सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय
कर्जा

‘सफ्ट लोन’ : ब्याज अनुदानमै २२ अर्ब ३९ करोड खर्च !

कुन बैंकले कति उपभोग गरे ?
आइतबार, १४ साउन २०८०, १६ : ५९
आइतबार, १४ साउन २०८०

काठमाडौँ । सहुलियतपूर्ण कर्जा अर्थात् सफ्ट लोनका नाममा राज्य कोषबाट २२ अर्ब ३९ करोड रूपैयाँभन्दा बढी अनुदान खर्च भएको छ । केन्द्रीय बैंकका अनुसार आर्थिक वर्ष २०७९–८० को जेठ मसान्तसम्म कुल प्रवाहित २ खर्ब ३ अर्ब १० करोड ४३ लाख सहुलियतपूर्ण कर्जामा २२ अर्ब ३९ करोड ८ लाख १६ हजार रूपैयाँ ब्याज अनुदान प्रदान गरिएको हो । 

विभिन्न बैंक तथा वित्तीय संस्थामार्फत १ लाख ४७ हजार ५१० ऋणी कम्पनी तथा फर्मलाई कुल २ खर्ब ५८ अर्ब ३४ करोड ४० लाख रूपैयाँ बराबरको सफ्ट लोन प्रवाह गरिएको हो । सोमध्ये समीक्षा अवधिसम्ममा २ खर्ब ३ अर्ब १० करोड ४३ लाख बराबर कर्जा मौज्दात रहेको केन्द्रीय बैंकले जनाएको छ ।

कोभिड–१९ को महामारी, २०७२ सालको महाभूकम्पलाई समेत समेट्ने गरी सरकारले आर्थिक उत्थानको राहत प्याकेजका रूपमा १० शीर्षकमा सहुलियतपूर्ण कर्जाको व्यवस्था गरेको थियो । 

आर्थिक वर्ष २०७५–७६ को बजेटमार्फत नै व्यवस्था गर्दै निजी तथा औद्योगिक क्षेत्रसँगै कृषि, पर्यटन, युवा स्वरोजगार कार्यक्रममा लक्षित सरकारले हालसम्म साढे २ खर्ब रुपैयाँभन्दा माथि सहुलियतपूर्ण कर्जा प्रवाह गरिसकेको छ भने ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि २०७५ (तेस्रो संशोधनसहित) ब्याज अनुदानमै २२ अर्ब रुपैयाँभन्दा बढी भुक्तान गरिसकेको छ । 

कुन शीर्षकमा कति कर्जा प्रवाह गरियो ?

केन्द्रीय बैंकका अनुसार समीक्षा अवधिमा सबैभन्दा बढी व्यावसायिक कृषि तथा पशुपन्छी कर्जा शीर्षकमा १ खर्ब ६५ अर्ब ६७ करोड ७३ लाख ५१ हजार रूपैयाँ बराबरको सहुलियतपूर्ण कर्जा प्रवाह भएको छ । ६१ हजार २३५ ऋणीलाई प्रवाह गरिएको कुल कृषि कर्जामध्ये ३ अर्ब १ करोड ६९ लाख ३३ हजार रूपैयाँ बिनाधितो र १ खर्ब ६२ अर्ब ६६ करोड ४ लाख १८ हजार रूपैयाँ धितोमा गएको केन्द्रीय बैंकले जनाएको छ ।

सहुलियतपूर्ण कर्जा प्रवाह तथा ब्याज अनुदानसम्बन्धी व्यवस्थाबमोजिम ५ करोड रूपैयाँभन्दा बढीको व्यावसायिक कृषि तथा पशुपन्छी कर्जामा २ प्रतिशत र यस्तो कर्जा सुरक्षण शुल्क अनुदानमा सरकारले १० लाख रूपैयाँभन्दा बढीको लगानीमा कर्जा बैंक तथा वित्तीय संस्थाहरूले निक्षेप तथा कर्जा सुरक्षण कोषमार्फत सुरक्षण गराउँदा लाग्ने प्रिमियमको ५० प्रतिशत अनुदान उपलब्ध गराएको केन्द्रीय बैंकले जनाएको छ ।

यस्तै शिक्षित युवा स्वरोजगार कर्जामा १६५ ऋणीलाई ८ करोड १५ लाख रूपैयाँ, विदेशबाट फर्केका युवा परियोजना कर्जामा ९०९ ऋणीलाई ७४ करोड ६३ लाख ८७ हजार रूपैयाँ, महिला उद्यमशील कर्जामा अधिकतम ८३ लाख ४५५ ऋणीलाई ८७ अर्ब ९८ करोड ९० लाख १३ हजार रूपैयाँ, दलित समुदाय व्यवसाय विकास कर्जामा १ हजार ४० ऋणीलाई ७२ करोड ४५ लाख ९५ हजार रूपैयाँ प्रवाह भएको छ ।

यसैगरी उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जामा १२८ ऋणीलाई ४ करोड ५० लाख ७ हजार रूपैयाँ प्रवाह भएकोमा भूकम्पपीडितहरूको निजी आवास निर्माणका लागि १८४ ऋणीलाई ५ करोड १२ लाख ८३ हजार रूपैयाँ सहुलियतपूर्ण कर्जा प्रदान गरिएको केन्द्रीय बैंकले जनाएको छ ।

यसैगरी कपडा उद्योग व्यवसाय सञ्चालनका लागि ३४६ ऋणीलाई ३ अर्ब १ करोड ५५ लाख ५३ हजार रूपैयाँ, प्राविधिक तथा व्यावसायिक तालिम परिषद्बाट मान्यता प्राप्त संस्थाबाट दिइने तालिमका लागि २ ऋणीलाई ४ लाख रूपैयाँ र युवा वर्ग स्वरोजगार कर्जाका लागि ४४ ऋणीलाई १ करोड २९ लाख १४ हजार रूपैयाँ प्रदान गरिएको बैंकले जनाएको छ । 

कुन बैंकबाट कति भयो कर्जा वितरण ?

प्राप्त तथ्याङ्क अनुसार ५२ वटा बैंक तथा वित्तीय संस्थाबाट कुल २ खर्ब ५८ अर्ब ३४ करोड ४० लाख रूपैयाँ सहुलियतपूर्ण कर्जा प्रवाह भएको छ । सोमध्ये सबैभन्दा बढी सहुलियतपूर्ण कर्जाको उपयोग गर्नेमा कृषि विकास बैंक देखिन्छ । उसो त कृषि क्षेत्रको विकासकै लागि केन्द्रित सरकारी बैंक भएकैले पनि सहुलियतपूर्ण कर्जा वितरणको सुविधा यस बैंकले पाएको हो ।

तथ्याङ्कअनुसार कृषि विकास बैंकले १५ हजार ५५३ ऋणीलाई २५ अर्ब ४० करोड ४५ लाख ४७ हजार ८३२ रूपैयाँ कर्जा प्रवाह गरेको छ । 

यस्तै दोस्रोमा एनआईसी एसिया बैंकले २३ अर्ब ८८ करोड ९० लाख ५३ हजार ३८८ रूपैयाँ सहुलियतपूर्ण कर्जा केन्द्रीय बैंकसँग लिएर ४ हजार ७१५ ऋणीहरूलाई प्रवाह गरेको छ । उक्त कर्जा कुल प्रवाहित कर्जाको ९.२५ प्रतिशत हो । 

यसैगरी ग्लोबल आईएमई बैंकले ८ हजार ३०४ ऋणीलाई १८ अर्ब १९ करोड ९३ लाख ५२ हजार ७९५ रूपैयाँ सहुलियतपूर्ण ऋण प्रदान गरेको छ ।

अन्य बैंकहरूमा

नबिल बैंक– ८,५७१ ऋणी, १५ अर्ब ३७ करोड ८२ लाख ६३ हजार ७३७ रूपैयाँ,

राष्ट्रिय वाणिज्य बैंक– १२,१७८ ऋणी, १४ अर्ब ८७ करोड ६७ लाख २६,७१८ रूपैयाँ,

नेपाल इन्भेस्टमेन्ट बैंक– ११,८३३ ऋणी, १४ अर्ब ७४ करोड ९२ लाख ३४ हजार ९४ रूपैयाँ,

एनएमबी बैंक– ६,६२५ ऋणी, १२ अर्ब १४ करोड ५० लाख ४२ हजार ४२४ रूपैयाँ,

कुमारी बैंक– ५,१६० ऋणी, ११ अर्ब ८९ करोड ३० लाख ७९ हजार ५४६ रूपैयाँ,

प्राइम कमर्सियल बैंक– ४,२६० ऋणी, ११ अर्ब ३८ करोड ३३ लाख ५३ हजार २४२ रूपैयाँ,

नेपाल बैंक– ६,९५५ ऋणी, १० अर्ब २ करोड ७० लाख ६४ हजार ६५१ रूपैयाँ, 

प्रभु बैंक– ६,७०७ ऋणी, ९ अर्ब २३ करोड ८९ लाख ४८ हजार १३७ रूपैयाँ, 

सानिमा बैंक– ४,७५९ ऋणी, ९ अर्ब १२ करोड ७० लाख ३० हजार ३६२ रूपैयाँ,

सिद्धार्थ बैंक– ३,९८३ ऋणी, ८ अर्ब ६८ करोड १० लाख २७ हजार ७०० रूपैयाँ, 

सनराइज बैंक– ५,०९६ ऋणी, ८ अर्ब ८ करोड ५२ लाख ७१ हजार ८९९ रूपैयाँ

मुक्तिनाथ विकास बैंक– ५,८२७ ऋणी, ७ अर्ब २२ करोड ४० लाख २९ हजार ४४४ रूपैयाँ, 

हिमालयन बैंक– ३,७१२ ऋणी, ६ अर्ब ६८ करोड ४ लाख ७५ हजार ७०९ रूपैयाँ, 

बाँकी ३६ वटा बैंक तथा वित्तीय संस्थाहरूले १ करोड ६ लाख २० हजार रूपैयाँदेखि ५ अर्ब ८४ करोड ६६ लाख ८० हजार ५०८ रूपैयाँसम्म सहुलियतपूर्ण कर्जा प्रदान गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

श्रेष्ठ रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप