बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

लुम्बिनी प्रदेशलाई साक्षरता घोषणा गर्ने तयारी

शनिबार, १३ साउन २०८०, ०६ : २४
शनिबार, १३ साउन २०८०

बुटवल । सरकारले जारी गरेको मापदण्ड पूरा गर्दै लुम्बिनी प्रदेश पूर्ण साक्षरता घोषणाको तयारीमा छ । २०६४ सालदेखि सुरु भएको साक्षरता घोषणा गर्ने अभियान अन्तर्गत नेपालमा हालसम्म ६४ जिल्ला पूर्ण साक्षर घोषणा भएका छन् । तीमध्ये लुम्बिनी प्रदेशका १२ वटै जिल्ला साक्षर घोषणा भएपछि प्रदेशलाई नै औपचारिक रूपमा साक्षरता घोषणा गर्ने तयारीमा प्रदेश सरकार लागिरहेको छ ।

नेपाल सरकार, शिक्षा मन्त्रालयका सूचना अधिकारी शंकर अधिकारीले अहिलेसम्म मन्त्रालयमा प्राप्त रेकर्ड अनुसार ६४ जिल्ला साक्षर घोषणा भएको बताए । अझै १३ जिल्ला साक्षर घोषणा हुन सकेका छैनन् ।

शिक्षा मन्त्रालयका अनौपचारिक शिक्षा शाखाका अधिकृत वैकुण्ठ आचार्यका अनुसार लुम्बिनी प्रदेशका जिल्लाहरु साक्षर घोषणा भएकाले अब प्रदेशलाई नै साक्षर घोषणा गर्न सकिने बताए ।

यस अघि साक्षरता प्रदेशको रूपमा बागमती, गण्डकी र कोशी घोषित भइसकेका छन् । मधेस प्रदेशका कुनै पनि जिल्ला साक्षर भएका छैनन् भने कर्णाली प्रदेशका ५ जिल्ला पनि साक्षर घोषणा हुन बाँकी छन् ।

लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये कपिलवस्तु गत असारको दोस्रो हप्ता साक्षरता घोषणा भएपछि प्रदेशलाई साक्षर घोषणा गर्ने तयारीमा रहेको लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री चन्द्रकेश गुप्ता (सीके)ले रातोपाटीलाई बताए ।

प्रदेशका सामाजिक विकास मन्त्रालयका प्रवक्ता मनोज कुमार गैरेले लुम्बिनी प्रदेशका सबै (१०९) स्थानीय तह नै साक्षरता घोषणा भए पनि केही पुराना ठाउँमा एक पटक मन्त्रालयले साक्षरताको नमुना परीक्षण गरेर छिटै प्रदेशलाई साक्षरता घोषणा गर्ने रातोपाटीलाई बताए । उनले त्यसको लागि बजेटको व्यवस्था पनि भएको जानकारी दिए ।

लुम्बिनी प्रदेशमा १२ जिल्लामध्ये सबै भन्दा पहिला पाल्पा (२०६९ सालमा) साक्षर घोषणा भएको थियो । रुपन्देही र नवलपरासी २०७४ सालमा एकै पटक साक्षर घोषणा भएका थिए । त्यसपछि क्रमशः अन्य जिल्लालाई साक्षर घोषणा गरिएको हो ।

शिक्षाविद् तथा पूर्व जिल्ला शिक्षा अधिकारी टेक बहादुर थापाले सरकारले सुरुमा वडा, गाउँपालिका र नगरपालिका हुँदै जिल्लालाई साक्षरता घोषणा गर्दै अगाडि बढेको बताए ।

देशमा १७ वटा जिल्लामा शिक्षा कार्यालयमा प्रमुख भएर सेवा निवृत्त भएका थापाले सरकारले नागरिकलाई साक्षर गराउन काम गर्दै पढ्न जान मिल्ने गरी रात्रिकालिन कक्षा, सिकाइ कार्यालयहरू, सामूहिक कक्षा आदि सञ्चालन गरेको स्मरण गराए ।

kp

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप