बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय
संखुवासभामा बाढी, पहिरो

सुपर हेंवा हाइड्रोपावरमा काम गर्ने १९ मजदुर अझै भेटिएनन्

तीन चरणको खोजी गर्दा पनि बेपत्ताको अवस्था पत्ता लाग्न सकेन
मङ्गलबार, १९ असार २०८०, २० : ५९
मङ्गलबार, १९ असार २०८०

विराटनगर । असार २ गते शनिबार राती आएको बाढीमा परी संखुवासभाको सुपर हेंवा हाइड्रोपावरमा काम गर्ने २२ जना मजदुर बेपत्ता भए । तीमध्ये ३ जनाको शव भेटिए पनि १ को अझै पहिचान भएको छैन । 

जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख प्रहरी नायव उपरीक्षक वीरेन्द्र गोदारका अनुसार बेपत्ताको खोजी कार्य तीन चरणमा गरिएको छ । जसअनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना तथा स्थानीय जनताको सहभागितामा पहिलो चरणमा खोजी गरियो । 

दोस्रो चरणमा बेपत्ताहरू पुरिएको वा बगाएको स्थानमा मेसिन तथा औजारहरुको सहयोगमा खन्ने काम भयो । तेस्रो चरणमा कुकुर लगाएर खोजी भयो । तर, अहिलेसम्म १९ जनाको अवस्था अज्ञात रहेको गोदार बताउँछन् । 

‘अझै केही समय त फेला पर्छन् कि भनेर धैर्य धारणा गर्नै पर्‍यो ।’ गोदार भन्छन्, ‘पहिलेको जस्तो ठूलो टोली गएर खोजी भइरहेको छैन । २÷४ जना खोलाको किनारतिर केही पत्तो लाग्छ कि भनेर खोजी गरिरहेका छौँ ।’ त्यसपछि के गर्ने भन्ने विपद् व्यवस्थापन समितिले छलफलबाट निर्णय गर्ने र त्यही अनुसार विपद् व्यवस्थापनको केन्द्रीय कार्यालयमा सिफारिस गरिने उनको भनाई छ । 

संखुवासभाका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले सरकारले मृतकसरह व्यवहार गर्ने भन्ने निर्णय गरेको अवस्थामा परिवारलाई राहत दिन सकिने अवस्था रहेको बताए । 

‘भेटिने सम्भावना कम छ भनेर स्थानीय तहले पत्र पनि पठाएका छन्,’ कार्कीले भने, ‘यसको सम्बन्धमा के गर्ने भन्ने विषयमा हामीले छलफल गरिरहेका छौँ ।’

केही दिन अगाडि मात्रै एउटा शव भेटिएको कारण अझै खोजी कार्य जारी राख्नुपर्ने अवस्था आएको उनले बताए । ‘३÷४ दिन अगाडि नै एउटा शव भेटिएको कारण अझै केही दिन खोजी गर्नुपर्ने देखिन्छ । देवानी संहिता र फौजदारी संहिताले २ वर्षसम्म नभेटिएको अवस्थामा मृतक मान्ने प्रावधान छ । तर, प्राकृतिक प्रकोपको हकमा नेपाल सरकारले नै निर्णय गर्नुपर्छ । हामीले सिफारिससम्म गर्न सक्छौँ,’ उनले भने । 

बाढीले चैनपुर–४ मा निर्माणाधीन सुपर हेंवा हाइड्रोपावरका २२ जना मजदुर बेपत्ता बनाएको थियो । बेपत्ता हुनेमा सुपर हेँवा हाइड्रोपावरका सुपरभाइजर सन्तोष ढकाल (सुनसरी), भुवनसिंह तामाङ (चैनपुर नगररपालिका), सुवास राई (संखुवासभा), फैजबहादुर कार्की (झापा), गणेश गिरी (धनकुटा), राजकुमार मगर (इलाम), मीना श्रेष्ठ  (झापा), रामजतन थारू (कैलाली), राहुल थारू (बर्दिया), रोहित थारू (बर्दिया), पुलसन थारू (बर्दिया), कालीराम थारू (बर्दिया), राजराम थारू (बर्दिया), सुगत थारू (कैलाली), अमर थारू (कैलाली), सीता थारू (कैलाली) र दीपक मगर (संखुवासभा) छन् । 

त्यसै गरी, सभापोखरी गाउँपालिका–३ सुनाम्लामा गोठ बगाउँदा ६० वर्षीय गणेश राई र ६१ वर्षीया सञ्चमाया राई रहेका छन् । यस्तै चैनपुर नगरपालिका–१ नुनढाकीमा बर्दिया नगरपालिकाका भीम चौधरी, अप्पर हेवाखोला हाइड्रोपावरका मजदुर चैनपुर नगरपालिका–४ का ५० वर्षीय ज्ञानबहादुर लिम्बू पनि बेपत्ता छन् । 

चैनपुर नगरपालिका ४ र पाँचखपन नगरपालिका–९ मा गएको पहिरोले खोला थुनिएपछि आएको बाढीले बगाउँदा धेरै जनधनको क्षति भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप