बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

गगन थापालाई सुरेन्द्र पाण्डेको जवाफ– देउवा डुबे तपाईँ पनि डुब्नुहुन्छ

बिहीबार, ०४ साउन २०८०, १२ : ०८
बिहीबार, ०४ साउन २०८०

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले महामन्त्री गगन थापाले अतिरञ्जित कुरा गरेको बताएका छन् । केन्द्रीय समितिको तेस्रो दिनको बैठकमा बिहीबार पाण्डेले संसदीय दलको नेता परिवर्तन गर्नुपर्ने थापाको अभिव्यक्तिप्रति लक्षित गर्दै यस्तो बताएका हुन् ।

‘हाम्रो विधानले सभापति र संसदीय दलको नेता हटाउने व्यवस्था गरेको छ । विधानको अभ्यास गर्न कसैले रोक्न सक्दैन । त्यो कुन समय र कुन बेला गर्ने हो गरौं ? त्यसमा पाइन्छ । तर, गर्ने कुरालाई भनेर मात्र अतिरञ्जित नगरौं ,’ उनले भने । दलको नेता परिवर्तन सम्भव नभए पार्टीबारे नकारात्मक भ्रम फैलिने गरी अतिरञ्जित कुरा नगर्न उनको आग्रह छ ।

‘कांग्रेस एउटै हो । शेरबहादुर देउवा डुबेपछि गगन थापा पनि डुब्नुहुन्छ । सुरेन्द्र पाण्डे पनि डुब्छ । सबै एउटै डुंगामा छौं,’ पाण्डेले भने, ‘यसलाई पार लाउन हामीलाई चुनौती छ । हामीले सामूहिक रुपमा नै पार लगाउने हो ।’ यस्तै उनले महामन्त्रीको कार्यतालिका कार्यान्वयन कसले गर्ने हो भन्दै प्रश्न उठाएका छन् । ‘महामन्त्रीको कार्यतालिका राम्रो छ । तर यसको कार्यान्वयन कस्ले गर्छ ?,’ उनको प्रश्न छ, ‘त्यसको टुंगो त्यो कार्यसमितिले गर्नुपर्छ । यो कार्यक्रम लागू गर्ने सभापति हो वा, पदाधिकारी हो वा, कार्यालय हो वा हामीप्रति केन्द्रीय सदस्यको छुट्टाछुट्टै जिम्मेवारी हो ? त्यो पनि प्रस्टताका साथ तोकिनुपर्छ ।’

प्रस्तुत गरेका कार्यक्रम लागू गर्नुपर्ने भन्दै लागू नभएको दोष अरुलाई पन्छाउने  प्रवृति अन्त्य हुनैपर्ने पाण्डेले बताए ।  ‘कार्यक्रम प्रस्तावित हुन्छन् । भएका जे भन्छौं हामीले गरेका छौं । नभएका जति हामी भन्छौं सभापतिले गर्नु भएको छैन भनिन्छ,’ उनले भने । यस्तै उनले पुराना पार्टीले केही गर्न सकेनन् भन्ने भाष्य चिर्न नेताहरु नलागेको पाण्डेको भनाइ छ ।

‘हाम्रा साथीहरु यसलाई क्रस गरेर अगाडि बढेको देखिनँ । २०४८ सालपछि गरेका कामको प्रचार गरौं । महामन्त्रीको प्रस्तावमा प्रशिक्षणको कार्यक्रम अगाडि सार्नुपर्छ ,’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप