मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

ठोरीमा आतंक मच्चाउने घाइते बाघलाई २ सातापछि जंगल छाड्ने

शुक्रबार, ०८ असार २०८०, २१ : ५३
शुक्रबार, ०८ असार २०८०

बारा । पर्साको ठोरी गाँउपालिकाबाट उद्दार गरिएको घाइते पाटे बाघको स्वास्थ्य अवस्थामा सुधार आएको छ । अर्को भाले बाघको आक्रमणमा परेर घाइते भएको बाघलाई पर्सा राष्ट्रिय निकुञ्जले ठोरी गाँउपालिकाबाट चैत २२ गते उद्दार गरेर ल्याएको हो ।  घाइते भएपछि स्थानीयका १२ वटा बाख्रा र २ वटा पाडा मारेर आतंक मच्चाएपछि सो बाघलाई निकुञ्जले नियन्त्रणमा लिएको थियो ।

करिव १० वर्ष उमेर समूहको सो बाघलाई खोरमा राखेर उपचार गरेपछि घाउ निको हुँदै गएको पर्सा राष्ट्रिय निकुञ्जकी पशु चिकित्सक डा.चन्द्रकला रानाले जानकारी दिइन् । सुरुमा घाइते बाघको मुखमा ७ सेन्टिमिटर गहिरोघाउ रहेको थियो भने अत्यन्तै कमजोर र दुब्लो अवस्थामा देखिन्थ्यो ।

‘अब अहिले बाघ  शिकार खेल्न सक्ने अवस्थाको भइसकेको छ, ८० प्रतिशतसम्म घाउ निको भएपछि जंगलमा छोड्दा खासै समस्या हुँदैन्’ पशु चिकित्सक डा.चन्द्रकला रानाले भनिन् ‘अहिले मान्छे देख्ने बित्तिकै आक्रामक हुन्छ, यसको अर्थ बाघ स्वस्थ्य छ भन्ने बुझिन्छ, यसलाई अहिले खानाको माध्यमबाट हामीले औषधी चलाइरहेका छौँ ।’ 

निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोक रामले घाइते बाघको अवस्थामा  धेरै सुधार भएकोले छिट्टै जंगलमा छाड्ने बताए । ‘अहिले अवस्था धेरै सुधार भएको छ, पहिले दैनिक ५ किलो मासु दिन्थ्यौ अहिले एकदिन बिराएर ५ किलो मासु र औषधी दिँदै आएका छौ’ उनले भने,  ‘बाघको ६० प्रतिशतसम्म घाउ निको भइसकेको छ, हिजो हामीले एकदमै कमजोर बाघ ल्याएका थियौं, अहिले धेरै बलियो भएको छ, अबको २ हप्तासम्म पूर्ण रुपमा निको हुन्छ भन्ने हाम्रो अनुमान छ’ जंगलमा माटो हिलोमा खेल्ने बाघलाई खोरभित्र अनुकूल वातावरण नहुने भएकाले निको भएलगत्तै जंगलमा छाड्ने जनाइएको छ ।

पर्सा राष्ट्रिय निकुञ्जमा अहिले ४१ वटा बाघ रहेका छन् । यसवर्ष पनि पोथी बाघसहितका ३ देखि ४ वटासम्म बच्चाहरु देखिएको बाघको संख्या वृद्धि अझ राम्रो हुँदै जाने निकुञ्जले जनाएको छ। 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप