बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

प्रतिनिधिसभा बैठक : शून्य समयमा कसले के भने ?

बुधबार, १३ असार २०८०, १५ : ३५
बुधबार, १३ असार २०८०

काठमाडौँ । प्रतिनिधिसभा सदस्य भानुभक्त जोशीले शिक्षकहरूको उचित व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।  

बुधवार प्रतिनिधिसभा बैठकमा बोल्दै जोशीले २०४९ सालदेखि अहिलेसम्म काम गरिरहेका माध्यामिक तह(तत्कालीन उच्चमावि) का शिक्षकहरूको बारेमा सरकारले केही पनि व्यवस्था नगरेको भन्दै उनीहरुको उचित व्यवस्थापन गर्न माग गरे । उनले शिक्षकहरु आन्दोलित भएकाले उनीहरुको मागको सम्बोधन गर्न अनुरोध गरे ।

प्रतिनिधिसभा सदस्य महेशकुमार बर्तौलाले देशका विभिन्न स्थानीय तहका स्वास्थ्यकर्मीहरुले महिनौँदेखि तलब पाउन नसकेका भन्दै उनीहरुलाई तलबको सुनिश्चितता गर्न माग गरे ।

उनले भने,‘२ हजारभन्दा बढी कर्मचारीहरु ३१३ पालिकामा स्वास्थ्यकर्मीहरु विभिन्न पदका छन् जसले ३ देखि १३ महिना तलब पाएको अवस्था छैन । अविलम्ब ति स्वास्थ्यकर्मीहरुले तलब पाउने अवस्थाको सुनिश्चितता गरियोस् ।’

यस्तै माधव सापकोटाले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धी विधेयक संसद्को यहि अधिवेशनबाट पारित गर्नुपर्ने बताए । त्यस्तै संघीय निजामती कर्मचारी सेवा ऐन, संघीय शिक्षा ऐन, संघीय प्रहरी समायोजन ऐन जस्ता महत्त्वपूर्ण ऐनहरुलाई पनि यसै अधिवेशनमा पारित गर्न सरकारको ध्यानाकर्षण गराए ।  

प्रतिनिधिसभा सदस्य मेनकाकुमारी पोखरेलले किसानहरूले मल पाउन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराइन् । उनले बिचौलिया र सहकारीहरुले किसानलाई मल नदिने गरेको भन्दै उनीहरुलाई कारबाही गर्न सरकारसँग माग गरे ।  

प्रतिनिधिसभा सदस्य मंगलप्रसाद गुप्ताले संघीय निजामती सेवा ऐन तत्काल ल्याएर लागू गर्न माग गरे ।

प्रतिनिधिसभा सदस्य रघुजी पन्तले विद्युतको अनियमितता हुन थालेको भन्दै सरकारको ध्यानाकर्षण गराए ।  

प्रतिनिधिसभा सदस्य रणकुमारी बलम्पाकी मगरले अनलाइनमार्फत घर–घरमा पासपोर्ट पु¥याउने व्यवस्था गर्न माग गरिन् ।  

प्रतिनिधिसभा सदस्य रणेन्द्र बरालीले गायक प्रकाश सपुतमाथि रोमनियामा बोतल प्रहार गर्नेलाई हदैसम्मको कारबाही गर्न माग गरे ।  

प्रतिनिधिसभा सदस्य रमा कोइराला पौडेलले जुम्ला हिमा गाउँपालिकाका मायालाल परियारको मलेसियामा निधन भएको भन्दै उनको बीमा लगायतको सुविधासहित पार्थिव शरीर नेपाल ल्याउन सरकारको ध्यानाकर्षण गराइन् ।  

प्रतिनिधिसभा सदस्य रञ्जुकुमारी झाले मनशुनबाट हुने क्षतिबाट बच्न पूर्वतयारीमा रहन सरकारको ध्यानाकर्षण गराइन् । 

प्रतिनिधिसभा सदस्य राजेन्द्रकुमार केसीले ललिता निवास जग्गा प्रकरणमा संलग्न ठूलाहरुलाई समात्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराए ।  

प्रतिनिधिसभा सदस्य रामकुमार राईले भूकम्प पीडितले दोस्रो र तेस्रो किस्ता नपाउँदा नपाएको भन्दै दुवै किस्ता दिन सरकारको ध्यानाकर्षण गराए ।  

प्रतिनिधिसभा सदस्य रामप्रकाश चौधरीले अतिरिक्त हुलाकका ११ हजार कर्मचारीलाई रोजगारीबाट मुक्त गरिएको भन्दै उनीहरुलाई सोही पदमा कायम राख्न माग गरे । 

प्रतिनिधिसभा सदस्य रामहरी खतिवडाले ललिता निवास जग्गा प्रकरणका आरोपित सबैलाई पक्रन सरकारसँग माग गरे ।  

प्रतिनिधिसभा सदस्य रोशन कार्कीले दाइजो पीडितहरुको उजुरी हेर्न र दोषी उपर कारबाही गर्न गृह मन्त्रालयमा हेल्पलाइन डेस्क राख्न माग गरे । उनले उजुरीहरुमाथि फास्टट्रयाकबाट कारबाही गर्नुपर्ने बताए ।  

प्रतिनिधिसभा सदस्य लिलानाथ श्रेष्ठले कृषकहरुलाई मलखादको अभाव भएको भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराए । उनले वर्षायाम्मा तराईमा बाढी आउनेतर्फ सचेत हुँदै सुरक्षाका लागि चाहिने सामग्रीहरुको व्यवस्था गर्न सरकारसँग माग गरे ।  

प्रतिनिधिसभा सदस्य लेखनाथ दाहालले सरकारले जग्गाको कित्ताकाट रोकिएको अवधिमा भूमाफिया र जग्गा दलालमार्फत् जग्गाको कित्ताकाट भएको भन्दै सो उपर छानबिन गरी दोषीउपर कारबाही गर्न माग गरे ।  

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप