कम्पनीका अध्यक्ष तथा पनडुब्बीका निर्माता) सँग टाइटनमा उत्रिएका तर प्राविधिक समस्याका कारण यात्रा सुरु भएको केही समय पछि नै सतहमा फर्कनु परेको थियो ।

titan submarineएक वर्षपछि उनी अर्को चालक दल र यात्रीसँग निस्किए । यस पटक एलनको यात्रा सफल रह्यो । तर यात्रा अघि उनले एक दस्ताबेजमा हस्ताक्षर गर्नुपरेको थियो । 

एट्लान्टिक महासागरको फेदमा रहेको टाइटन पनडुब्बी जस्ता प्रयोगको क्रममा यात्रा गर्दा हुने खतराका लागि यात्रुहरू स्वयं जिम्मेवार छन् भन्ने लेखिएको छ ।

एलन भन्छन्, ‘तपाईंले यात्रामा हुनसक्ने जोखिमबारे ध्यानपूर्वक पढ्नुहुन्छ । तर हवाई जहाजमा चढ्नु पनि एक जोखिम हो । यो ठुलो कुरा जस्तो देखिन्छ तर जीवन पनि त एक जोखिम नै हो । तर अन्त्यमा जुन मानिसले यसलाई सफलतापूर्वक पूरा गरे, जोखिम हुँदा हुँदै पनि टाइटानिक देख्न पाउनु एक सुखद अनुभव भएको बताएका छन् ।’

‘यो धेरै कारणका लागि अद्भुत छ,’ उनी भन्छन् । ‘धेरै कम मान्छे यत्तिको गहिराइमा पुगेका छन् भन्ने थाहा पाउँदा, त्यो डुबेको जहाज हेर्नु विशेष छ । तपाईंको अगाडि एउटा यस्तो तस्बिर छ जसलाई तपाईंले फिल्म र डकुमेन्ट्रीमा थुप्रै पटक हेरिसक्नुभएको छ । ’

टाइटन पनडुब्बीको सवारी कस्तो हुन्छ ?

एलन एस्ट्राडाका अनुसार पनडुब्बीको यात्राको सुरुमा कुनै रकेट लन्च भएको जस्तो महसुस हुन्छ । एलन भन्छन्, ‘साँच्चै भन्ने हो भने पनडुब्बीको यात्रा त्यस्तो खास छैन । तपाईं एक क्याप्सुल भित्र हुनुहुन्छ जुन क्लस्ट्रोफोबिया भएका कुनै पनि व्यक्तिका लागि अकल्पनीय छ तर त्योभन्दा बढी केही छैन । जहाज (टाइटानिक) को विध्वंस अगाडि हुनु भने सबैभन्दा प्रभावशाली चिज हो ।’

कार्बन फाइबर र टाइटेनियमले बनेको पनडुब्बीमा हिँड्न–डुल्नका लागि धेरै ठाउँ छैन । यो ६.७ मिटर लामो, २.८ मिटर चौडा  २.५ मिटर अग्लो छ ।

youtuber1साथै, यसमा ५ मानिसका लागि ९६ घण्टाको अक्सिजन छ । यात्रामा ८ घण्टाको समय लाग्छ । 

समुद्रमा चार हजार मिटर जानका लागि दुई घण्टा, टाइटानिकलाई हेर्नका लागि चार घण्टा र त्यसपछि फर्किन दुई घण्टा लाग्छ ।

पनडुब्बी भित्र भएका बेला एलन यसलाई नियन्त्रण गर्न सक्षम थिए । यसलाई एक वायरलेस भिडियो गेम कन्ट्रोलरजस्तै देखिने डिभाइसबाट नियन्त्रण गरिन्छ ।

एलन भन्छन्, ‘पनडुब्बी नियन्त्रण गर्न सजिलो छ । यसलाई अगाडि, पछाडि, माथि र तल घुमाउन सकिन्छ । त्यो अँध्यारो ठाउँमा सञ्चार र नेभिगेसन प्रणालीको मद्दतले टाइटानिकको अवशेषसम्म पुग्न गाह्रो छ ।’

आफ्नो भ्रमणको क्रममा, एलनले डुबेको जहाजसम्म पुग्न टाइटानिक फिल्मको एउटा अंश पनि हेरे । यसबारे उनको भिडियोमा पनि देखाइएको छ ।

पनडुब्बी भित्रबाट खोल्न सकिँदैन । यसलाई बाहिरबाट मात्र केही विशेष उपकरणको सहायताले खोल्न सकिन्छ ।

त्यसैले बाहिरी सहयोग बिना यात्रुहरू बाहिर निस्कन सक्दैनन् ।

एलन भन्छन्, ‘उनीहरू अरू केही गर्न सक्दैनन् । उद्धारका लागि प्रतीक्षा गर्ने बाहेक । मलाई लाग्छ कि उनीहरू लगातार सम्पर्क गर्ने कोसिस गरिरहेका होलान् ।’

‘धनाढ्यको शौक’ भर्सेस वैज्ञानिक खोज

एलनले यस्ता खालका यात्रा असाध्यै विवादास्पद हुन्छन् भन्नेबारे आफूलाई राम्रोसँग थाहा भएको बताउँछन् । यो यात्राका क्रममा हुने खर्चका लागि विशेष विवाद निम्तिने गर्छ ।

एलन भन्छन्, ‘केही मानिस यस्ता खालका यात्रालाई हल्का रुपा लिन्छन् जस्तै कि यो धनाढ्यका लागि कुनै खेलौना हो । तर मलाई विश्वास छ र मैले भेटेका वैज्ञानिकहरू यसरी समुद्रको गहिराइमा अनुसन्धान जारी राख्न सकिन्छ भन्ने विश्वास गर्छन् । किनभने यो धेरै महँगो कुरा हो ।’

प्रख्यात युट्युबर एलन उद्धारकर्ताहरूले पनडुब्बीका यात्रुलाई भेट्टाउनेछन् र धेरै कुरा सिकाउने यो एउटा अँध्यारो अध्याय  मात्रै हुनेछ भन्ने कुरामा आशावादी छन् । 

फेलिप लम्बियास /बीबीसी


 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप