शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

राष्ट्रियसभा बैठक : तस्करी नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सांसदहरुको माग

बिहीबार, ०४ साउन २०८०, १५ : ०४
बिहीबार, ०४ साउन २०८०

काठमाडौँ । सांसदहरुले तस्करी, भ्रष्टाचार र अनियमिताबारे प्रभावकारी छानबिन गरी संलग्नलाई कानुनी दायरामा ल्याउन माग गरेका छन् ।

राष्ट्रियसभाको बिहीबारको बैठकको शून्य समयमा उनीहरुले तस्करी नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सभाध्यक्षमार्फत सरकारको ध्यानाकर्षण गराएका हुन् । साथै उनीहरुले डेंगु रोगको सम्भावित जोखिम नियन्त्रणका लागि प्रभावकारी योजना कार्यक्रम ल्याउन पनि माग गरे । 

सांसद इन्दिरादेवी गौतमले पछिल्लो समय काठ तस्करी, खोलानालाबाट गिट्टी बालुवा उत्खनन र चोरी निकासी भइरहेको र यसबाट राज्यको करोडौँ राजस्व गुमेको भन्दै तस्करी र राजस्व चुहावट नियन्त्रणका लागि अनुगमनलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराइन् ।

सांसद गंगाकुमारी बेल्वासेले पालिकास्तरमा महिला विकास तथा उत्थान प्रवर्द्धन र महिला सशक्तीकरणका लागि महिला विकास शाखा स्थापना गर्न माग गरिन् । 

सांसद गोपाल भट्टराईले देशमा तस्करको बिगबिगी बढेको, भ्रष्टाचार तथा अनियमितता पनि बढेको भन्दै प्रभावकारी छानबिन गरी मौलाउँदो तस्करी र भ्रष्टाचार नियन्त्रण गर्न जरुरी भएको उल्लेख गरे ।

सांसद जगप्रसाद शर्माले हालै सप्तकोशी नदीमा भएको ट्रक दुर्घटनामा पानीमा डुबेका व्यक्तिलाई स्थानीय चन्दर मुखिया नामका व्यक्तिले उद्धार गरी बचाएको र उनी लामो समयदेखि दाउरा निकाल्ने, माछा मार्ने र यस्तै दुर्घटनामा परेकाको उद्धार गर्ने कार्यमा संलग्न रहँदै आएको भन्दै राज्यले उनलाई सिपयुक्त क्षमता, प्रतिभा र साहसको कदर गर्दै आवश्यक प्रक्रिया पुर्‍याएर गोताखोरमा नियुक्त गर्न माग गरे ।

सांसद तारामान स्वाँरले सुदूरपश्चिमका सबैजसो जिल्ला र विशेषगरी कैलाली र कञ्चनपुर क्षेत्रमा लागुऔषधको तस्करी र ढुवानीकर्ताको बिगबिगी बढिरहेको र यसले अपराधजन्य घटनासमेत बढाइरहेको भन्दै यसलाई नियन्त्रण गरी कानुनी दारयामा ल्याउन सभाअध्यक्षमार्फत सरकारको ध्यानाकर्षण गराए ।

सांसद तुलसाकुमारी दाहालले भूमिहीन दलित र सुकुम्बासीलाई सम्बोधनका लागि सरकारको ध्यानाकर्षण गराइन् । 

सांसद मायाप्रसाद शर्माले सिंहदरबार परिसरको राष्ट्रिय अभिलेखालयको संरक्षण सम्वद्र्धनमा दक्ष जनशक्ति, भौतिक, प्राविधिकलगायतका सामग्रीको सुनिश्चित गर्न ध्यानाकर्षण गराए ।

सांसद मृगेन्द्रकुमार सिंह यादवले ‘लम्पी स्किन’ महामारीको रोकथाम नियन्त्रणका लागि सरकारले प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिए । 

सांसद विमला घिमिरेले दिनहुँ तस्करीका समाचार बढिरहेको र बुधबार मात्रै धेरै परिणामको सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको भन्दै उक्त घटनाको प्रभावकारी अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याइनुपर्नेमा जोड दिइन् ।

साथै उनले काठमाडौँ महानगरमा फोहरको व्यवस्थापनका लागि अल्पकालीन तथा दीर्घकालीन समाधान खोज्न ध्यानाकर्षण गराइन् । सांसद शारदादेवी शर्माले डेंगु रोग नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराइन् ।

सांसद सुमित्रा विसीले डेंगु नियन्त्रणका लागि सरकारले बेलैमा ध्यान दिनुपर्ने बताइन् । उनले महामारी फैलनुपूर्व आवश्यक सचेतना अभिवृद्धि र नियन्त्रणका सबैखाले तयारी गर्न पनि आग्रह गरिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप