आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय
कोशी प्रदेश सरकार

किन बिच्कियो एकीकृत समाजवादी ?

राप्रपासहितका लागि ३ मन्त्री पद खाली
आइतबार, २४ असार २०८०, १४ : ११
आइतबार, २४ असार २०८०

विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापालाई मन्त्रीहरूको शपथग्रहण सम्पन्न गराउन निक्कै सकस पर्‍यो । गत असार २१ गते मुख्यमन्त्रीमा नियुक्त भएका थापाले २२ गते शपथ लिएसँगै मन्त्रीमण्डलमा २ जना मन्त्री नियुक्त गरेका थिए । जसमा काँग्रेसका प्रदीपकुमार सुनुवार र नेकपा (एकीकृत समाजवादी)का कमलप्रसाद जबेगु थिए । 

माओवादी केन्द्रले भने आन्तरिक विवादका कारण २२ गते मन्त्रीको नामावली पठाउन सकेको थिएन । माओवादीले मन्त्रीको नाम फाइनल गरेपछि आजका लागि शपथग्रहण कार्यक्रम तय भएको थियो । प्रदेश प्रमुखको कार्यालयमा बिहान ९ बजेका लागि राखिएको शपथग्रहण कार्यक्रम सुरु हुनै निक्कै सकस पर्‍यो । 

सुरुमा माओवादीबाट आचार्यलाई मात्र मन्त्री बनाउने तय भएको थियो । एक जनाको शपथग्रहणको तयारी गरिरहेको प्रदेश प्रमुखको कार्यालयलाई मुख्यमन्त्री कार्यालयबाट साढे ८ बजेतिर खबर आयो, ३ जना मन्त्रीको शपथको तयारी गर्नुहोला । त्यसको १० मिनेटपछि अर्को खबर आयो, ‘५ जनाको लागि तयारी गर्नुहोला ।’

बिना सल्लाह ५ जना मन्त्री नियुक्तिको तयारी गरेको सुइँको पाएपछि एकीकृत समाजवादी प्रदेश संसदीय दलका नेता राजेन्द्रकुमार राईले सञ्चारमाध्यममा कडा टिप्पणी गरे । ‘यो सरकारलाई हामी विश्वासको मत दिन सक्दैनौँ,’ राईले भने । राईको यो टिप्पणीपछि शपथका लागि तयार पारिएका ५ वटा कुर्सीमध्ये २ वटा कुर्सी हटाइयो । 

विवादपछि मुख्यमन्त्री थापाले माओवादीका प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङ, दलका नेता इन्द्रबहादुर आङ्बो, नेकपा एसबाट मन्त्री बनेका कमलप्रसाद जबेगुसँग निक्कै बेर छलफल गरेपछि तीन जनाको मात्रै शपथ लिने टुङ्गो लागेको थियो । विवाद साम्य पार्न थापाले नेकपा एसका नेता राजेन्द्र राईलाई पनि फोन गरेका थिए । राईले मुख्यमन्त्रीको फोनसमेत नउठाएपछि नवनियुक्त मन्त्रीसमेत रहेका कमलप्रसाद जबेगुले आफ्नै फोनबाट मुख्यमन्त्रीसँग उनलाई कुरा गराएका थिए । फोन कुराकानीमा छलफल नगरेर आफूले गल्ती गरेको भन्दै मुख्यमन्त्रीले राईसमक्ष माफी मागेपछि शपथग्रहणमा नेकपा एस सहभागी बनेको थियो ।

राईले आफूहरूसँग भएको सहमति विपरीत मन्त्रीहरू नियुक्त गर्दा समस्या भएको बताए । यद्यपि त्यसको निरूपण छलफलबाटै हुने र आजै छलफल बोलाउन मुख्यमन्त्री तयार हुनुभएको उनको भनाइ छ । ‘छलफलका लागि आजै मुख्यमन्त्रीले बोलाउनु भएको छ । समय निर्धारण भने भएको छैन । पहिला जे सल्लाह भयो त्यो कुराभन्दा प्लस भएपछि थप सल्लाह गर्नुपर्थ्यो वा फोनबाट भए पनि यस्तो गर्दैछु है भनेको भए मैले नाइँ भन्ने विषय थिएन,’ राईले भने, ‘दिनैभरि फोन सम्पर्कमा भइरहँदा पनि उहाँहरूले मलाई जानकारी नदिएको कारणले तरिका ठिक भएन भन्ने हो । पाउने त उहाँहरूले नै पाउने कोटा हो ।’

पूर्व मुख्यमन्त्रीसमेत रहेका राईले शपथग्रहणको कार्यक्रम १ घण्टाभन्दा ढिला हुनुमा भने आफू दोषी नरहेको प्रतिक्रिया दिए । ‘शपथ रोकिनुको कारण चाहिँ उहाँहरूकै कारणले हो । मेरो कारणले होइन । सायद माओवादीको विवादको कारणले ढिलो भएको जस्तो लाग्छ । उहाँहरूको तर्फबाट एक जना मात्रै शपथ गराउने कुरा थियो । तर, यसो गरियो भन्ने सल्लाह पनि गर्नुभएन,’ राईले भने, ‘अस्तिको कुरा राप्रपासँग पनि कुरा गरेर सबैको टुङ्गो लगाउन पाए हुन्थ्यो । तीन चार दिन कुरौँ भन्ने कुरा थियो । अब धेरै मन्त्री नियुक्ति भएको अवस्थामा धेरै बिना विभागीय राख्नु असहज देखिने भएको हुनाले आज बसेर टुङ्गो लाग्छ होला ।’

उनले मन्त्रालयको भागबन्डा अझै नटुङ्गिएको र नियुक्त मन्त्रीहरूलाई भने आज बस्ने गठबन्धनको बैठकले मन्त्रालयको जिम्मा दिने बताए । ‘अहिलेसम्म कसले कति मन्त्रालय लिने भन्ने विषयमा छलफल भएको छैन । सबै पार्टीबाट एक–एक जना गरौँ न त भनेर उठेर हिँडेका थियौँ,’ उनले भने, ‘अझै पनि राप्रपाको कुराले गर्दा सबै टुङ्ग्याउन अप्ठ्यारो होला । राप्रपालाई पनि ठाउँ राखिदिनुपर्‍यो । ९ मन्त्रालयमा जसपालाई एउटा दिनैपर्‍यो । बाँकी २ वटा रह्यो । त्यो चाहिँ राप्रपासँग छलफल गरेर टुङ्गो लाग्छ । तर, विभागीय जिम्मेवारी आजै टुङ्गिन सक्छ । बाँकी मन्त्रालयको जिम्मा मुख्यमन्त्रीको हुनेछ ।’ राईले मन्त्रालयको सङ्ख्या भने नबढ्ने बताए । ‘मन्त्रालय बढाउने कुरा अहिले छैन,’ राईले भने ।

६ जनाको मन्त्रीमण्डल बन्यो

यस्तै मुख्यमन्त्री उद्धव थापाले मन्त्रालयको सङ्ख्या नबढ्ने गरी भागबन्डा गर्ने तयारी गरेका छन् । हालसम्म मुख्यमन्त्री थापाले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मा माओवादी केन्द्रका जीवन आचार्यलाई दिएको छ । अन्य मन्त्रालयहरू मुख्यमन्त्रीकै जिम्मामा रहेको छ । नियुक्त भएका अन्य ४ जना मन्त्रीको मन्त्रालय पनि तोकिएको छैन । गत २२ गते नियुक्त भएका सुनुवार र जबेगु तथा आज नियुक्त भएका माओवादीका राजेन्द्रकुमार कार्की र काँग्रेसका रामकुमार खत्रीले कुनै मन्त्रालयको जिम्मेवारी नपाएका हुन् । 

आर्थिक मामिला मन्त्रालय पाएको माओवादी केन्द्रलाई अब सामाजिक विकास मन्त्रालय थप हुने भएको छ । यस्तै राप्रपा सरकारमा सहभागी भएको अवस्थामा निःशर्त भौतिक पूर्वाधार विकास मन्त्रालय दिने तयारी गरिएको छ । राप्रपा नआए नेकपा एसका तर्फबाट मन्त्री बनेका कमलप्रसाद जबेगुलाई उक्त मन्त्रालयको जिम्मा दिने दलहरूबीच सहमति भएको छ । काँग्रेसले खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालय लिने भएको छ । जसपा सरकारमा आएको खण्डमा पुनः स्वास्थ्य मन्त्रालय दिने तयारी गरेको बुझिएको छ । यद्यपि जसपाले कोशी नाम परिवर्तन गर्न सहमति जनाए मात्रै सरकारमा सहभागी हुने बताउँदै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप