शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

देशभर ‘बगान’ रिलिज, केही हलमा दोहोरियो ‘बिहे पास’

शुक्रबार, २९ असार २०८०, १० : ४५
शुक्रबार, २९ असार २०८०

काठमाडौँ । आज शुक्रबारबाट फिल्म ‘बगान’ प्रदर्शनमा आएको छ । फ्राइडे रिलिज अन्तर्गत सिङ्गल रिलिज भएको फिल्मलाई देशभरका ८० भन्दा बढी हलमा १०० भन्दा बढी शो दिइएको छ ।

सफल अभिनेता सरोज खनालको निर्देशनमा डेब्यु फिल्म ‘बगान’मा करिश्मा मानन्धर, आकाश श्रेष्ठ, प्रमीला कार्की, नीर शाह, वसुन्धरा भुसाल र मिथिला शर्मा लगायतको अभिनय छ । निर्देशक खनालको पनि यसमा प्रमुख भूमिका छ । अभिनेत्री कार्कीले यही फिल्मबाट अभिनयमा डेब्यु गरेकी हुन् ।

फिल्मको बुधवार प्रिमियर भएको थियो । प्रिमियरमा फिल्मले सबैको मन जित्न सफल भयो । उक्त अवसरमा कतिपयले फिल्म क्रान्ति भएको र नेपाली समाजलाई परिवर्तनको बाटो देखाउने प्रतिक्रिया दिएका थिए ।
फिल्म देशभरका एकल आमाहरूलाई निःशुल्क हेर्न पाउनेछन् । स्वप्निल नीरवको कथामा आधारित रही बनेको यो फिल्म  नेपाली वेबसाइट डटकमको प्रस्तुतिमा बनेको हो ।
‘बगान’का निर्माता सुरेश वाग्ले हुन् भने कार्यकारी निर्माता विनोद मानन्धर हुन् । हरि लम्साल र सुवास भुसालको सङ्गीत रहेको फिल्म रिच इन्टरटेन्मेन्ट र डिसिएनले काठमाडौँ उपत्यका र एफडी कम्पनीले बाहिर वितरण गरेको हो ।

‘बिहे पास’ पनि :
अभिनेता दयाहाङ राई तथा अभिनेत्री प्रकृति श्रेष्ठ अभिनीत फिल्म ‘बिहे पास’ पुनः केही हलमा आजबाट रिलिज भएको छ । गत बैशाख १ गते रिलिज भएको फिल्म दर्शकको चाहना अनुसार फेरि रिलिज गरिएको निर्माता रोहित कट्टेलले बताए ।
विवाहको लागि युवतीको मन जित्न एक पुरुषले गर्ने सङ्घर्षको कथामा फिल्म निर्माण भएको छ । प्रेमकथामा आधारित यो फिल्ममा पहिलो पटक दयाहाङ र प्रकृतिले स्क्रिन सेयर गरेका हुन् । 
प्रवेश पौडेल निर्देशित फिल्ममा दयाहाङ र प्रकृतिको अलवा शिशिर बाङ्देल, बुद्धि तामाङ र रवीन्द्र झा लगायतको अभिनय छ । रोजन श्रेष्ठले निर्माण गरेको फिल्मको कार्यकारी निर्माता रत्न श्रेष्ठ हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप