बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय
राजस्व असुली

भैरहवा र नेपालगन्ज भन्सार कार्यालयमा उठ्यो लक्ष्यको केवल आधा राजस्व

बिहीबार, ०४ साउन २०८०, २० : ०९
बिहीबार, ०४ साउन २०८०

बुटवल  ।  लुम्बिनी प्रदेशमा रहेका भैरहवा र नेपालगन्ज भन्सार कार्यालयले लक्ष्य भन्दा निकै कम राजस्व असुली गरेका छन् । देशका ठुला नाका मध्येका यी दुवै भन्सार कार्यालयले लक्ष्यको झन्डै आधा राजस्व सङ्कलन गरेका छन् ।   

नेपालगन्ज भन्सार कार्यालयले आर्थिक वर्ष २०७९/०८० मा लक्ष्यको ६२ प्रतिशत मात्रै राजस्व असुली गरेको छ भने भैरहवा भन्सार कार्यालयले जम्मा ४९ प्रतिशत राजस्व सङ्कलन गरेको छ । 

भन्सार विभागले भैरहवा भन्सार कार्यालयलाई १ खर्ब ५५ अर्ब ६० करोड राजश्व सङ्कलन लक्ष्य तोकेको थियो । तर,  भन्सारले ७६ अर्ब ८९ करोड मात्रै राजश्व सङ्कलन गरेको जनाएको छ । जुन लक्ष्यभन्दा करिब ५१ प्रतिशतले कमी देखिन्छ । 

जबकि आर्थिक वर्ष २०७८/७९ मा १ खर्ब २७ अर्ब राजस्व उठाउने लक्ष्य राखेकामा १ खर्ब १५ अर्ब रुपैयाँ असुली भएको थियो । अघिल्लो आवको तुलनामा आव २०७९/८० मा ३६ प्रतिशतले बढी लक्ष्य निर्धारण गरिएको थियो 

यस्तै, नेपालगन्ज भन्सार कार्यालयले आर्थिक वर्ष २०७९/०८० मा रु २९ अर्ब ३२ करोड ९५ लाख राजस्व असुली गर्ने लक्ष्य रहेकामा रु १८ अर्ब १९ करोड ६९ लाख राजस्व असुली भएको थियो । जुन लक्ष्यको ६२ प्रतिशत मात्रै रहेको कार्यालयका प्रमुख भन्सार अधिकृत नरबहादुर थापाले बताए । 

लक्ष्य भेटाउन किन सकस 

यी दुवै ठुला भन्सार कार्यालयबाट लक्ष्यको आधाआधी मात्रै राजस्व उठ्दा मूलकको राजस्व अवस्थामा असर पर्नेछ । 

भैरहवा भन्सार कार्यालयका प्रमुख मनिराम पौडेलले यो भन्सार कार्यालयबाट बढी भन्सार राजस्व दिने वस्तुकै आयात घटेको र अघिल्लो आर्थिक वर्षमा भएको असुलीको तुलनामा राजस्व सङ्कलनको लक्ष्य निर्धारण पनि बढी भएको कारणले कम देखिएको जिकिर गरे ।  

सरकारले २०७९ वैशाखदेखि मङ्सिर महिनासम्म साना गाडीको आयातमा रोक लगाउँदा त्यसको असर भन्सार  परेको छ ।

यस्तै, नेपालगन्ज र भैरहवा भन्सार कार्यालयमा धेरै राजस्व दिने बस्तुहरू डिजेल, पेट्रोल, फलामे बिलेट र अन्य व्यापारिक वस्तुको पनि आयात कम देखिन्छ । यसले पनि राजस्वको लक्ष्यमा पुग्न सकस  परेको कार्यालयका अधिकारीहरूले बताउँछन् ।

नेपाल राष्ट्र बैङ्कले केही समय अघि व्यापारिक सामानको आयातमा अनिवार्य एलसी खोल्नुपर्ने प्रावधान ल्याएको थियो । उक्त नियम झन्झटिलो भन्दै व्यवसायीले आयात कम गर्न  गरे । 

नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य तथा बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष उज्ज्वल कसजुले कपडा, जुत्ता–चप्पल, अटोपार्ट्स, ड्राईफुड्स, चिनीलगायत व्यापारिक सामान ल्याउन पटक पटक फेरिने नीतिले व्यापारीहरुले झन्झट मानेको बताए । 

अहिले ती सामानको आयातमा अनिवार्य एलसीको प्रावधान हटेपछि ती वस्तुको आयात अहिले बढ्न थालेको छ । 

अमलेखगन्जबाट डिजेलको आपूर्ति पाइप लाइनबाट गर्न थालेपछि यसको आयात भैरहवा नाकाबाट धेरै परिमाणमा घटेको छ । 

नेपालगन्ज भन्सार कार्यालयका प्रमुख नरबहादुर थापाले  लक्ष्य निर्धारित भन्दा कम देखिनुको मुख्य कारण आयात कम  र अर्थतन्त्र नै भएको बताए । 

उनले आफूहरूले तोकिएको लक्ष्यमा ६२ प्रतिशत मात्र ल्याउनु अहिले धेरै हिस्सा ओगट्ने पेट्रोलियम पदार्थको आयात नै कमी भएको बताए ।  

नेपालगन्ज भन्सार कार्यालयले आव २०८०/८१ लागि २८ अर्ब ६६ करोड २५ लाख लक्ष्य पाएको छ । यो लक्ष्य पुरा गर्न साउन महिनामा मात्रै रु एक अर्ब ८१ करोड ३० लाख लक्ष्य तय भएको छ । 

बजारमा आर्थिक गतिविधिहरू कमजोर भएपछि यसको असर आयात निर्यातमा पर्नु स्वाभाविकै हो । आर्थिक अनुसन्धान केन्द्र लुम्बिनीका अध्यक्ष होमराज भुसालले भैरहवाजस्तै नेपालगन्ज भन्सार कार्यालयमा पनि करिब उस्तै अवस्था आउनुमा पछिल्लो आर्थिक मन्दीका असरले पनि रहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप