बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय
वैदेशिक रोजगार

‘कुवेत उड्न किन रोक लगाइयो भनेर सोध्दा बढी बोले पुलिस बोलाइदिन्छु भनियो’

शनिबार, ३० असार २०८०, ०६ : ४९
शनिबार, ३० असार २०८०

काठमाडौँ । बाग्लुङ बुर्तिबाङका धनबहादुर (नाम परिवर्तन) घरबाट बिदा मागेर काठमाडौँ हानिए । वैदेशिक रोजगारीका लागि कुवेत जान उनी घरबाट टीकाटालो भई बिदाइ भएर आएका थिए । 

उनी २८ असारको बिहानै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगे । कुवेत एयरमार्फत बिहान ६ बजेको फ्लाइट थियो । साथीभाइ तथा आफन्तसँग बिदाइ भेट गर्दै बोर्डिङ पासको लागि अध्यागमनतिर लागे । उनीसँगै अन्य साथीभाइ पनि सँगसँगै अगाडि बढ्दै थिए । बोर्डिङ पास पनि भयो । तर, अध्यागमनले आवश्यक कागजात चेक गर्ने क्रममा अगाडि बढ्न नपाउने भन्यो । 

‘माफ गर्नुहोला, तपाईंले पेश गर्नुभएको कागजात शङ्कास्पद देखिएको छ । तपाईंलाई हामीले प्रस्थान अनुमति दिन सक्दैनौँ भनियो ।’ अध्यागमन अधिकारीको भनाई उद्धृत गर्दै धनबहादुरले भने । 

आफ्नो के–के कागजात पुगेन ? किन रोकियो ? कुन कागजातमाथि तपाईंलाई शङ्का लाग्यो भनेर प्रश्न गर्दा अध्यागमनका कर्मचारी आक्रोशित बने । र, भने, ‘यही कागजातको आधारमा तपाईं कुवेत जान पाउनु हुन्न । बढी बोल्नु भयो भने प्रहरी बोलाएर थुनाइदिन्छौँ ।’

त्यति भनेपछि कुवेत जान हिँडेको मान्छे कतै प्रहरी लगाएर थुनाइदियो भने के हुन्छ भन्ने डरले उनी चुप लागे । अध्यागमनले उनीहरूलाई एउटा हलमा लगेर राखिदियो । र, उनीहरूलाई मेनपावर व्यवसायीले नक्कली कागजात दिएर बेच्नलाई पठाउन लागेको भन्दै अध्यागमनका कर्मचारीले क्लास दिए । 

होटल क्षेत्रमा काम गर्ने भन्दै फ्रि भिसा फ्रि टिकटमार्फत् कुवेत जान लागेका थिए उनी । उनलाई के कति कारणले रोकिएको हो अझै थाहा छैन । 

‘कागजात शङ्कास्पद देखियो भनेको छ । तर, कुन कागजात शङ्कास्पद देखियो केही भनेनन् । सिधै फर्काईदियो । कुवेत जाने घरबाट बिदा लिएर आएका हामीलाई अध्यागमनकै कारण अलपत्र परियो,’ रातोपाटीसँगको कुराकानीमा उनले भने । 

उनीसँगै उनको समूहमा रहेका १६ जनालाई रोकिएको थियो । यात्रामा रोक लगाएर उनको हातमा एउटा पत्र थमाइयो । जसमा लेखिएको थियो,– ...निजले पेश गरेको यात्रासँग सम्बन्धित कागजातहरू शङ्कास्पद देखिएको हुँदा प्रस्थान अनुमति नदिइएको । जसमा डेस्क अफिसर र प्रस्थान अफिसियलको हस्ताक्षर थियो । 

अध्यागमनले रोकेपछि उनी साथीहरूसँग काठमाडौँमा बसिरहेका छन् । उनीहरूलाई अहिलेसम्म सम्बन्धित मेनपावर व्यवसायीले नै होटलमा राखेको हो । 

यतिबेला उनी न घर फर्किन सक्ने अवस्थामा छन् । न विदेश कहिले उड्न पाइन्छ भन्ने टुङ्गो नै छ । 

‘यसरी रोक्नुपर्ने कारण के थियो ? त्यो पनि जानकारी दिइएको छैन । त्यत्तिकै तपाईंको भिसा देखिएन भनियो । जबकि भिसा देखाइरहेको छ । यतिसम्म कि डकुमेन्ट फेक रहेछ भनियो । फेक हो भने आजसम्म सम्बन्धित निकायलाई कारबाही किन नगरेको ?’ उनले प्रश्न गरे । 

उनीसँगै केहीलाई भने अध्यागमनले जान दिएको थियो । तर, उनीहरूलाई रोकेको हो । ‘मसँग भिसा लगाएका साथीहरू कुवेत पुगेर आजदेखि काममा पनि लागिसके । तर, आफ्नो भने टुङ्गो छैन,’ उनले भने । 

अध्यागमनले अराइभल टाइम भन्दा ढिला आएको, वर्किङ भिसा नदेखाएको, कागजात नक्कली भएको कारण देखाउँदै कुवेत र जोर्डन जान लागेका १३२ जनालाई रोकेको थियो ।

यो विषयमा मेनपावर व्यवसायी र अध्यागमनबीच आरोप प्रत्यारोप भइरहेको छ । अध्यागमनले आफ्नो अडान छोडेको छैन भने व्यवसायीहरूले अध्यागमनका कर्मचारीको मुडको भरमा रोकेको आरोप लगाउँदै आएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णसिंह धामी
कृष्णसिंह धामी

धामी श्रम/वैदेशिक रोजगार र शिक्षा विटमा विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप