बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

लुम्बिनीमा आठ सय किलोमिटर सडक कालोपत्र

मङ्गलबार, १९ असार २०८०, १६ : ५७
मङ्गलबार, १९ असार २०८०

तुलसीपुर । लुम्बिनी प्रदेशमा पछिल्लो पाँच वर्षमा आठ सय ११ किलोमिटर सडक कालोपत्र गरिएको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण अनुसार आर्थिक वर्ष २०७५/७६ देखि चालु वर्षसम्म सो परिमाणमा सडक कालोपत्र भएको हो । 

अर्थ मन्त्रालयले सार्वजनिक गरेको सर्वेक्षण अनुसार एक हजार ६८ किलोमिटर सडक ग्राभेल र एक हजार नौ सय ६४ किलोमिटर सडक कच्ची छ । प्रदेश सरकारले सडक सुरक्षालाई प्राथमिकतामा राखी सडक निर्माण, मर्मत र स्तरोन्नतिको काम अघि बढाएको प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले बताए ।  उनका अनुसार कृषि सडक, पर्यटनस्थल एवं उद्योगस्थल पहुँच मार्ग, सीमा क्षेत्र सडक कार्यक्रम, प्रदेश गौरबका सडक तथा प्रदेशका प्रमुख राजमार्ग निर्माण एवं स्तरोन्नतिबाट ग्रामीण–सहरी आवद्धता र कृषि उत्पादन तथा बजारीकरणमा टेवा पुगेको छ । 

लुम्बिनी प्रदेशका १२ वटै जिल्ला सदरमुकाम पक्की सडक सञ्जालले जोडिएका मन्त्री मास्कीले बताए ।  लुम्बिनीमा हालसम्म कच्ची, ग्राभेल र कालोपत्र गरी नौ हजार पाँच सय ९४ किलोमिटर सडक छ । 

८९ मोटरेवल पुल 

लुम्बिनीमा पछिल्लो वर्षमा ८९ मोटरेवल पुल निर्माण भएका छन्  । त्यस्तै प्रदेश भरि २६  झोलंङ्गे पुल निर्माण भएका छन् । चालु आवमा मात्रै १७ मोटरेवल पुल र तीन  झोङ्गे पुल निर्माण भएका छन् । लुम्बिनीमा चालु आवमा दुई सय ४८ मेगावाट विद्युत् उत्पादन भएको छ । प्रदेशमा तीन हजार मेगावाट विद्युत् उत्पादनको क्षमता रहेको मन्त्री मास्कीले बताए । 

त्यस्तै लुम्बिनीमा ९८.३२ प्रतिशत जनसङ्ख्या विद्युतको पहुँचमा पुगिसकेका छन् । रोल्पा र रुकुम पूर्व सबै भन्दा कम विद्युतीकरण भएका जिल्ला हुन् । लुम्बिनीमा परम्परागत ऊर्जाको प्रयोग गर्ने जनसङ्ख्या ५६.४ प्रतिशत रहेको छ, भने अन्य वैकल्पिक स्रोत प्रयोग गर्ने ४३.६ प्रतिशत रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप