शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

'मौद्रिक नीति धितोपत्र बजारलाई निरुत्साहित बनाउने गरी आयो'

मङ्गलबार, ०९ साउन २०८०, १९ : २३
मङ्गलबार, ०९ साउन २०८०

काठमाडौँ । राष्ट्र बैंकले शेयर बजारलाई इगो राखेर धितोपत्र बजारलाई निरुत्साहित बनाउने मौद्रिक नीति ल्याएको शेयर लगानीकर्ताहरुले बताएका छन् ।  

शेयर लगानीकर्ताहरुले राष्ट्र बैंकले विगत दुई वर्षदेखि शेयर बजारप्रति नकारात्मक बनेर मौद्रिक नीति ल्याउनु पुँजीबजारको विकासको लागि राम्रो नभएको बताए । उनीहरुले नेपाली पुँजीबजारको विकास र साना लगानीकर्ताको संरक्षण गर्नु पर्नेमा राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत लगानीकर्तालाई कन्फ्युज बनाउने काम गरेको आरोप लगाए । 

लगानीकर्ताहरुले राष्ट्र बैंकले लगानीकर्ताहरुलाई कन्फ्युज बनाउने भन्दा पनि स्पष्ट नीति लिएर पुँजीबजारको विकासमा जोड दिएर नीति बनाउनु पर्नेमा उल्टो भइरहेको बताए । उनीहरुले राष्ट्र बैंकले शेयर लगानीकर्ताहरुको दुई वर्ष देखिका साना मागलाई समेत सम्बोधन नगर्नु शेयर बजारप्रति नकारात्मक दृष्टिकोण रहेको स्पष्ट भएको बताए । 

नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत लगानीकर्तालाई कन्फ्युज बनाउने काम गरेको बताइन् । उनले मौद्रिक नीतिमा एकथरी भाषा प्रयोग गरिएको र त्यसपछि आयोजित पत्रकार सम्मेलनमा फरक कुरा सार्वजनिक गरेर लगानीकर्तालाई कन्फ्युज बनाउने काम गर्नु गलत भएको बताइन् । उनले मौद्रिक नीतिको पूर्णपाठ हेर्दा केही भएपनि शेयर बजारलाई राहत दिने खालको मौद्रिक नीति आएको  महशुस भएको भएपनि दुई घण्टाको बीचमा विरोध गर्नुपर्ने अवस्था आएको बताइन् । 

पोखरेलले सबै साइजका कर्जाको जोखिमभार नघट्ने गभर्नरको अभिव्यक्तिले लगानीकर्ताहरुलाई प्यानिक बनाएको बताइन् । उनले राष्ट्र बैंकले घुमाउरो भाषा प्रयोग गरेर लगानीकर्तालाई कन्फ्युज बनाउने काम गर्दै धितोपत्र बजारलाई निरुत्साहित बनाउने मौद्रिक नीति आएको बताइन् । उनले शेयर धितो कर्जा, रियल स्टेट कर्जा तथा हायर पर्चेज कर्जाका विद्यमान जोखिम भारसम्बन्धी व्यवस्था पुनरावलोकन गरिने भन्ने उल्लेख गरेकाले सकारात्मक प्रतिक्रिया दिएको बताइन् । 

अध्यक्ष पोखरेलले लगानीकर्ताहरुको कुनै पनि माग सम्बोधन नहुनु पुँजी बजारप्रति राष्ट्र बैंक नकारात्मक रहेको स्पष्ट हुने बताइन् । उनले मौद्रिक नीति जस्तो आएपनि लगानीकर्ताले धेरै कुराहरु भागिसकेकाले अब शेयर बजार साउन महिनादेखि सुधार हुने अपेक्षा रहेको बताइन् ।

त्यस्तै नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालले मौद्रिक नीति लगानीकर्ताहरुले सोचे जस्तो नआएको बताए । उनले दुई वर्षअघि राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिकै कारणले पुँजीबजार धरासायी बनाएको बताए । उनले शेयर कर्जा संकुचन गर्न ४/१२ को नीति र भारित औसतलाई १०० बाट १५० बनाउँदा धरासायी बनेको पुँजीबजार यो मौद्रिक नीतिले पनि सम्बोधन गर्न नसकेको बताए । उनले मौद्रिक नीतिको कारणले ३२ सय नजिकको इन्डेक्स १८ सयमा पुगेको बताए । 

अध्यक्ष ढकालले लगानीकर्ताहरुले राष्ट्र बैंकस विगतमा पाएको सुविधा १२ करोड सीमा खारेज र भारित औसत १०० मा ल्याउन माग गर्दा समेत सम्बोधन नभएको गुनासो गरे । उनले लगानीकर्ताको माग सम्बोधन हुन नसके पुँजीबजारको विकास र साना लगानीकर्ताको संरक्षण हुन नसक्ने बताए । उनले  मौद्रिक नीतिको लागि राष्ट्र बैंकले सुझाव माग्ने तर सुझाव कार्यान्यवन अहिलेसम्म नभएको बताए । 

अध्यक्ष ढकालले भारित औसतलाई पुनारावलोकन गरिनेछ भन्ने समाचार आउँदा लगानीकर्ताको माग सम्बोधन भयो भनेर सबैले मौद्रिक नीतिको स्वागत गरिए पनि दुई घण्टामा पत्रकार सम्मेलनमा गभर्नरले भारित औषत ५० लाखसम्मलाई मात्रै हो भन्ने अभिव्यक्तिले आम लगानीकर्तालाई कुठराघात गरेको बताए । उनले मौद्रिक नीतिले लगानीकर्ताको माग सम्बोधन नगरे पनि आगामी दिनमा नेपाली पुँजीबजारको भविष्य सुनौलो रहेको दाबी गरे । 

त्यस्तै शेयर विश्लेषक नवराज घिमिरेले नेपाल राष्ट्र बैंकका महाप्रसाद अधिकारी गभर्नर हुँदासम्म पुँजीबजार मैत्री मौद्रिक नीति आउन नसक्ने बताए । उनले गभर्नर अधिकारी कहिल्यै पुँजी बजारप्रति सकारात्मक नभएकाले पुँजीबजारमैत्री नीतिहरु आउन नसकेको बताए । उनले गभर्नरको कार्यकाल सकिएपछि मात्रै नेपाली पुँजीबजारले छलाङ मार्ने दाबी गरे ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप