आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
केन्द्रीय समिति बैठक

माओवादी बैठकको तयारी तीव्र, केन्द्रीय सदस्यलाई ५०० रुपैयाँ प्रवेश शुल्क !

सोमबार, ०८ साउन २०८०, २० : ११
सोमबार, ०८ साउन २०८०

काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकको तयारी तीव्र बनाइएको छ । साउन १७ गते राजधानीको प्रज्ञा भवनमा बस्ने तय भएको बैठकका लागि केन्द्रीय कार्यालयबाट आवश्यक तयारी भइरहेको हो ।

यस्तै महासचिव देव प्रसाद गुरुङले पनि बैठकको तयारीका सन्दर्भमा मातहतका कमिटीलाई सर्कुलर पठाउनेदेखि आवश्यक समन्वय र गृहकार्य गरिरहेका छन् ।

बैठकमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदनका लागि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष प्रचण्डले इटाली भ्रमणबाट फर्किएपछि आवश्यक काम गर्ने बताइएको छ । त्यसअघि केन्द्रीय कार्यालयबाट आवश्यक ड्राफ्ट तयार गर्ने क्रम चलिरहेको छ ।  

स्रोतका अनुसार बैठकमा नेपाल समाजवादी पार्टीसँग एकता गर्नेसहितका विविध राजनीतिक विषयमा छलफल हुनेछ । यस्तै सांगठनिक विषयका साथै पार्टीको आगामी रणनीतिका सन्दर्भमा बैठकले ठोस कार्ययोजना तय गर्ने बताइएको छ ।

बैठकको तयारीको सन्दर्भमा माओवादीको केन्द्रीय कार्यालयले असार पहिलो साता नै मातहतका कमिटीमा ५ बुँदे सर्कुलर पठाएको थियो  ।

त्यतिबेला माओवादीले २ महिने अभियानको समग्र समीक्षासहितको लिखित प्रतिवेदन सबै प्रदेशहरूले अनिवार्य रुपमा केन्द्रीय कार्यालयमा पठाउन निर्देशन दिएको थियो ।

यस्तै तीन तहमा सम्पन्न निर्वाचनमा भएका घातअन्तरघात र कमीकमजोरीहरू भए त्यसको समेत लिखित प्रतिवेदन पनि माग गरिएको थियो भने पार्टी केन्द्रलाई दिनपर्ने केही सुझावहरु भए सोको पनि माग भएको थियो ।

यस्तै पार्टीले लेबी बुझाउन बाँकी रहेकाका हकमा पनि आवश्यक निर्देशन दिएको थियो । तर, अझैसम्म पनि प्रदेश र विभागहरुबाट पठाउनु पर्ने लिखित प्रतिवेदहरु (केही प्रदेश र विभाग बाहेक) हालसम्म पनि केन्द्रीय कार्यालयमा प्राप्त नभएको महासचिव देव गुरुङले जानकारी दिए ।

उनका अनुसार लिखित प्रतिवेदन र सुझाव पठाउनु पर्ने भएमा ३ दिनभित्र बुझाउन सोमबार मातहतका कमिटीलाई निर्देशन दिइएको छ ।  अन्यथा केन्द्रीय समितिको बैठकमा उक्त सुझावहरु समावेश गर्न नसकिने माओवादीले जनाएको छ ।

केन्द्रीय समिति बैठकमा प्रवेशका लागि ५०० शुल्क

यसैबीच माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा प्रवेशका लागि ५०० रुपैयाँ शुल्क तिर्नुपर्ने भएको छ । एक नेताका अनुसार पार्टीले सर्कुलर नै पठाएर ५०० रुपैयाँ बुझाउनुपर्ने जानकारी गराएको हो । ‘केन्द्रीय समितिको बैठकमा सहभागी सबै कमरेडहरुले प्रवेश शुल्क बापत रु ५०० प्रति व्यक्तिका दरले बुझाउनु पर्ने छ भनेर सर्कुलर आएको छ’, ती नेताले रातोपाटीसँग भने ।

यस्तै लेबी बुझाउन बाँकी केन्द्रीय सदस्य, वैकल्पिक केन्द्रीय सदस्य र ३ वटै आयोगका सदस्यहरुले असार मसान्तसम्मको लेबी अनिवार्य रुपमा बुझाउन पार्टीले परिपत्र गरेको छ ।  उक्त लेबी रकम केन्द्रीय समितिको बैठक अगावै चुक्ता गरी आफ्नो परिचय पत्र लिन पनि भनिएको छ ।

माओवादी केन्द्रीय कार्यालयका अनुसार ०७८ पुस सम्पन्न भएको आठौं महाधिवेशनको हिसाब कोशी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशबाट बुझाउन बाँकी रहेको छ । ती प्रदेशलाई केन्द्रीय समितिको बैठक अगावै बुझाएर हिसाब मिलान गर्न समेत निर्देशन दिइएको छ ।

माओवादीको यसअघि असार २३ मा बैठक बस्ने भनिएपनि बजेट लगायतका कारण देखाउँदै साउन १७ का लागि तय गरिएको हो । 

बैठकमा केन्द्रीय सदस्यबाट कति उठ्छ रकम ?

माओवादीले गत माघमा केन्द्रीय समितिसँगै पदाधिकारी र स्थायी समितिलाई पूर्णता दिएको थियो । 

जसअनुसार केन्द्रीय सदस्यको संख्यामात्रै ३६८ जना रहेको छ । यसआधारमा केन्द्रीय सदस्यबाट मात्रै १ लाख ८४ हजार रुपैयाँ उठ्ने देखिन्छ । 

यसबाहेक माओवादी बैठकमा प्रदेश अध्यक्षका साथै वैकल्पिक सदस्यलगायतको पनि सहभागिता हुने प्रचलन रहेको छ । माओवादीको वैकल्पिक केन्द्रीय सदस्यको संख्या मात्रै २०२ जना रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप