शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय
बागमती प्रदेश

बागमती प्रदेशसभामा विपक्षी दलको अवरोध कायमै रहने

बुधबार, १३ असार २०८०, ११ : २६
बुधबार, १३ असार २०८०

मकवानपुर । बागमती प्रदेशसभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहित विपक्षी दलहरुको अवरोध कायमै रहने भएको छ । बजेटमाथिको छलफलका लागि आह्वान गरिएको मंगलबारको बैठकमा एमालेसहित विपक्षी दल राप्रपाका सांसदले अवरोध गरेका थिए । बजेट असन्तुलित र विभेदकारी भएको भन्दै एमाले र राप्रपाका सांसदहरुले विरोध गरेपछि बुधबार बस्नेगरी प्रदेशसभा बैठक स्थगित भएको थियो । सोही अनुसार आज बिहान ११ बजेका लागि बोलाइएको बैठकमा पनि अवरोध कायम रहने भएको छ ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमाले बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक मधुसुदन पौडेलले बुधबारको बैठक पनि चल्न नदिने बताए । सरकारले कमजोरी स्वीकार गरेर बजेट संशोधन नगरेसम्म सदन चल्न नदिने उनको भनाइ छ । ‘सरकारका तर्फबाट संसद चलाउन प्रयास भए पनि सहमति बन्न सकेको छैन । ‘सरकारले कमजोरी मानेर बजेट संशोधन गर्नुपर्छ भन्ने हाम्रो माग हो । तर, हालसम्म सरकार त्यसतर्फ अग्रसर भएको देखिँदैन,’ पौडेलले भने ।

एमाले सांसद प्रकाश श्रेष्ठका अनुसार सरकारले बजेटमा नीतिगत त्रुटि गरेका कारण त्यसमा सुधार हुनुपर्ने बताए । बजेटमा भएको नीतिगत कमजोरी सरकारले सुधार गर्नुपर्ने नै एमालेको बटम लाइन रहेको उनको भनाइ छ । उनले बने, ‘सरकारका तर्फबाट आफ्नो कमजोरी स्वीकार गरेर बजेटमा भएको नीतिगत त्रुटि समाधानमा गरे मात्र सदन चल्छ । सो विषयमा सरकार गम्भीर भएको देखिँदैन ।’

कुनै सांसद वा मन्त्री केन्द्रित भएर बजेट विनियोजन हुनु गलत रहेको उनको भनाइ छ । प्रदेशका ६६ वटा निर्वाचन क्षेत्रको समानुपातिक विकासमा लागि सरकारले बजेट केन्द्रित गर्नुपर्ने उनले बताए । सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटमाथि छलफलका लागि मंगलबार अपराह्न ४ बजे बसेको प्रदेशसभाको बैठकमा विपक्षी दलहरुको अवरोधका कारण ६ बजेसम्मका लागि स्थगित गरिएको थियो भने ६ बजेका लागि आह्वान गरिएको बैठक संचालन हुने अवस्था नरहेपछि प्रदेशसभा सचिवालयले सूचना टाँस गरेर बैठक स्थगित गरेको थियो ।

प्रदेशसभा बैठकको अवरोध हटाउन सभामुख भुवनकुमार पाठकले पहल गर्दा समेत दलहरु बीच सहमति जुट्न नसकेका कारण बुधबार ११ बजेसम्मका लागि बैठक स्थगित गरिएको थियो । एमाले सहितका प्रतिपक्ष दलका सांसदहरुले सरकारले ल्याएको बजेट विभेदकारी भएको भन्दै सदनमा उठेर विरोध गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप