शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

महाराजगन्ज चिकित्सा क्याम्पसमा स्ववियुले लगायो ताला

सोमबार, ०८ साउन २०८०, १५ : ३६
सोमबार, ०८ साउन २०८०

काठमाडौँ । महाराजगन्ज चिकित्सा क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनले ताला लगाएको छ । स्ववियुले क्याम्पस प्रमुख डा. अर्जुन लामिछानेको कार्यालय, क्याम्पस प्रशासन, आर्थिक शाखा, भण्डारण शाखा लगायत शैक्षिक शाखा बाहेक सम्पूर्ण क्याम्पसमा ताला लगाएको हो ।

क्याम्पस प्रमुख र प्रशासनसँग विभिन्न मागहरू राख्दा बेवास्ता गर्दै आएको भन्दै तालाबन्दी गरिएको स्ववियु सभापति आनन्द कुमार सिंहले जानकारी दिए ।

स्ववियुले विगत ४–५ महिनादेखि विद्यार्थीका निम्ति विभिन्न मागहरू राख्दै आएको थियो । तर, क्याम्पसले निर्लज्ज तरिकाले आफ्नो कर्तव्यबाट पन्छिन खोजेको सिंहको भनाइ छ ।  

५० वर्ष पहिले बनेको होस्टेल बढाउनपर्ने, नियमित कक्षा सञ्चालन हुनुपर्ने, परिवर्तित शैक्षिक नीति बनाउनुपर्ने, होस्टेल सुधार गर्नुपर्ने, खेल्ने ठाउँ व्यवस्थित गर्नुपर्ने, पार्किङको व्यवस्था मिलाउनुपर्ने, ३ महिना देखि बन्द भएको क्यान्टिन चाँडो सञ्चालनमा ल्याउनुपर्ने लगायतका मागहरू स्ववियुले राखेको थियो ।

तर, क्याम्पसले विद्यार्थीका आवश्यकताभन्दा पनि आफ्नो अनुकूलता अनुसार मात्र कार्य गर्दै आएको उनको भनाइ छ ।

क्याम्पसले क्याम्पस सुधार तथा विकासलागि कार्ययोजना बनाउन अहिलेसम्म छलफल समेत नगरेको उनको भनाई छ । क्याम्पस प्रमुख लामिछानेले निजी शैक्षिक संस्थाको जसरी चलाइरहेकोले मनपरीतन्त्र रोक्न तालाबन्दी गर्नुपरेको सभापति सिंहले बताए ।

यो त्रिवि विद्यार्थी कल्याण परिषद्ले डा. लामिछानेलाई पटक पटक पत्राचार गरेर विद्यार्थी समस्या समाधान गर्न भनेको थियो । तर, हालसम्म पनि क्याम्पस व्यवस्थापन समिति समेत गठन नगरेको अवस्था छ ।

गत शुक्रवार क्याम्पस प्रमुख लामिछानेले गुन्डा प्रयोग गर्ने धम्की दिएको उनको भनाई छ । क्याम्पस प्रमुखलाई भेट्न जाँदा धेरै किचकिच नगर्न र बढी बोले आफ्नो पनि सङ्गठनका गुन्डाहरू बोलाएर प्रयोग गर्न सक्ने धम्की दिएको उनको भनाई छ ।

क्याम्पस प्रमुख लामिछानेले आफ्नो पृष्ठभूमि कांग्रेस भएको र कांग्रेसका मान्छेले भनेको काम मात्रै गर्ने भन्ने जस्ता गैर जिम्मेवारी अभिव्यक्ति दिएको उनको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप